५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विवाद निरुपणबारे धारणा बनाउन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको पूर्वपदाधिकारीको बैठक सकिएको छ ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै निवर्तमान शेरबहादुर देउवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले पार्टीको विवाद निरुपणमा सर्वोच्च अदालतको फैसलामा तमाम असहमति भएपनि आफ्नो पक्षले निर्णय मान्नेबारेमा छलफल भएको बताए ।
‘नेपाली कांग्रेस सदैव विधिको शासन मान्ने, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र न्यायपालिकाको आदेशलाई, निर्णयलाई आत्मसात गरिराखेको छ,’ विश्वकर्माले भने, ‘त्यही परम्पराका आधारमा हाम्रो पार्टीका अग्रज नेता तथा निवेदकसमेत त्यसमा पर्याप्त असन्तुष्टिका आधार हुँदाहुँदै पनि फैसलाका आधारका विषय विरोधाभाषपूर्ण र विवादास्पद् हुँदाहुँदै पनि यो फैसला स्वीकार गर्ने कुरा आज छलफल भएको छ ।’

आजको छलफल कुनै औपचारिक बैठक नभई अनौपचारिक छलफल र भेटघाट मात्रै भएको उनले बताए ।
‘यो छलफलमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने परामर्श भएको छ । र, यसका बारेमा निरन्तर बैठक बस्दैजाने र देशका विभिन्न ठाउँबाट आउनुभएका साथीहरू, विभिन्न पदमा रहेका साथीहरू, सबै साथीहरूको सुझाव र परामर्शलाई पनि सुन्ने, एउटा निष्कर्षमा पुग्छौं,’ उनले भने । यसका लागि केही समय लाग्ने उनले बताए ।
फैसलाअघिसम्म पूर्णबहादुर खड्का ‘कार्यवाहक सभापति’ नै रहेको टिप्पणी गर्दै विश्वकर्माले हिजोदेखि ‘निवर्तमान कार्यवाहक सभापति’ बनेको बताए । ‘अदालतमा उहाँ कार्यवाहक सभापतिकै हैसियतमा जानुभएको हो । त्यो मुद्दा विचाराधीन रहेसम्म उहाँ कार्यवाहक सभापति नै हुनुहुन्थ्यो,’ उनले भने ।
अदालतको निर्णय स्वीकार्दै अब कार्यवाहक सभापतिको हैसियतमा समानान्तर गतिविधि नहुने उनले आशय व्यक्त गरे । उनले भने, ‘त्यसलाई हामीले स्वीकारेका छौं । यो कानुनी विषय टुंगियो, वैधानिकताको विषय टुंगियो, राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो ।’
पार्टी एकताका विषयमा निरन्तर चिन्ता व्यक्त भइरहेको उनले बताए । ‘हामीबाट मात्रै होइन, अब सबै पक्षबाट पार्टी कसरी जान्छ ? चिन्ता गर्नुपर्नेछ,’ उनले भने ।
विमलेन्द्र निधिले फैसला मान्दिनँ नभनेको उनले बताए । उनले भने, ‘फैसला त मान्नुपर्छ । तर, फैसलामा भएका कतिपय त्रुटिपूर्ण विषय मान्न सकिँदैन, भन्नुभएको हो ।’
अदालतका विषयमा पर्याप्त असहमति भएपनि स्वतन्त्र न्यायालयको निर्णय मान्ने उनले बताए ।
खड्का निवासमा पार्टी एकता जोगाउने र एकताबद्ध बनाउने जिम्मा अब सभापति गगन थापाको रहेको विषय पनि छलफल भएको उनले बताए ।
प्रतिक्रिया 4