७ वैसाख, खोटाङ । खोटाङमा आयोजना गरिएको ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी’ स्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित जालपा आविका विद्यार्थीलाई ‘पाले भाइ’ नाम दिइएको सेमी-अटोमेटिक रोबोर्टको बारेमा जानकारी दिन भ्याइनभ्याइ थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित हिमालय माविले आयोजना गरेको विज्ञान-गणित प्रदर्शनीका लागि प्रधानाध्यपक राजाकर्ण राईको ‘कन्सेप्ट’मा कक्षा ८ का छात्रा सेमीहाङमा राई, सरिता राई र एसी राईको समुहले ‘पाले भाइ’ तयार पारेका हुन् ।
मान्छे वा जनावर नजिक पुग्दा पाले भाइले सेन्सरमार्फत बत्ती बाल्छ र घण्टी बजाएर संकेत दिन्छ । त्यही पाले भाइको विषयमा सोध्ने अवलोकनकर्तालाई उभिएर बसेका छात्राहरुले नमस्कार गर्दै झन्झट नमानी जानकारी दिइरहेका थिए । विशेषगरी बाँदर तर्साउनका लागि पाले भाइ उपयोगी हुने सेमीहाङमाको दाबी छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित चम्पावती मावि बुईपाका कक्षा ७ का छात्र आनन्द श्रेष्ठ, कक्षा ८ का आशिष श्रेष्ठ र कक्षा ९ का सालिन राई पनि आफ्नो विज्ञान प्रोजेक्ट वारे वर्णन गर्न व्यस्त देखिन्थे । उनीहरुले रोबोटिक्स आर्म्सको नमूना बनाएर विज्ञान–गणित प्रदर्शनीमा राखेका छन् ।

सोल्मास्थित शुभम फाउण्डेसनको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा उनीहरुजस्ता दर्जनौं विद्यालयका विद्यार्थीले विज्ञान तथा गणित सम्वन्धी आ–आफ्नो प्रोजेक्ट प्रदर्शनमा राखेका छन् ।
सरस्वती मावि दिक्तेलका कक्षा १० का छात्र एन्जल राई, एल्सन आचार्य, एल्बिन वास्तोला र पुष्पा आचार्यले वाटर प्रेसर रकेट, टेस्ला कोइल जस्ता आविष्कार प्रदर्शनीमा राखेका छन् । पञ्चकन्य मावि बिजयखर्कका कक्षा १० का छात्र भुवन श्रेष्ठ, धर्मराज कार्की र रिमन कार्कीको टोलीले हाइड्रोलिक ढोका चलाएर देखाइरहेका थिए । दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र/छात्राले तयार पारेको रोबोटिक्स कार, अर्थक्वाक अलार्म लगायतका प्रोजेक्टले पनि अवलोकनकर्ताको ध्यान तानिरहेको देखिन्थ्यो ।
बैसाख ३ गतेदेखि बैसाख ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीले तयार पारेको अटोमेटिक स्ट्रिटलाईट, लेजरलाइट सेक्यूरिटी, वाटर लेभल इन्डीकेटर, स्मार्ट ग्लास जस्ता आविष्कारको नमुना राखिएका छन् ।
स्टल संयोजक एवं विज्ञान शिक्षक समाज खोटाङका अध्यक्ष भुपाल राईका अनुसार प्रदर्शनीमा जिल्ला तथा जिल्ला बाहिरका गरी ३९ वटा स्टल तथा ९५ वटा प्रोजेक्ट राखिएका छन् ।

खोटाङका १७ विद्यालयसहित २१, जिल्ला बाहिरबाट १७ र आयोजक हिमालय माविको १ वटा स्टल राखिएका छन् । विद्यार्थीमा वैज्ञानिक चेतना, गणितीय सीप र नवप्रवर्तन क्षमताको विकास गर्ने, सिर्जनशील प्रतिस्पर्धामार्फत विद्यार्थी र शिक्षकको उत्साह बढाउने, एआई र रोबोटिक्स जस्ता प्रविधिमा युवाको पहुँच पुर्याउने लगायतका उद्धेश्य सहित प्रदर्शनी आयोजना गरिएको कार्यक्रमका संयोजक सुर्य राईले बताए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, शुभम फाउण्डेशन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा हिमालय माविले प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा विद्यार्थीले तयार पारेको विज्ञान प्रविधि सम्वन्धी प्रोजेक्टदेखि ईभी कार राखिएको हिमालय माविका विव्यास अध्यक्ष सप्तमनी राईले बताए ।
प्रदर्शनीका लागि खोटाङका शैक्षिक तथा सामाजिक संस्थादेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), काठमाडौँ विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, रोवटिक्स एसोसिएसन अफ नेपाल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल लगायतका संघसंस्थाको सहभागीता जनाएका छन् ।
प्रदर्शनीको दौरान विद्यार्थीबीच विज्ञान–गणित प्रदर्शनी प्रतिस्पर्धा, रोबोकार रेस, वक्तृत्वकला लगायतका प्रतियोगिता राखिएको हिमालय माविका प्रधानाध्यपक पदम राईले बताए ।

प्रतिक्रिया 4