+
+
Shares

एम्च्याम नेपालको वासिङ्टन मिसन : नेपाल एआई र डाटा सेन्टरको ‘क्लिन एनर्जी पावरहाउस’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते २१:३०

७ वैशाख, काठमाडौं । नेपालको जलविद्युत् क्षमतालाई कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन र डाटा सेन्टरजस्ता ऊर्जा-गहन डिजिटल पूर्वाधारसँग जोड्ने महत्त्वाकांक्षी प्रस्ताव लिएर अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम्च्याम नेपाल) ले आफ्नो चर्चित ‘वासिङ्टन डोर नक’ कार्यक्रम गरेको छ ।

एम्च्याम नेपालका संस्थापक अध्यक्ष अजितविक्रम शाह, मोघा एनर्जीका प्रेसिडेन्ट समर्थ मोघा र एम्च्यामका कार्यकारी निर्देशक अमिर आर. थापा सम्मिलित प्रतिनिधिमण्डलले अमेरिकी सरकार र निजी क्षेत्रका उच्चस्तरीय अधिकारीहरूसँग लगानीका विभिन्न क्षेत्रका विषयमा वार्ताहरू गरेको हो ।

प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, ऊर्जा मन्त्रालय, अमेरिकी व्यापार तथा विकास एजेन्सी (यूएसटीडीए) र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।

यी भेटवार्ताहरूमा नेपाललाई अर्को पुस्ताको लगानीका लागि विश्वसनीय र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा गहन छलफल भएको एम्च्यामले जनाएको छ ।

यस मिसनको केन्द्रमा एम्च्यामले ‘हाइड्रो-टु-डेटा’ लाई राखेको थियो । नेपालको विशाल जलविद्युत् स्रोतलाई विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको डेटा प्रोसेसिङ, एआई कम्प्युटेसन र ब्लकचेनमा आधारित प्रविधिका लागि ऊर्जा आपूर्तिमा लगाउने लक्ष्य एमच्यामले राखेको छ ।

नेपालसँग प्रशस्त नवीकरणीय ऊर्जा र प्रतिस्पर्धी मूल्य भएकाले दिगो हाइपरस्केल डाटा सेन्टर सञ्चालन गर्न र एआई ट्रेनिङ मोडल, क्रिप्टो माइनिङ, क्लाउड कम्प्युटिङ तथा विकेन्द्रीकृत डिजिटल प्रणालीजस्ता ऊर्जा-गहन क्षेत्रलाई ऊर्जा आपूर्ति गर्न सक्ने एम्च्यामले जनाएको छ ।

‘रूपान्तरकारी परिवर्तनका लागि साहसिक सोच चाहिन्छ,’ एम्च्याम नेपालका संस्थापक अध्यक्ष अजित बिक्रम शाहले भने, ‘नेपालले विश्वव्यापी आर्थिक परिवर्तनसँग कदम मिलाउनुपर्छ र दीर्घकालीन समृद्धि सुनिश्चित गर्न सहायताबाट व्यापारतर्फ रूपान्तरण गर्नुपर्छ ।’

यस मिसनका क्रममा अमेरिकी ऊर्जा संघ (यूएस एनर्जी एसोसिएसन) सँगको साझेदारीमा अमेरिका–नेपाल ऊर्जा रोडशो आयोजना गर्ने योजना तयार भएको एमच्यामले जनाएको छ । यसले नेपालको जलविद्युत् क्षमतालाई विश्वव्यापी लगानीकर्ता र डिजिटल पूर्वाधार नेतृत्वसँग जोड्ने यसको उदेश्य रहेको पनि उसको ठहर छ । अमेरिकी ऊर्जा संघका प्रमुख कार्यकारी अधिकृत मार्क डब्ल्यू. मेनेजेसले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै विश्वव्यापी स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालको रणनीतिक भूमिका महत्वपूर्ण रहेको जनाएको एमच्यामले जनाएको छ ।

यो मिसनका क्रममा यूएसटीडीएले एआई र डाटा सेन्टर इकोसिस्टमलगायत ऊर्जा-प्रधान डिजिटल पूर्वाधारका लागि सम्भाव्यता अध्ययन सहयोग गर्न बलियो चासो देखाएको एमच्यामले जनाएको छ । साथै, नेपाली उद्यमी र एम्च्याम सदस्यहरूलाई डिजिटल तथा ऊर्जा पूर्वाधार विकासमा सहयोग गर्ने वित्तीय संयन्त्रबारे डीएफसीसँग रचनात्मक छलफल भएको पनि एमच्यामले जनाएको छ ।

एम्च्याम नेपालले सो क्रममा विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग पनि छलफल गरेको जनाएको छ । साथै, अमेरिकी चेम्बर अफ कमर्सका दक्षिण एसिया उपाध्यक्ष (सेवानिवृत्त राजदूत) अतुल केशपसँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । केशपले नेपालको राजनीतिक परिपक्वता र लगानी सम्भावनाप्रति आशावादी दृष्टिकोण राख्दै संस्थागत र निजी क्षेत्र सहकार्य थप गहिरो बनाउने बताएका थिए ।

‘डेटा-हंग्री विश्वका लागि नेपालसँग ठूलो मात्रामा स्वच्छ ऊर्जा उपलब्ध गराउनसक्ने दुर्लभ क्षमता छ,’ मोघा एनर्जीका प्रेसिडेन्ट समर्थ मोघाले भने, ‘जलविद्युतलाई एआई र ब्लकचेन पूर्वाधारसँग जोड्दा नेपाल ऊर्जा निर्यातकर्ता मात्र नभएर भविष्यको विश्व अर्थतन्त्रको डिजिटल मेरुदण्ड बन्न सक्छ ।’

एम्च्याम नेपालले नेपाल सरकारसँग नियामकीय अवरोध कम गर्न, नीतिगत स्थिरता सुनिश्चित गर्न र एआई, क्रिप्टो तथा डाटामा आधारित उद्योगलाई सहयोग गर्ने भविष्यमुखी ढाँचा तयार गर्न निर्णायक कदम चाल्न आह्वान गरेको छ ।’भविष्यले पर्खिँदैन — र नेपालले पनि पर्खनुहुँदैन,’ प्रतिनिधिमण्डलले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?