News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको चुनाव केन्द्रित गर्न उम्मेदवार क्लब गठन गर्ने तयारी गरेको छ।
- पार्टी केन्द्रीय समितिको बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा छलफल हुने छ।
- उम्मेदवार क्लबमा दर्ता भएका उम्मेदवारलाई पार्टीले प्रशिक्षण दिने र जिम्मेवारीबारे जानकारी गराउने योजना छ।
६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै छ । यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने तयारी छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थली काठमाडौँमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
रास्वपाले निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाउन लागेको हो । रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत यो अवधारणा अगाडि बढाएको हो ।
नेताहरूका अनुसार उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवार केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।
२०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रिय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । सोही अवधारणलाई अगाडिल बढाइएको हो ।
नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् ।
क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिन उम्मेदवार क्लबको अवधारणा ल्याएको हो । नेताहरूका अनुसार उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने एउटा विधि हो ।
उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नसक्नु पर्दछ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।
प्रतिक्रिया 4