+
अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सञ्जय गुरुङसँग अन्तर्वार्ता :

‘अम्पायरबाट मानवीय त्रुटि हुन्छ, सच्याउने प्रयास हुनुपर्छ’

२०८३ वैशाख  ७ गते १२:२० २०८३ वैशाख ७ गते १२:२०

लगातार गल्ती गर्ने अम्पायरले मानवीय त्रुटि भन्दै पन्छिन मिल्दैन ।

‘अम्पायरबाट मानवीय त्रुटि हुन्छ, सच्याउने प्रयास हुनुपर्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अम्पायरको विवादित निर्णयले खेलाडी र समर्थकबाट आलोचना भएको छ।
  • अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङले नेपाली अम्पायरिङ सुधारका लागि अभ्यास, मूल्यांकन र संवाद आवश्यक रहेको बताउनुभयो।
  • नेपाल क्रिकेट संघले अम्पायरहरूको ग्रेडिङ र कारबाही प्रणाली विकास गर्नुपर्ने सुझाव दिइएको छ।

७ वैशाख, काठमाडौं । बागमती र मधेश प्रदेशमा भर्खरै सकिएको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा अम्पायरको निर्णयलाई लिएर आलोचना भयो । खेलका क्रममा गलत निर्णय दिएको भन्दै समाजिक सञ्जालदेखि खेलाडीहरूले समेत अम्पायरको निर्णयको प्रतिवाद गरे । बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने र लुम्बिनीका कप्तान देव खनालले मैदानमै अम्पायरको निर्णयको विरोध जनाएका थिए ।

नेपाल पुलिस क्लबका करण केसीले सामाजिक सञ्जालमा ‘अम्पायरलाई कुटे के सजाय हुन्छ ?’ भन्दै पोस्ट्याए । धेरैले पीएम कपमा अम्पायरको स्तर कमजोर रहेको निष्कर्ष निकाले ।

किन अम्पायरहरू आलोचित भइरहेका छन् ? नेपाली अम्पायरहरूको स्तर खेलाडीहरूले भने जस्तै कमजोर नै छ त ? यी विषयमा अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङसँग अनलाइनखबरका रिखिराम जिसीले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

पछिल्लो समय नेपाली क्रिकेटमा अम्पायरको निर्णय विवादित बन्दै आएको छ । सिनियर अम्पायरको हिसाबले यसलाई कसरी हेरिराख्नु भएको छ ?

अम्पायरिङ आफैंमा जस नपाइने पेसा हो । यसमा चुनौती पनि त्यत्तिकै हुन्छ । एउटा अम्पायरले दिनभरिमा २० वटा निर्णय दिँदा एउटामा गल्ती भएको हुन सक्छ । तर १९ वटा सही निर्णयको चर्चा हुँदैन । एउटा सामान्य त्रुटिमा विवाद हुन्छ । अम्पायरबाट सामान्य गल्ती हुन्छ नै, त्यो चाहे नेपालमा होस् वा अरु देशमा ।

यसो भनिरहँदा हाम्रो अम्पायरिङ एकदमै राम्ररी भइरहेको छ या यसमा कुनै सुधार गर्नुपर्ने छैन भन्ने होइन । कसरी त्रुटिरहित बनाउन सकिन्छ भनेर अम्पायर स्वयंले सोच्नु जरुरी छ ।

तपाईंले भनेजस्तै केही अम्पायरिङका निर्णयको विवादले गर्दा सामाजिक सञ्जालबाट खेलाडीलाई कारबाही गर्नुपर्नेसम्मको अवस्था आउनु नेपाली क्रिकेटका लागि राम्रो पक्ष होइन । त्यसकारण यसमा सुधार गर्नु जरुरी छ ।

अम्पायरिङ सुधारका लागि पर्याप्त तयारी चाहिन्छ, जुन हामीकहाँ भइरहेको छैन । एउटा ठूलो प्रतियोगितामा आउनुअघि कतिवटा खेल हामीले जिल्ला या प्रदेशमा गरिरहेका छौं, कति वटा खेलको अभ्यास भएको छ, हामीले आफ्नो स्वमूल्यांकन कति पटक गरिरहेको छौं भन्ने कुरामा ध्यान दिनु जरुरी छ ।

केही खेलाडी र दर्शकहरूले भनेजस्तो नेपाली अम्पायरहरूको स्तर कमजोरै हो त ?

वास्तवमा एसीसी र आईसीसी स्तरमा जुन बेला हामी अम्पायरिङ गरिरहेका छौं । एसीसी र आईसीसीका प्रतियोगिताहरूमा त्यहाँको ट्रेनिङ कार्यक्रममा पनि हामीले अवलोकन गरेकै हो । पछिल्लो समय जुन हिसाबले नयाँ अम्पायरहरू उत्पादन हुनुपर्ने थियो, नेपालमा । हामीले पनि त्यो स्वीकार्नुपर्छ कि त्यो उत्पादन गर्न सकेका छैनौं ।

पछिल्लो समयसम्म त खेलहरूको संख्या पनि कम हुन्थ्यो । जति धेरै खेल गरायो त्यति नै अनुभव पनि बढ्छ र मैदानमा गएर कार्य गर्ने क्षमता पनि बढ्छ । सामान्यतया मैले अम्पायरिङको लिखित परीक्षामा टप गर्ने बित्तिकै म एउटा राम्रो अम्पायर हुन्छु भन्ने सोच कसैको छ भने त्यो गलत हो ।

जबसम्म हामीले व्यवहारिक रुपमा मैदानमै गएर सही तरिकाले गर्न सक्दैनौं, त्यहाँ समस्याहरू आउँछ । पछिल्लो समयमा मैले आफ्नै अम्पायर साथीहरूको मूल्यांकन गर्दा कतिपय समस्या निर्णयमा नभई कार्यान्वयनमा पनि देखियो ।

अम्पायरिङको अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संवाद पनि हो । हरेक बल र निर्णयमा खेलाडीले अम्पायरबाट उत्तर खोज्छ । अम्पायरले एकचोटि त आफ्नो सिग्नल दिन्छ । आउट छ भने आउट दिन्छ, नटआउट छ भने नटआउट दिन्छ । तर, त्यसपछि उसले आएर फेरि पनि प्रश्न गर्ने अधिकार राख्छ । कहिलेकाहीँ उसले त्यो निर्णयको कारण पनि माग्छ । र त्यो बेलामा हामीले खेलाडीसँग कसरी संवाद गरिरहेका छौँ ? भन्ने कुराले गहिरो अर्थ राख्छ । पीएम कपमा कुनै घटना देख्यौँ, जुन लामो समयसम्म विवादमा रह्यो ।

मैदानभित्र एउटा खेलाडी र अम्पायरको कुराकानी लामो भइरहेको छ । त्यसको अर्थ हामीले कहीँ न कहीँ संवाद सही तरिकाले गरिरहेका छैनौं । अहिले बाहिर आउँदा राम्रो देखिन्न । अब अर्को कुरा के भयो त भन्दा अधिकांश खेलहरू लाइभ प्रसारण हुन्छ । लाइभ प्रसारण भएपछि फेरि रिप्लेमा हेर्ने सुविधा दर्शक र खेलाडीलाई हुन्छ । उसले स्लो गरेर हेर्छ । उसले अल्ट्रा स्लो गरेर हेर्छ । तर अम्पायरलाई त्यो सुविधा हुँदैन । केही सेकेन्डमै उसले आउट दिनुपर्छ या नट आउट दिनुपर्छ ।

अम्पायरबाट भएका गल्तीहरू मानवीय त्रुटि मात्रै हो भन्न खोज्नुभएको ?

अम्पायरबाट हुने गल्ती मानवीय त्रुटि नै हो । तर त्यो मानवीय त्रुटिलाई घटाउने प्रयास अब हामी अम्पायरबाट हुनुपर्छ । हरेक खेलमा आएर दुइटा गल्ती गरेर मानवीय त्रुटि भन्न पाउँदैन । उद्देश्य चाहिँ कुनै बेइमानी गर्ने हुँदैन । त्यो हामी सबैले बुझ्नु पर्छ । गल्ती भयो भने त्यो मानवीय त्रुटि हो । तर, मानवीय त्रुटिलाई स्विकार कहिलेसम्म र कति गर्ने ? त्यो चाहिँ छलफलको विषय हो ।

गल्ती गर्ने छुट हामीलाई छ तर, हामीलाई प्रत्येक खेलमा दुई–चारवटा गल्ती गर्ने छुट चाहिँ छैन । त्यो हुन लाग्यो भने मेरो क्षमतामा कहीँ न कहीँ कमी आएको छ भनेर मैले बुझ्नुपर्छ । अब मैले कसरी काम गर्नुपर्छ त्यसको लागि जिम्मेवार हुनुपर्छ ।

पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को फड्को मारिराखेको छ । नेपालले तीन पटक टी–२० विश्वकप खेलिसक्यो । डिभिजन ५ बाट डिभिजन वान हुँदै ओडीआईको मान्यता प्राप्त गरिसकेको छ । तर, अम्पाएरको स्तर हेर्ने हो भने त्यहाँ भन्दा वृद्धि भएको छैन भन्ने कुराहरू पनि छ । विश्वकप खेल्ने देशको अम्पाएरको स्तरलाई तपाईंले कसरी हेर्नुभएको छ ?

नेपालले विश्वकप नखेले पनि अन्तर्राष्ट्रिय खेलहरू खेल्छ । र अम्पायरिङको स्तर पक्कै पनि माथि जानुपर्छ । त्यसमा प्रयास कहाँबाट हुनुपर्छ ? मैले तपाईंलाई व्यक्तिगत रुपमा मेरो प्रयास भनिसकेँ । यसमा जिम्मेवारी आउँछ हाम्रो संघको । हाम्रो अम्पायर संघ छ । अहिले यो प्रतियोगिताको दौरान नै हामी सिनियर साथीहरूले अम्पायर संघको अध्यक्षसँग पनि यस विषयमा हामीले छलफल गर्यौं ।

हामी के निष्कर्षमा पुग्यौं भन्दा अहिलेको प्रतियोगिता जति पनि निर्णय विवादस्पद रुपमा देखिएको छ, जो–जोलाई स्वयं हामीलाई लाग्छ कि यो डिसिजन अलि राम्रो तरिकाले हुन सक्थ्यो, त्यसको सारा भिडियो क्लिप लिएर हामीले निकट भविष्यमा एउटा उच्च स्तरको सेमिनार गर्नेछौं । सबै गल्तीहरु हेरेर कुन–कुन एरियामा कसरी सुधार गर्ने भनेर सेमिनार गर्ने सहमति भइसकेको छ ।

विश्व क्रिकेटमा अम्पाएरको विषयमा खासै धेरै कुराहरू उठेको पाइँदैैन । अहिले मधेश प्रदेशमा भएको पीएम कपमा चाहिँ समर्थकहरूबाट मात्र नभई खेलाडीहरूबाट पनि अम्पाएरको विषयमा सार्वजनिक रुपमै आलोचना भयो । खेलाडीहरूले नै अम्पायरको विषयमा सार्वजनिक रुपमा आलोचना गर्नु कत्तिको गम्भीर विषय हो ?

लेभल वानमा अम्पायरिङ गरेपछि लेभल वानको तालिम हुन्छ, परीक्षा हुन्छ । त्यसलाई पास गर्छौं । त्यसपछि माथि आउँछौं । माथि आएर फेरि लेभल टुको परीक्षा हुन्छ । लेभल टु को मान्यता पाएपछि बल्ल हामी अन्तर्राष्ट्रिय खेलहरुमा उभिन योग्य हुन्छौं

एउटा कुनै पनि क्रिकेट खेललाई एकदमै सहज र सफल तरिकाले आयोजना हुनुमा मैदानभित्र दुई पक्ष नै जिम्मेवार हुनुपर्छ । खेलाडी र अम्पायर बीच मधुर सम्बन्ध हुनुपर्छ । कहिलेकाहीँ खेल जित्ने प्रेसर खेलाडीलाई हुन्छ । टिमबाट बाहिर भएको खेलाडीले कमब्याक गर्ने अवस्थामा आफूलाई प्रमाणित गरेर राष्ट्रिय टोलीमा जाने प्रेसर पनि हुन्छ । त्यो प्रेसरले गर्दा कहिलेकाहीँ खेलाडीले मैदानमा प्रतिक्रिया गर्नु भनेको त्यसलाई अस्वाभाविक मान्नु हुँदैन ।

म पनि एउटा खेलाडी थिएँ । मैले पनि त्यसलाई स्वभाविक नै मान्छु । किनकि त्यो खेलाडीले त्यहाँ पुग्नका लागि धेरै मेहेनत गरेको हुन्छ । त्यसकारणले कहिलेकाहीँ त्यस्तो खालको प्रतिक्रिया आउनु स्वभाविक हो । तर, त्यो प्रतिक्रियाको एउटा सीमा चाहिँ आईसीसीले तोकेको छ । नेपाल क्रिकेट संघले पनि आचारसंहिता तोकेको छ । त्यो आचारसंहिताभित्र रहेर आफ्नो असन्तुष्टि जनाउनु भनेको त्यसलाई मैले अपराध मान्दिनँ ।

तर, त्यो कुरालाई खेलपछि सार्वजनिक रुपमा बोल्नु या सार्वजनिक रुपमा त्यसलाई सामाजिक सन्जालमा लेख्नु चाहिँ खेलाडीहरू स्वयं जिम्मेवार हुन्छन् । हामी कन्ट्याक्टमा भएको खेलाडी हो, हामी सबैले आचारसंहिता मान्ने एउटा बाध्यता छ भन्ने बुझ्नुपर्छ ।

लिखित रुपमा क्यानलाई दिने भन्ने कुरो छुट्टै हो । त्यो दिने अधिकार उहाँहरूलाई पुरै छ । तर सार्वजनिक रुपमा अम्पायरको आलोचना गर्दियो भने त्यो समस्याको समाधान होइन । त्यसले समस्यालाई झन् जटिल बनाउँछ । हामी सबैले खेलाडी र अम्पायर मिलेर समस्या कसरी समाधान गर्ने भन्नेतिर जानुपर्छ ।

खेलाडी र प्रशिक्षकहरूले दिएको रिपोर्टअनुसार अम्पायरको मुल्यांकन भएन भन्ने गुनासो आउने गरेको छ । साच्चिकै मूल्यांकन हुँदैन ?

हरेक प्रतियोगितामा नयाँ सेटअप अम्पायर जन्मिनु सम्भव छैन । मैले पनि अन्तर्राष्ट्रिय खेल गर्नुभन्दा अगाडि करिब ८/१० वर्ष राष्ट्रिय प्रतियोगिता, जिल्ला, अन्तरविद्यालयबाट सुरु गर्दै आएँ ।

अहिले एउटा सेटअप अम्पायर छ । कसैले पीएम कप गर्छन्, कसैले राष्ट्रिय गर्छन् । तर, खेलाडीसँग कुरा गर्दा पनि उनीहरूको चाहिँ एउटा मुख्य गुनासो के रहन्छ त भन्दा अम्पायरले मिस्टेक गर्नुहुन्छ । हामीले प्रतिवाद गर्छौं । हामीलाई चाहिँ सीओसी लगाउनु हुन्छ । तर, अम्पायरलाई कारबाही हुन्न ।

अम्पायरको गलत निर्णयका लागि उसलाई सीओसी लाग्दैन । जसले गलत निर्णय गर्छ उसलाई आगामी खेलका लागि एक स्तर घटाउने या बढाउने नीति विकास गर्नुपर्छ । त्यो नभएको कारणले कहिलेकाहीँ त्यस्तो देखिन्छ ।

गलत निर्णय गर्ने अम्पायरलाई कस्तो कारबाही हुनुपर्छ ?

अम्पायरको मूल्यांकनका आधारमा ग्रेडिङ गर्नुपर्छ, जुन अहिलेसम्म हाम्रोमा भएको छैन । १० अम्पायरको ग्रेडिङ भएको छ भने अर्को प्रतियोगिताका लागि टप फाइभलाई मात्रै अगाडि बढाउने । र, त्यो बटम फाइभलाई यो–यो चिजमा तपाईंले सुधार गर्नुपर्छ भन्ने । एक स्तर तलको म्याचमा उहाँहरूलाई फेरि लगाएर माथि लग्ने खालको प्रक्रिया बनाउन सक्यो भने अम्पायरहरूलाई के महसुस हुन्छ भने म भोलि तल जान सक्छु । तलको अम्पायरलाई पनि के हुन्छ भने म राम्रो खेलेँ भने माथि जान सक्छु । यसरी एउटा लक्ष्य चाहिँ हामीले दिनुपर्छ ।

आईसीसीमा म्याच गरेपछि आठ–दश दिनभित्र हामीलाई पुरै एक–एक वटा खेलको रिपोर्ट पाउँछौ । मैले कहाँ गल्ती गरेको छु, कहाँ राम्रो गरेको छु, त्यो सबै लेखेको हुन्छ । त्यसपछि त्यहाँ ग्रेडिङ हुन्छ– ग्रीन, रेड, यलोका आधारमा । त्यसको आधारमा आगामी अवसर पाउने सबै प्रक्रिया छ । नेपालमा त्यो नभएसम्म समस्या पनि बढ्दै जान्छ, घट्दैन ।

घरेलु क्रिकेटमा अम्पायरको विवादस्पद निर्णय हुनु अनुभवको कमी हो कि प्रणालीगत त्रुटि हो ?

दुइटै कुराको मिश्रण हो । प्रधानमन्त्री कप भनेको सबैभन्दा ठुलो प्रतियोगिता हो, जहाँ नेपालका टप प्राय: सबै खेलाडीहरू खेल्छन् । उत्कृष्ट खेलाडी खेलिरहँदा उत्कृष्ट र अनुभवी अम्पायर पनि त्यहाँ उभिनु पर्यो नि त । उत्कृष्ट, अनुभवी अम्पायरहरू उभिने प्रक्रिया हाम्रो बनेको छ, छैन । त्यसमा हामीले विचार गर्नुपर्छ । त्यसकारणले मैले माथिल्लो लेभलको अम्परिङको अनुभव लिनका लागि ठूलै प्रतियोगिता गर्नुपर्यो ।

खेलहरू गर्नुपर्यो, मैदानमा अन्तरविद्यालय हुन्छ कि, अन्तर क्लब हुन्छ कि, जिल्ला या प्रदेश स्तरको खेल हुन्छ, ती जति खेल गरिन्छ, त्यति अनुभव पाउने हो । खेल गरिसकेपछि स्वमूल्यांकन गर्नुपर्छ कि मैले गरिरहेको खेलमा कस्तो भइराखेको छ ? आफूभन्दा सिनियरसँग त्यसको फिडब्याक लिन सकिन्छ । त्यहाँ भएको सिनियरसँग मेरो कस्तो भएको छ ? कहाँ मैले सुधार गर्नुपर्छ ? त्यो गर्न सकिन्छ ।

कस्तो छ अहिले अम्पायरिङको नियुक्ति प्रक्रिया ?

क्यानको नै टेक्निकल कमिटी छ । त्यसमा हाम्रा केही सिनियर साथीहरू पनि हुनुहुन्छ । अब कुसान पनि छ त्यहाँ । एक अर्कासँग समन्वय गरेर गर्ने प्रक्रिया त छ । तर, हामीले आफ्नो अम्पायरिङको एउटा क्याटेगोरी बनाउन सकेका छैनौं । ग्रेडिङ गर्न सकेका छैनौं ।

यो ग्रेडको अम्पायर कुन–कुन प्रतियोगितामा उभिन पाउने ? जय ट्रफी, पीएम कप जस्ता ठूला प्रतियोगितामा यो ग्रेडको अम्पायरहरू र तल ग्रेडको एक–दुई जना अम्पायर जसले राम्रो गरिराछ, त्यसलाई प्रमोसन र माथिको अम्पयारले खराब गरिराछ भने त्यसलाई डिप्रमोसन गर्ने खालको एउटा यस्तो स्वतन्त्र कमिटी बनाउनुपर्छ ।

जसले हरेक प्रतियोगितामा अम्पायरिङ गरेको अम्पायरको सम्पूर्ण प्रदर्शनको मूल्यांकन गरेर ग्रेडिङ गर्ने गर्छ । त्यो काम क्यानले गर्नुपर्छ । जसले म्याच रेफ्रीको फिडब्याक सुन्ने र त्यहाँ विज्ञहरूलाई राखेर मूल्यांकन गर्ने र उक्त कमिटीले गरेको ग्रेडिङका आधारमा अवसर प्रदान गर्नुपर्छ । नेपालमा राम्रो भन्दा पनि आफ्नोलाई चुन्ने अधिकांश चलन हुन्छ ।

तपाईंले काम गरिरहँदा कहिलेकाहिँ त्यस्तो भएको देखिन्छ ?

कहिलेकाहिँ त्यस्तो भएको पनि देखेको छु । यो समस्या किन बढ्दै गयो त भन्दा हामीले बलियो प्रणाली बनाउन चुकेका छौं । हिजोको दिनमा अम्पायरको संख्या कम थियो । सीमित अम्पायरले धेरै खेलहरु गराउँथे । १०–१५ वर्ष गरेका अम्पायरहरू धेरै थिएनौं । अहिले क्रिकेट बढ्दै गयो । क्रिकेट बढ्दै गएपछि अम्पायरहरूको संख्या पनि हरेक ठाउँमा बढ्यो ।

सबैको चाहना हुन्छ । मेरो पनि चाहना हुन्छ कि मैले यो भन्दा माथि स्तरको खेलहरू गरौं । त्यस्तै जिल्ला र प्रदेशमा अम्पायरिङ गर्ने सबै अम्पायरको चाहना राष्ट्रिय प्रतियोगिता गरौं भन्ने हुन्छ । तर मेरो व्यक्तिगत चाहनाले मात्रै त्यो सबै कुरा निर्धारण हुँदैन । चाहनासँगै तयारी हुनुपर्यो र कुनै व्यक्तिले भन्दिएर मात्रै हुँदैन । मेरो नियुक्ति हुनुभन्दा पनि मैले आफूलाई राम्रो प्रमाणित गर्छु अनि मात्र माथिल्लो स्तरमा चढ्ने अवसर पाउँछु भन्ने हुनुपर्छ ।

क्यानले यस्तो खालको एउटा नीति बनाउनु पर्छ, जसले यो विश्वास दिलाइदिओस् कि तपाईंले राम्रो गरेपछि माथि जाने हो र तपाईंले खराब गरेपछि तल आउनुपर्छ भनेर । हरेक वर्ष त्यो ग्रेडिङअनुसार राम्रो गर्नेलाई अवार्ड र नराम्रो गर्नेलाई सजाय भयो भने खेलमा सुधार आउँछ ।

कुनै पनि खेलाडीलाई राष्ट्रिय टोलीमा पर्न यदि त्यो ब्याटर हो भने रन बनाउनु पर्छ । त्यो बलर हो भने विकेट लिनुपर्छ तर एउटा अम्पायरलाई अवसर पाउन या योग्य हुन चाहिँ के गर्नुपर्छ ?

त्यो त एउटा प्रक्रिया छ । त्यो प्रक्रिया भनेको हाम्रो विभिन्न तालिम हुन्छ । पहिलो ओ लेभलको तालिम भयो । त्यसपछि लेभल वान हुन्छ र अम्पायरिङको सबैभन्दा माथिल्लो तालिम भनेको लेभल टु को हुन्छ जुन एसीसी अथवा आईसीसीले गराउँछ ।

पहिले त हामीले त्यो लेभल ओ पास गर्यौं । टपै गर्यौं तर त्यसपछि अम्पायरिङ गरेनौँ भने हामी लेभल वानमा पुग्दैनौँ । लेभल वानमा अम्पायरिङ गरेपछि लेभल वानको तालिम हुन्छ, परीक्षा हुन्छ । त्यसलाई पास गर्छौं । त्यसपछि माथि आउँछौं । माथि आएर फेरि लेभल टुको परीक्षा हुन्छ । लेभल टु को मान्यता पाएपछि बल्ल हामी अन्तर्राष्ट्रिय खेलहरुमा उभिन योग्य हुन्छौं ।

अम्पायर क्रिकेट अम्पायर खेलकुद नेपाली क्रिकेट मानवीय त्रुटि
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय