News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ।
- विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूले आगामी रणनीति तय गर्न छलफल गरेका छन्।
- नेता कुन्दनराज काफ्लेले पार्टीमा एकता कायम गर्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्ने र सानेपा जिम्मेवार हुनुपर्ने बताए।
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो,’ नेता कुन्दनराज काफ्लेले भने, ‘अब कुन हिसाबले जाने भनेर छलफल सुरु भएको हो ।’
उनले विगतका कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे छलफल भएको पनि बताए । त्यस्तै उनले पार्टीमा एकता कायम राख्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्नेबारे छलफल भएको सुनाए ।
‘कांग्रेस एकता हुनुपर्छ । एक हुनका लागि सबैको आत्मबल बढ्नुपर्छ । कांग्रेसको क्रियाशील बढी हुँदा भोट किन कम भन्नेबारे मैले आफ्नो धारणा राखेँ,’ उनले भने, ‘रिसाएकालाई जोड्दै, कमीकमजोरी केके भए भन्नेबारे निष्कर्ष निकाल्नुपर्नेछ । जनता हामीसँग किन रिसाए ? जनताले सानो दल किन बनाए ? यसबारे सानेपा जिम्मेवार हुनुपर्छ ।’
उनले सानेपा पार्टी कार्यालयमा छलफलको वातावरण वर्तमान नेतृत्वले बनाउनुपर्ने बताए । ‘सानेपाको भित्तामा गएर कराएर हुने केही छैन । कुरा राख्ने ठाउँ खुला हुनुपर्छ । पार्टीमा नमिल्नुपर्ने कारण छैन । स्वाभिमानको कुरा छ । तर सानेपा जिम्मेवार हुनुपर्छ । स्वाभीमानको कुरा हो,’ उनले भने ।
प्रतिक्रिया 4