+
+
Shares

रामकुमारी झांक्रीको प्रश्न– मूल्यवृद्धिमा विद्यार्थी संगठन किन मौन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दु:खमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरिन्।
  • झाँक्रीले भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुग्दा पनि विद्यार्थी र पठाओ चालकहरू चुपचाप रहेको बताइन्।
  • उनले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा 'विचारधारात्मक क्राइसिस' उत्पन्न भएको उल्लेख गरिन्।

६ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दु:खमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

आइतबार काठमाडौंमा विद्यार्थी संगठनहरूको भूमिका र वर्तमान सामाजिक अवस्थाबारे आयाजित कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलन आफ्नो साख र एजेण्डाबाट च्युत भएको तर्क गरिन् ।

‘हामीले कुनैबेला मट्टितेलमा खाना पकाउने विद्यार्थीका लागि सहुलियत चाहिन्छ भनेर सडक ततायौं, सार्वजनिक यातायातमा विद्यार्थी छुटका लागि लड्यौं । तर आज भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगिसक्यो, विद्यार्थी र पठाओ चालकहरू चुपचाप तिरिरहेका छन् । किन आज कसैलाई चित्त दुखेको छैन ?

उनले बजारमा चामलको मूल्य एकै चोटी बोरामा साढे तीन सय रुपैयाँ बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरूले प्रतिकार नगरेकोमा अचम्म व्यक्त गरिन् ।

जनता र विद्यार्थीले मूल्यवृद्धिलाई ‘रिभेन्ज’ (बदला) का रूपमा हेरेर चुप बसेको हुनसक्ने उनको भनाइ थियो ।

‘जनताले अस्ति ताली बजाएर भोट हालेका थिए, अहिले तिनैले घाँटी च्यापिरहेका छन् । यो परिस्थिति म्याच्युर्ड हुन दिनुपर्छ, जब जनता र विद्यार्थीलाई साँच्चै महसुस हुन्छ, तब मात्र कक्षाकोठाबाट विद्रोह निस्किन्छ । जनतालाई फिल हुनुपर्छ । यदि चामल महँगो भएको र महँगीले ढाड सेकेको जनतालाई महसुस भएको छैन भने नेता मात्र उफ्रिएर केही हुनेवाला छैन,’ उनले भनिन् ।

सांसद झाँक्रीले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा ‘विचारधारात्मक क्राइसिस’ उत्पन्न भएको बताइन् ।

पार्टीहरूले कार्यकर्तालाई विचारवान बनाउनुको साटो ‘उपभोक्ता’ बनाएको भन्दै उनले आलोचना समेत गरिन् ।

‘अस्ति निर्वाचनमा के भयो ? सुधारिएको कांग्रेस १८ सिटमा खुम्चियो, एमाले ९ सिटमा र नेकपा ७ सिटमा । यो अरू कसैको दोष होइन, हाम्रै नालायकीका लागि जनताले दिएको सजाय  हो । हामी सुध्रिएनौँ भने यो सजाय अझै कडा हुनेछ,’ उनले भनिन्, ‘अण्डाबाट चल्ला निस्किनु उसको आन्तरिक कारण हो, ढुङ्गालाई जति ताप दिए पनि चल्ला निस्किँदैन । हाम्रा पार्टी र संगठनहरू अहिले भत्किनुको मुख्य कारण हाम्रो आफ्नै आन्तरिक कमजोरी हो, बाह्य तत्व त सहायक मात्र हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?