+

संकटमा नेपाली फुटबल, अन्योलमा साफ च्याम्पियनसिप सहभागिता

२०८३ वैशाख  ७ गते १४:२६ २०८३ वैशाख ७ गते १४:२६

नेपाली फुटबल सधैं यस्तै अन्योलमै रमाउने हो त ? कसले आएर बचाउला नेपाली फुटबल, फुटबललाई हाँक्न सक्ने व्यक्ति को होला ? नेपाली फुटबललाई लिएर अहिले यी र यस्तै प्रश्नहरू सबैभन्दा चर्चाको विषयमा छ ।

संकटमा नेपाली फुटबल, अन्योलमा साफ च्याम्पियनसिप सहभागिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल अहिले राखेपको निलम्बन र एन्फाको आन्तरिक विवादका कारण गहिरो संकटमा छ ।
  • फिफाले निलम्बन फिर्ता नलिए नेपालले साफ महिला च्याम्पियनसिपमा सहभागिता पाउने छैन ।
  • स्थगित राष्ट्रिय लिग र शहीद स्मारक महिला लिगको भविष्य अनिश्चित छ र खेलाडीहरू अन्योलमा छन् ।

७ वैशाख, काठमाडौं । नेपाली फुटबलमा अहिले क भइरहेको छ ? नेपाली फुटबलको भविष्य अब के हुन्छ ? के फिफाले नेपाललाई निलम्बन गर्छ ? वा राखेपले एन्फालाई लगाएको निलम्बन फिर्ता लिएर पुरानै अवस्थाबाट एन्फाको निर्वाचन अघि बढाउन स्वीकृति देला ?

स्थगित राष्ट्रिय लिग फेरि सुरु होला त ? अनि चार खेल मात्र सम्पन्न भएर स्थगित भएको शहीद स्मारक महिला लिगको भविष्य के होला ? नेपालले आउँदै गरेको साफ महिला च्याम्पियनसिपमा भाग लिन पाउला ?

नेपाली फुटबल सधैं यस्तै अन्योलमै रमाउने हो त ? कसले आएर बचाउला नेपाली फुटबल, फुटबललाई हाँक्न सक्ने व्यक्ति को होला ? नेपाली फुटबललाई लिएर अहिले यी र यस्तै प्रश्नहरू सबैभन्दा चर्चाको विषयमा छ ।

साँच्चै भन्दा नेपाली फुटबल अहिले सबैभन्दा अनिश्चित र अन्योलको अवस्थामा छ । नेपाली फुटबललाई यो अवस्थामा पुर्‍याउन एक वा दुई जनाको मात्र दोष छैन । नेपाली फुटबल प्रशासन जोडिने अभिभावक संस्था एन्फाका वर्तमान तेतृत्व देखि कार्यसमिति, एन्फाका सदस्य जिल्ला क्लब संघहरू फुटबल स्टेकहोल्डरहरू सबै कहीँ न कहीँ दोषी छन्, र यो सबैको मारमा भने खेलाडी परेका छन् ।

जो देशको झण्डा बोकेर सधैं नेपालको नाम राख्‍न दिन रात नभनी परिश्रम गरेर मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सधैं तयार हुन्छ । त्यही खेलाडीहरूले खेल्दिएर संघ पदाधिकारी र देशको नाम उच्च हुन्छ ।

तर अहिलेको एन्फा नेतृत्व देखि सम्बन्धित सबै स्टेकहोल्डरको कामले गर्दा खेलाडीहरू निरीह बनेका छन् । विचरा खेलाडीहरू मैदानमा विपक्षीलाई गोल ठोक्ने र विपक्षीको आक्रमणलाई रोक्ने बाहेक अरु के नै गर्न सक्छन् र!!

अन्योल स्थिति

नेपाली फुटबल अहिले अन्योल र अनिश्चितताको भूमरीमा छ । अझ भन्दा नेपाली फुटबल अहिले गहिरो संकटको स्थितिमा छ ।

एन्फाले अर्ली इलेक्सन गर्ने भनेपछि सुरु भएको आन्तरिक विवाद, राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट एन्फा निलम्बन अनि अन्तर्राष्ट्रिय रूपमा निलम्बन गर्ने फिफाको चेतावनीले गर्दा अहिले नेपाली फुटबल संकटमा छ ।

राखेपको निलम्बनको अवस्थामा पनि मोफसलमा विभिन्न गोल्डकप फुटबल आयोजना भइरहेपनि पनि राष्ट्रिय र अन्तर्रष्ट्रिय स्तरमा फुटबल पूर्ण रुपमा प्रभावित छ ।

नेपालले सहभागिता जनाउने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अब सहभागिता हुने नहुने अन्योल छ । यस्तै राष्ट्रिय स्तरमा भइरहेका र हुने तयारीमा रहेका प्रतियोगिताहरुको भविष्य पनि अनिश्चित छ ।

विशेषगरी दक्षिण एसियाली स्तरमा सिनियर साफ च्याम्पियनसिप देखि उमेर समूहका विभिन्न प्रतियोगिताहरू नजिकिँदै छ । त्यसमा पनि महिला साफ च्याम्पियनसिपमा निकै नजिक आइसकेको छ ।

यतिबेला महिला फुटबल टोलीले धमाधम तयारी गर्नुपर्ने बेला उनीहरू फुर्सदिला बनेका छन् ।

यस्तै अगष्टमा साफ जुनियर लेभलको प्रतियोगिताहरू हुने तयारी छ भने सेप्टेम्बरमा बंगलादेशमा पुरुषको साफ च्याम्पियनसिप आयोजना हुने तय छ । तर नेपाली फुटबलको अन्योल स्थितीले गर्दा नेपालले यी प्रतियोगिताहरूमा नेपालको सहभागिता पनि अन्योल छ ।

राखेपको तीन महिनाको निलम्बनको एक महिना अवधि बित्न लाग्दा न राखेपले दिएको निर्देशन अनुसार एन्फाले काम गरेको छ, न राखेपले फुटबल गतिविधि चलायमान बनाउन केही पहल गरेको छ, न त फिफा र एएफसीसँग राखेप र एन्फाको संयुक्त बैठकले केही ठोस निर्णय निकाल्न सकेको छ ।

सरकारी प्रतिनिधित्व गर्ने खेलकुदको कार्यकारी निकाय देखि फुटबलको अभिभावक संस्था, अन्तर्राष्ट्रिय संस्थाहरूले छलफल गरेपनि नेपाली फुटबलको संकटलाई निचोडमा पुर्‍याउन सकेका छैन ।

राखेपको निलम्बनपछि एन्फालाई हाइसन्चो भएजस्तो, राखेपलाई ठूलै काम गरेँ भने जस्तो, अनि फिफा र एएफसी आफ्नो भोट बचाउनका लागि आफू अनुकुल निर्णयको पर्खाइमा बस्ने र चित्त नबुझे निलम्बनको चेतावनी दिइरहने जस्ता मैदान बाहिरको काम मात्र भइरहेको छ ।

यदि नेपाली फुटबललाई बचाउने हो भने सबै सरोकारवाल निकायले एक पटक आफ्नो स्वार्थ त्यागेर के गर्दा नेपाली फुटबलको हित हुन्छ र फुटबल विकासमा सहयोग पुग्छ भनेर गम्भिर रुपमा सोच्न र छलफल गर्न अत्यावश्यक छ ।

साफको टुंगो छैन, गोल्डकपमा व्यस्त खेलाडी

नेपाली फुटबल सधै सही तरिकाले चलिरहेको स्थिती हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय फुटबल टोली जोडतोडले भारतमा जुनमा हुने साफ महिला च्याम्पियनसिपको तयारीमा हुन्थे ।

साफ महिला च्याम्पियनसिपको पहिलो पटक उपाधि जित्ने भोकलाई नतिजामा परिणत गर्न प्रशिक्षकहरू रणनीति बनाएर आफ्नो टिमलाई तयार पारिरहेका हुन्थे । तर यहाँ अवस्था ठिक उल्टो छ ।

नेपालले साफ महिला च्याम्पियनसिपमा सहभागि हुने/नहुने नै टुङ्गो छैन । अर्कोतर्फ नेपाली महिला फुटबल खेलाडीहरू भने अहिले झापामा भइरहेको चन्द्रगढी महिला गोल्डकप खेल्न व्यस्त छन् ।

साफ महिला च्याम्पियनसिपको आठौं संस्करण भारतको गोवास्थित मार्गाओ सहरमा मे २५ देखि जुन ७ सम्म हुने तय छ ।

त्यसका लागि नेपालले कम्तीमा प्रारम्भिक सूची पठासक्नुपर्ने थियो । तर अहिलेसम्म नेपालले प्रारम्भिक सूची पठाएको आधिकारिक कुने जानकारी छैन । एन्फा स्रोतका अनुसार साफ महिला च्याम्पियनसिपको लागि आन्तरिक रुपमा काम गरिरहेको र प्रारम्भिक सूची बुझाएको जानकारी प्राप्त भएको छ । अब सहभागि हुने नहुने विषयमा राखेपले निर्णय लिनुपर्ने उनीहरुको दावी छ ।

यता राखेप सदस्य सचिव राम चरित्र मेहताले भने यस विषयमा एन्फाले कुनै छलफल नै नगरेको जानकारी दिए । हामीले सबै विषय अबलोकन गरिरहेका छौं । ‘एन्फाले यो विषयमा केही भनेको छैन । पुरुष टोली पठाउन मिल्ने महिला टोली किन पठाएन । आफूलाई ठिक लागेको गरिराछ । खेलाडी पठाउन मिल्दैन भन्ने आफू पदाधिकारी विदेश जाने योजना बनाउने गरिरहेका छन् ।’

राष्ट्रिय महिला फुटबल टिमका पूर्व कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले पनि सोमबार फेसबुकमा स्ट्याटस लेख्दै नेपाली फुटबलमा अहिले खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भएको बताएकी छिन् । यसले खेलाडीको मन दुख्ने कुरा उनले लेखेकी छिन् ।

‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेलभन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ, एन्जिलाले लेखेकी छन्, ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फा बीचको आन्तरिक कलहले गर्दा आगामी साफ महिला च्याम्पियनसिपमा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो । यी “प्रशासनिक रोक” र “समयसीमाको उल्लङ्घन” केवल कागजका कुरा होइनन्, यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौंको मेहेनत लुकेको हुन्छ ।’

उनले देशको गर्वका लागि खल्ने खेलाडीको भविष्य अन्धाकारमा पुगेको लेखेकी छिन् । ‘जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ । हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने ?’

यस्तै एन्जिलाले नेपाल सरकार र एन्फालाई विनम्र अनुरोध गर्दै लेखेकी छिन्, ‘खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन । दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु । खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन । हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस् । हाम्रो भविष्य “जोखिम” मा होइन, तपाईंहरूको “प्राथमिकता” मा हुनुपर्छ ।’

साफ महिला च्याम्पियनसिपपछि साफ यू-१७ च्याम्पियनसिप अगष्टमा हुने तालिका छ । त्यसमा पनि नेपालको सहभागिता अन्योल बनेको छ ।

राखेपको निलम्बन रहेसम्म एन्फा ‘हामी त निलम्बनमा रहेको संघ’ भनेर पन्छिने अनी राखेपले साफ च्याम्पियनसिपको लागि कुनै पहल पनि नगर्ने हुँदा त्यसको असर खेलाडीको सहभागितामा परेको छ ।

यस्तै राखेपले एन्फालाई निलम्बन गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसलाई तेस्रो पक्षको हस्तक्षेप भन्द यसलाई स्वीकार नगर्ने र निलम्बन फिर्ता लिन भनिसकेको छ । यदी त्यसो नभए निलम्बन गर्ने फिफाले चेतावनी दिइसकेको छ ।

फिफाकै निलम्बनमा परेमा नेपालले साफ च्याम्पियनसिप देखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैन ।

यही वैशाख ५ गतेदेखि सुरु भएको चन्द्रगढी गोल्डकपमा नेपालको तीन विभागीय टोलीसहित भुटान सम्मको टोलीको सहभागिता छ । नेपाली महिला फुटबल खेलाडीहरू अहिले त्यही प्रतियोगितामा व्यस्त छन् । त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो खेलमा जित हात पारिसकेको छ भने नेपालको च्याम्पियन टोली एपीएफ आइतबार प्रतियोगिताको लागि झापा गएको छ ।

यस प्रतियोगिताको विजेताले महिला फुटबलकै सर्वाधिक पुरस्कार राशी ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पनि ५ लाख रुपैयाँ पाउनेछ । पुरस्कार धेरै भएपनि यसले अहिले खेलाडीलाई खुशी दिँदैन ।

महिला खेलाडीहरू मात्र होइन अहिले नेपालको पुरुष फुटबल खेलाडी र क्लबहरू पनि मोफसलकै विभिन्न गोल्डकपहरूमा व्यस्त छन् । मोरङले आइतबार मात्रै विराट गोल्डकप सम्पन्न भएको छ । जहाँ झापा ११ ले उपाधि जित्यो । यस्तै आइतबारै नेपालगन्जमा खजुर गोल्डकप सम्पन्न भएको छ ।

इलाममा इलाम गोल्डकप सञ्चालन भइरहेको छ । अन्य विभिन्न गोल्डकप प्रतियोगिताहरू पनि हुने तयारीमा छ । यस्तै पोखरामा पनि महिला नकआउट फुटबल प्रतियोगिता हुने तयारी छ ।

राखेपबाट एन्फा निलम्बन हुँदा केन्द्र र अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रभाव परेपनि मोफसलको फुटबल भने अहिले चलायमान बनेको छ ।

एन्फा निलम्बनको असर

राखेपको निलम्बनपछि नेपालको केन्द्रिय र अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्प जस्तै बनेको छ ।

निलम्बन भएपछि नेपालको पुरुष राष्ट्रिय टिमले एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध अन्तिम खेल खेल्यो । यसमा राखेपले एन्फालाई निमल्मबन अघि नै स्वीकृति माग गरेको र त्यही अनुसार नै स्वीकृति दिएकोले सहभागि भएको भन्ने तर्क रह्यो ।

त्यसमा राखेपले स्वीकृति दिएर सहजीकरण गरेको थियो, तर त्यसलगत्तै थाइल्यान्डमा भएको फिफा इन्टरनेसनल सिरिज २०२६ मा भने नेपाली महिला टिम सहभागी हुन पाएन । यसमा भने एन्फाले राखेपले निलम्बन गरेपछि महिला टोलीले तयारी गर्न नपाएको भन्ने तर्क राख्यो ।

निलम्बन हुनुअघि नै राखेप र एन्फाबीच एन्फाको अर्ली इलेक्सन विषयमा विवाद हुँदा नेपाल र हङकङको पुरुष टोलीबीच दशरथ रंगशालमा तय भएको मैत्रीपूर्ण खेल नै रद्द भएको थियो । त्यसमा राखेपले मैदान उपलब्ध नगराएको एन्फाको आरोप थियो ।

त्यसअघि नै एन्फाले गरेको राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग स्थगित भयो । एन्फाको अर्ली इलेक्सन र राखेप-एन्फा विवाद नै लिग रोकिने मुख्य कारण बन्यो ।

राष्ट्रिय लिग खेलिरहेका पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीले श्रम स्वीकृति नलिई खेलेको भन्दै उजुरी परेपछि अध्यागमन विभागले त्यस्ता खेलाडी सहभागी नगराउन भन्दै एन्फालाई पत्र काट्यो ।

त्यसपछि एन्फाले खेलाडी सहभागी नगराउने मात्र होइन लिग नै स्थगित गरिदियो । त्यसपछि फेरि लिगको खेल हुन सकेको छैन । महिला लिगको जम्मा चार खेल मात्र भएको थियो भने एपीएफको महिला टोलीले त एक खेल पनि खेलेको थिएन ।

यस्तै एन्फाले नेपाल फुटबल खेलाडी संघसँग २०८२ चैत ३० गते शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल गर्ने भनेर गरेको सहमति पनि पुरा हुन पाएन । एन्फा निलम्बनपछि ए डिभिजन लिग पनि अन्योल बन्यो ।

नेपाली फुटबल अहिले शून्यकै स्थितिमा पुगेको छ । अब नेपाली फुटबलको संकटको समाधान कसरी हुन्छ, नेपाली फुटबललाई पुरानै स्थितिमा कसरी फर्काउने र फिफा निलम्बनबाट एन्फालाई कसरी जोगाउने भन् विषयमा बहस गर्दै समाधान निकाल्नु जरुरी छ ।

तर अन्योलमा रहेको नेपाली फुटबललाई ट्रयाकमा ल्याउन कसैलाई चासो छैन । सबै चुनावी अंकगणित र आफू पदमा पुग्ने खेल जस्तै बनेको छ ।

यस्तोमा डेढ महिना बाँकी रहेको साफ महिला च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योलमा परेको छ ।

नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय