News Summary
Generated by OK AI. Editorially reviewed.- कोरोना महामारी र आर्थिक मन्दीले लघुवित्त क्षेत्रको कर्जा असुली समस्या झनै जटिल बनेको छ।
- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको खराब कर्जा दर ९.९९ प्रतिशत पुगेको छ।
- २१ लघुवित्त संस्थाको खराब कर्जा दर १० प्रतिशतभन्दा बढी छ, जसमा सञ्जिवनी लघुवित्तको १०० प्रतिशत कर्जा खराब छ।
६ वैशाख, काठमाडौं । लघुवित्त क्षेत्रको कर्जा असुली समस्या झनै बढेको छ । कोरोना महामारी र आर्थिक मन्दीका कारण बिग्रेको आर्थिक चक्रले लय नसमाउँदा लघुवित्तको समस्या झनै जटिल देखिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको स्रोत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा घरजग्गामा नै केन्द्रित भएपछि समग्र अर्थतन्त्र नै प्रभावित भयो । घरजग्गामा बढ्दो लगानीले सिर्जना गरेको ‘बबल’मा सरकारको नियन्त्रणपछि अर्थतन्त्र नै मन्दीमा पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा २८ देखि ३० प्रतिशतसम्मले बढ्दा पनि आर्थिक वृद्धि ४ प्रतिशतको हाराहारीमा मात्र भयो ।
त्यो भन्दा अघिल्लो आवमा आर्थिक वृद्धिदर नकारात्मक थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको लगानीमा कडाइ गर्यो । त्यसको असर घरजग्गाको कारोबारमा देखिँदा आर्थिक मन्दीको अवस्था आयो । घरजग्गाको कारोबारमा सुधार आउन नसक्दा अझै पनि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कन नसकेको अर्थशास्त्रीहरू बताउँछन् । घरजग्गाको असरले समग्र अर्थतन्त्र नै सुस्त भएपछि लघुवित्त क्षेत्र पनि प्रभावित हुने नै भयो ।
लघुवित्त क्षेत्रमा कर्जा दुरुपयोग, बहुकर्जा तथा ऋण नतिर्नेको संख्य बढेपछि जटिल अवस्थामा आएको हो । नेपाल राष्ट्र बैंकले समस्या र सुधारका लागि सुझाव दिन भन्दै अध्ययन गराएको थियो । सो अनुसार बैंकले लघुवित्तका समस्या समाधान गरेर अघि बढ्ने योजना सहित विभिन्न नीतिगत व्यवस्था गरेको थियो ।
त्यसमध्ये कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना सुविधा, ब्याजदर, सेवा शुल्क, कर्जा सीमा लगायतमा कसिलो नीति अवलम्बन गर्यो । केन्द्रीय बैंकको नीतिगत सुधारले लघुवित्त क्षेत्रको समस्या घट्नु पर्नेमा झनै बढेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्याङक हेर्दा लघुवित्तको खराब कर्जा विगतको तुलनामा झनै बढेको छ। कर्जा नोक्सानी व्यवस्था पनि सोही अनुपातमा बढेको छ ।
केन्द्रीय बैंकका अनुसार सो अवधिमा २१ लघुवित्तको खराब कर्जा दर १० प्रतिशत भन्दा धेरै छ । सञ्जिवनी लघुवित्त विकास बैंकको शत प्रतिशत कर्जा खराब छ । यो लघुवित्त राष्ट्र बैंकबाट संकटग्रस्त घोषणा भएको संस्था हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा लघुवित्तको औसत खराब कर्जा ९.५ प्रतिशत थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस्तो औसत कर्जा ९.९९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समेत असुली समस्या झनै जटिल बनेको लघुवित्त बैंकर बताउँछन्।
लघुवित्त क्षेत्रमा समस्या आएपछि केन्द्रीय बैंकले कर्जा पुनर्संरचनाको सुविधा दिएको हुनाले अझ समस्या बाहिर नआएको नेपाल लघुवित्त बेंकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्सालले बताए । ‘अहिले रिल्याक्सेसन छैन, अघिल्लो वर्ष रिस्ट्रक्चर गरेको कर्जाको अवधि पुस मसान्तसम्म सकियो । अहिलेको अवस्था कसिलो छ,’ उनले भने, ‘अहिले कर्जाको रिस्ट्रक्चर धेरै संस्थाले गरेका छैनन् । त्यसका साथै आर्थिक गतिविधिमा अपेक्षित सुधार नआएकाले ऋणीको कर्जा तिर्न सक्ने क्षमतामा पनि सुधार आउन सकेको छैन।’
बैंकिङ क्षेत्रको घट्दो ब्याजदरका कारण आम्दानी केही बढेको उनले बताए । संस्थाको नाफामा सुधार आएको भए पनि खराब कर्जा र कर्जा नोक्सानी व्यवस्था झनै बढेको उनले स्वीकार गरे । अर्थतन्त्रका कारण नयाँ कर्जा नबढ्दा पनि डिफल्ट दर बढ्ने क्रम नरोकिएको उनले बताए ।
‘घर–जग्गाको कारोबार खुकुलो भएको खण्डमा सहकारीको पनि धेरै हदसम्म समस्या समाधान हुन्छ,’ लम्सालले भने, ‘सहकारीका समस्या समाधान हँुदै गर्दा लघुवित्तको पनि हुन्छ । घरजग्गामा माइक्रोफाइनान्सको लगानी प्रत्यक्ष नभएपनि यसको कारोबार बढ्ने वित्तिकै समग्र आर्थिक गतिविधि बढ्न जाने भएकाले लघुवित्तलाई पनि फाइदा पुग्छ ।’
नेपाल राष्ट्र बैंकले खराब कर्जा निश्चित सीमाभित्र हुनुपर्ने भनी तोकेको छैन । तर संस्थाको सम्पत्ति गुणस्तर मापन खराब कर्जाबाटै हुन्छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप लगानी गर्दा ८ प्रतिशत भन्दा धेरै खराब कर्जा हुन नहुने शर्त राखेको छ । लघसवित्तको हकमा त्यस्तो व्यवस्था पनि छैन ।
लघुवित्तको हकमा भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा सुरक्षणको बजार मूल्यले कर्जा सुरक्षण हुन नसक्ने भएमा, ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा, ऋणी हराएमा वा गायव भएमा, परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा, ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको जानकारी भएको अवस्थामा, कर्जा दुरुपयोग भएमा र कार्यक्षेत्र बाहिर गरेको कर्जा लगानी गरे स्वतः खराब कर्जामा परिणत हुनेछ ।
साथै किस्ता रकम १ वर्षभन्दा बढी अवधिले भाखा नाघेको अवस्थामा सम्पूर्ण कर्जा रकमलाई नै खराब कर्जामा वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ ।
यी हुन् १० प्रतिशत खराब कर्जा नाघेका २१ लघुवित्त
| संस्था | खराब कर्जा % |
| निर्धन उत्थान लघुवित्त | १४.१२ |
| स्वाबलम्बन लघुवित्त | ११.७७ |
| नेरुडे मिर्मिरे लघुवित्त | २५.७५ |
| कालिका लघुवित्त | ११.४२ |
| लक्ष्मी लघुवित्त | १३.०४ |
| विजया लघुवित्त | १९.३७ |
| माहुली लघुवित्त | १९.५४ |
| समता घरेलु लघुवित्त | १३.३२ |
| नाडेप लघुवित्त | १७.५४ |
| आशा लघुवित्त | १४.३९ |
| गणपति लघुवित्त | १४.३७ |
| इनिफिनिटी लघुवित्त | १७.८५ |
| एनआईसी एसिया लघुवित्त | १७.३८ |
| युनिक नेपाल लघुवित्त | १८.३८ |
| उपकार लघुवित्त | १८.२० |
| सीवाईसी लघुवित्त | १८.४८ |
| नेस्डो समृद्धि लघुवित्त | २१.६० |
| सिर्जनशील लघुवित्त | १४.७९ |
| मातृभूमि लघुवित्त | १०.४८ |
| आत्मनिर्भर लघुवित्त | ११.८१ |
| सञ्जिवनी लघुवित्त | १०० |
प्रतिक्रिया 4