+
+
WC Series
Nepal
65/4 (10.3)
VS
UAE
0/0
Shares

अपांंगता महासंघमा अमानवीय व्यवहार : लछारपछार पारियो, बुट बजार्दै ह्विलचियर मिल्काइयो

लछारपछार पारियो, ह्विलचियरमा बुट बजारियो । मान्छे एकातिर, ह्विलचियर अर्कोतिर मिल्काइयो । आत्मसम्मान त टाढाको कुरा पिसाब फेर्न जान्छुभन्दा पनि दिइएन ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ वैशाख ७ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपांगता महासंघ नेपालको १०औं महाधिवेशनमा ह्विलचियर प्रयोगकर्ताहरूमाथि अमानवीय व्यवहार भएको छ।
  • महाधिवेशनमा नेतृत्व चयन विवाद र बल प्रयोग गरी निर्वाचन गरिएको आरोप लागेका छन्।
  • प्रतिनिधिहरूले राज्य संयन्त्र प्रयोग गरी आवाज दबाइएको भन्दै मानव अधिकार आयोगमा उजुरी गर्ने तयारी गरेका छन्।

७ वैशाख, पोखरा । जन्मिएको १८ महिनामै पोलियो भएर दुवै खुट्टा नचल्ने भएपछि हेमबहादुर गुरुङको जिन्दगी २५ वर्षसम्म घिस्रिएरै बित्यो ।

पछिल्लो २५ वर्षयता ह्विलचियरबाट अपांगताको क्षेत्रमा काम गर्दै, अधिकारको लडाईं लड्दै आएका हेमबहादुर अहिलेजति विक्षिप्त कहिल्यै भएका थिएनन् । किनकि, उनले कहिल्यै नभोगेको अमानवीय व्यवहार अहिले आएर भोग्नुपर्‍यो ।

शरीर अझै झम्झमाइरहेको छ । दुखिरहेको छ । त्योभन्दा बढी त उनको मन दुखेको छ । अपांगताको क्षेत्रमा काम गर्ने संस्थाकै नेतृत्वले गरेको दमन सम्झिएर हेमबहादुर भक्कानिन्छन् ।

उनलाई लछारपछार पारियो, ह्विलचियरमा बुट बजारियो । मान्छे एकातिर, ह्विलचियर अर्कोतिर मिल्काइयो । आत्मसम्मान त टाढाको कुरा पिसाब फेर्न जान्छुभन्दा पनि पाएनन् ।

‘अमानवीयताले पराकाष्ठा नाघ्यो । अपांगता भएका मान्छेमाथि बर्बर आक्रमण गरियो । जिन्दगीको ५०औं वर्षमा कहिल्यै नभोगेको अपमान भोगियो । त्यो सम्झिँदा मन भक्कानिन्छ, आँखा रसाउँछ,’ हेमबहादुर भावुक बने ।

यो घटना हो, चैत २८ गतेको । राष्ट्रिय अपांगता महासंघ नेपालको १०औं महाअधिवेशन तथा २३औं साधारण सभा थियो । बुटवलको दरबार लर्न पार्टी प्यालेसमा महासंघमा आवद्ध ४२५ वटा संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

अपांगता महासंघ नेपाल गण्डकीका अध्यक्षसमेत रहेका हेमबहादुर पनि नीतिगत बहस गर्न, अपांगता भएका व्यक्तिहरूको अधिकार र सहभागिताको विषय राख्न, संस्थागत सुधार र चुस्त संगठनका सन्दर्भमा आफ्नो एजेन्डा राखेर सक्षम र सबल नेतृत्व चयन गर्ने योजनासहित महाधिवेशनमा पुगेका थिए । तर उनी संस्थाको २३ वर्षको इतिहासमा कहिल्यै नभोगेको र नदेखेको घटनाको साक्षी मात्रै बनेनन्, अपमानित र अमानवीय व्यवहारको सिकार बनेर फर्किए ।

अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ सुरक्षाकर्मीहरूले ह्विलचियरसहित लछारपछार पारेको, ह्विलचियर मिल्काइएको देखिन्छ । त्यो ह्विलचियरमा बसेका व्यक्ति उनै हेमबहादुर हुन् ।

महासंघ नेपालको महाधिवेशनमा हेमबहादुरलगायत अधिकांश अपांगता भएका व्यक्तिहरूले अमानवीय व्यवहार र नेतृत्वबाट राज्य आतंक सिर्जना गराएको महसुस गरेका छन् । ‘बाउन्सर’ प्रयोग गरेर ह्विलचियर प्रयोगकर्ताहरूलाई लछारपछार गरिएको छ ।

दृष्टिविहीन महिलाहरूमाथिसमेत अमानवीय व्यवहार भएको उनीहरूले बताएका छन् । सेक्युरिटी गार्ड, संस्थाले खडा गरेका भोलेन्टियर र प्रहरीबाट समेत अपांगता भएका व्यक्तिमाथि ज्यादति भएको उनीहरूले बताएका छन् ।

हेमबहादुर, महासंघको एक सदस्य संस्थाका अध्यक्ष दृष्टिविहीन विरोध खतिवडा, सक्षम नेपाल संस्थाका अध्यक्ष न्यून दृष्टि भएका विरुकमल श्रेष्ठ, भोजराज श्रेष्ठ, विमला सदाशंकर जस्ता थुप्रै अपांगता भएका व्यक्तिहरूले संस्थामा विधि र प्रक्रियाको सवाल उठाउँदा राज्य संयन्त्रसमेत प्रयोग गरी आवाज बन्द गराइएको बताइरहेका छन् ।

बल प्रयोग गरेर संस्थालाई अवैधानिक रूपमै ‘हाइज्याक’ गरिएको गुनासो त उनीहरूसँग छ नै, त्योभन्दा बढी दुखेसो र आक्रोस, राज्यको अनदेखाप्रति छ । प्रहरी प्रशासनले उजुरी नलिने र दमन नदेखे जस्तो गरेपछि यो घटनालाई लिएर मानव अधिकार आयोग पुग्ने तयारी उनीहरूले गरेका छन् ।

अपांगता महासंघको महाधिवेशनमा यो अवस्था कसरी सिर्जना भयो त ? गण्डकीका अध्यक्षसमेत रहेका र घटनाका पीडित हेमबहादुर लगायतले अनलाइनखबरसँग विस्तारमा सुनाएका छन् ।

महासंघको महाधिवेशनको उद्घाटन सत्र बुटवलस्थित दरबार लर्न पार्टी प्यालेसमा २७ गते सुरु भएको थियो । महाधिवेशनका प्रमुख अतिथि, गण्डकी प्रदेशसभा सांसद सुनिता थापा थिइन् । महाधिवेशनको सभापतित्व महासंघका अध्यक्ष देवीदत्त आचार्यले गरिरहेका थिए ।

‘महाधिवेशन कहाँ, कहिले गर्ने भन्ने कार्यसमितिमा छलफल भएर तोकिएकै थिएन । एकलौटी ढंगले निर्णय गरिएको र संस्था चलाइएको भन्दै उद्घाटन सत्रदेखि नै प्रतिनिधिहरू असन्तुष्ट देखिन्थे,’ हेमबहादुर त्यो दिनको परिस्थिति सुनाए, ‘देवीदत्त फेरि अध्यक्ष हुन चाहन्थे ।’

अधिकांश प्रतिनिधिको चाहना भने उनको विकल्प खोज्नु थियो । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु भयो । हेमबहादुरका अनुसार बन्दसत्रमा प्रतिवेदन नै अडियो रेकर्डबाट सुनाइयो । महासचिवले प्रगति प्रतिवेदन र आगामी कार्यदिशा प्रस्तुत गर्नुपर्ने थियो । तर उनलाई १ महिना अगाडि नै निलम्बन गरिएको थियो । कोषाध्यक्ष बहिरा अपांगता भएका व्यक्ति कुमार रेग्मीले आर्थिक प्रतिवेदन पनि अडियोबाटै सुनाएको विरुकमल श्रेष्ठको भनाइ छ ।

प्रतिनिधि विरोध खतिवडाले विधि प्रक्रिया मिचेर महाअधिवेशन हुन नसक्ने आवाज उठाए । यो अवैधानिक हो । निर्वाचन अधिकृत पनि कार्यसमितिले तोक्नुपर्नेमा आफैं तोकिएको भन्दै विरोध गरे ।

श्रेष्ठले फर्जी संघसंस्थालाई महासंघमा आवद्ध बनाएर कागजात लुकाएको भन्दै सच्याउन माग गरे । ती संस्थामार्फत भोट आर्जन गर्ने नेतृत्वले योजना बुनेको आरोप उनले लगाए ।

फ्लोरबाट एकपछि अर्को नेतृत्वको विरुद्धमा आवाज उठ्न थाल्यो । त्यसपछि टप नेपाल सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड (बाउन्सर), स्वयंसेवकका रूपमा बहिरा भएका व्यक्ति परिचालन र नेपाल प्रहरी बोलाएर खटाइयो ।

सहभागीलाई बोल्नै दिइएन । बोल्न लिइएको हातको माइक पनि खोसियो । पछि बोल्छु भन्नेलाई माइकसम्म जानै दिइएन । सार्वजनिक भएका भिडियोहरूमा पनि बाउन्सर लेखिएको पोशाक लगाएर युवा र प्रहरी परिचालन गरेर अमानवीय व्यवहार भएको देखिन्छ ।

ठेलमठेल, धकेलाधकेल भयो । भोजराज, विरुकमल लगायतलाई धरपकड गरेर प्रहरीले नियन्त्रणमै लिएको थियो । साँझ हाजिरी भनेर छाडिएको थियो । तर निर्वाचन बिथोलिन्छ भनेर २८ गते पनि दिनभरि राखिएको उनीहरूको गुनासो छ ।

२३ गते साँझ ७ बजेतिर निर्वाचन संयोजक शालिकराम बञ्जाडेसहित समितिका सदस्यले पनि राजीनामा दिएको सूचना आयो । भोलिपल्ट फेरि नयाँ निर्वाचन समिति गठन भएको सूचना जारी गरियो । जोकबहादुर खत्रीको संयोजकत्वमा समिति गठन गरिएको थियो । निर्वाचन समितिकै वैधानिकतामाथि पनि आवाज उठ्यो । हलबाटै निर्णय गरिएको समितिका पदाधिकारीले जवाफ दिए ।

‘हामीले बुझ्दा पुरानो निर्वाचन समितिले राजीनामा दिएका कारण जोकबहादुर खत्रीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको निर्णय गरिएको बुझियो । जुन हलमा छलफलै भएको थिएन र त्यो कीर्ते हो,’ हेमबहादुरले भने, ‘हलमा कुनै एजेन्डामाथि छलफलै हुन पाएन भने निर्वाचन समितिको विषयमा निर्णय हुने कुरै भएन ।’

राजीनामा दिएका निर्वाचन अधिकृत बञ्जाडेले नेतृत्वमाथि अदालतमा पनि मुद्दा छ र कार्यसमिति विवादित बनेको छ भन्ने थाहा पाएपछि जिम्मेवारीबाट निस्किएको अनलाइनखबरसँग बताए । ‘उच्च अदालतमा मुद्दा रहेछ । समिति धेरै विवादित पनि छ भन्ने थाहा पाएपछि उचित नलागेर राजीनामा दिएको हुँ,’ बञ्जाडेले भने, ‘पछि अर्को समिति बनाएर नेतृत्व चुनियो भन्ने थाहा पाएँ ।’

प्रतिनिधिहरूले नेतृत्वको विरोध गर्दै कार्यक्रम हलको गेटमा धर्ना बस्न थाले । त्यहाँ सुुरक्षाकर्मी तैनाथ गरिएको थियो । कार्यक्रम हलनेर मात्रै अपांगतामैत्री शौचालय थियो ।  हेमबहादुर, भोजराज श्रेष्ठलगायत ह्विलचियर प्रयोगकर्ताहरूले शौचालय जान दिन सुरक्षाकर्मीलाई आग्रह गरे । तर माथिको आदेश छ भनेर जान नदिइएको हेमबहादुरको भनाइ छ ।

हिँडडुल गर्न सक्ने मानिसहरू भने भित्र–बाहिर गरिरहेको भन्दै हेमबहादुर लगायतले आपत्ति जनाए । ‘भित्र जान दिइन्न भने हामी गेटमै सौच गर्छौं भनेर भन्यौं । तर माथिको आदेश छ, जान मिल्दैन मात्रै भनियो,’ हेमबहादुरले भने, ‘माथिको आदेशभन्दा पनि हामी अपांगता भएका व्यक्तिहरूको संवेदनशील अवस्था तपाईंहरूले बुझ्नुपर्छ भन्यौं । यत्ति भन्दा पनि नमानेपछि हामी उनीहरूलाई छिचोलेर अगाडि बढ्न खोजेका थियौं । त्यसपछि हामीमाथि बर्बर आक्रमण हुन थाल्यो ।’

त्यसपछि ह्विलचियर प्रयोगकर्ताहरूलाई धकेलाधकेल गर्ने, सुरक्षाकर्मीले नै ह्विलचियरमाथि बुट बजार्ने र मिल्काइदिने काम गरेको उनीहरूको गुनासो छ ।

सार्वजनिक भएको भिडियोमा पनि गेटनेर सुरक्षाकर्मीले ह्विलचियरसहित जुरुक्क उचालेको धकेलाधकेल पारेको देखिन्छ । गेट नजिकै रिसेप्सनमा रहेका कुर्सीमा तेर्सो पारेर थेचारेर सुताइदिएको र ह्विलचियर अर्को कुनातिर मिल्काइदिएको हेमबहादुरले बताए ।

‘यस्तो अमानवीय व्यवहार भयो कि म त अर्थचेत अवस्थामा पुगें । केही सोच्ने अवस्थामै थिइनँ,’ हेमबहादुरले भने, ‘स्वास बढिरहेको थियो, केहीबेर त्यहीँ ढलिरहें । पछि विस्तारै सामान्य अवस्थामा फर्किने कोसिस गर्दै ह्विलचियर मागें, दिइएन । घिस्रिएर ह्विलचियरमा चढें ।’

पार्टी प्यालेसका कर्मचारीको सहयोग मागेर शौचालय गएको हेमबहादुरले बताए । टाउको, ज्यान र पाखुरा दुख्न थालेको र पीडा बढी भएको महसुस हेमबहादुर गरे ।

‘मेरो अस्वाभाविक दुखाइको हाउभाउ देखेपछि सुरक्षाकर्मीका एक जना ठूलै मानिस हुनुपर्छ, उनले सीसीक्यामेरा अगाडि लगेर राख्न आदेश दिए । नजिकै सीसीक्यामेरा रहेनछ । सुरक्षाकर्मी आएर ह्विलचियर धकेलेर पर हलको ढोकामुनि लगियो, जहाँ सीसीक्यामेरा थियो,’ हेमबहादुुर भावुक भने, ‘चर्को घाम लागिरहेको थियो । मलाई हल न चल बनाएर राखियो ।’

महासंघमा देवीदत्तकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । तर अधिकांशले बहिष्कार गरेको र बल प्रयोग गरेर प्रतिनिधिको आवाज दबाएर राज्यसंयन्त्र नै प्रयोग गरेर चुनिएको नेतृत्व स्वीकार्य नहुने उनीहरूको भनाइ छ । तर हिंसा र अमानवीय व्यवहारको उजुरी त नलिइएको राज्यले नेतृत्व चयनको विषयमा छानबिन गर्नेमा भने उनीहरूले शंका व्यक्त गरेका छन् ।

‘राज्य छ र विधि, प्रक्रिया अनि न्याय छ भने घटनाको छानबिन होस् । दोषीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । बल प्रयोग गरेर विधि र प्रक्रिया मिचेर चुनिएको समिति खारेज गरी तदर्थ समिति बनाइयोस् र महाधिवेशनको मिति तोकेर लोकतान्त्रिक हिसाबले निर्वाचन गराइयोस्,’ हेमबहादुरले माग सुनाए, ‘कीर्ते गरेर चुनाव गराउने निर्वाचन समिति पनि कारबाहीको भागिदार छ ।’

महाधिवेशनमा नेतृत्व स्वेच्छाचारी भएको भन्दै धेरैले बहिष्कार गरेर हिँडेको उनले बताए । गण्डकीका १२६ जना प्रतिनिधिमध्ये ८४ जनाले बहिष्कार भनेर हस्ताक्षर नै गरेका छन् र ८ जना अनुपस्थित थिए । तर ४४ जनाको मत खसेको भनिएको र त्यो कीर्ते भएको दाबी हेमबहादुरको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घटनाका विषयमा कोही पनि उजुरी गर्न नआएको प्रतिक्रिया दिए । महासंघ काठमाडौंमा दर्ता भएकाले उतै उजुरी गर्न र प्रहरी केन्द्रीय कार्यालयतिर पनि प्रमाण लिन जान उनले आग्रह गरे ।

‘हाम्रोमा त महाधिवेशनको अनुमति लिन आएका थिए र शान्ति सुरक्षाको माग गरेका थिए । हामीले त्यहीअनुसार प्रहरीलाई जानकारी दियौं,’ पाध्याले भने, ‘अन्याय भएको छ भने कानुनी उपचार खोज्न सक्नुहुन्छ ।’

कानुनी परीक्षण होला, अदालतले नै बोल्ला: अध्यक्ष देवीदत्त

अपांगता महासंघमा पुन: अध्यक्ष निर्वाचित भएका देवीदत्त आचार्यले यो विवादलाई अहिलेको महाधिवेशनसँग मात्रै जोडेर हेर्न नमिल्ने बताए । नवौं महाधिवेशन नेपालगञ्जमा सम्पन्न भएपछि २२ दिनपछि नै प्रशासन, अख्तियार, अदालतलगायत १९३ भन्दा बढी उजुरी गर्दै विवाद झिकिएको उनले बताए ।

गत असारमा १०औं महाधिवेशन सुरुमा मंसिर २६ र २७ गते गर्ने निर्णय भएको उनको भनाइ छ । तर त्यही बेला जेनजी आन्दोलन भएको र जिल्ला प्रशासनका सबै कागजात जलेको उनले बताए । फेरि संस्थाहरूको नवीकरण गरेर चैतको २७ र २८ गते निर्वाचन गर्न मंसिर २५ गते निर्वाचन तालिका सार्वजनिक गरिएको अध्यक्ष आचार्यको भनाइ छ ।

फागुन २५ गतेसम्म संस्थाको नवीकरण गरिसक्ने भनिएकोमा समयमा नगरेर पछि धेरै संस्थाहरू छुटेको भन्दै उजुरी गर्न थालिएको उनले बताए । उनीहरूकै मागअनुसार २४ वटा संस्था बढेर ४२४ पुगेको उनको भनाइ छ । तर पछि अध्यक्षले फर्जी संस्था आबद्ध गरायो भनेर विवाद झिकिएको उनको दाबी छ ।

संस्थाको साधारण सभामै तोडफोड र हुलदंगा भएकाले अहिले सुरक्षाका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको उनको भनाइ छ । ‘संस्थाबाटै सहयोगीका लागि स्वयंसेवक तयार गरिएको हो । तोडफोडबाट तोगाउन बाउन्सरको बन्दोबस्त मिलाइएको हो,’ उनको दाबी छ ।

३०/४० जनाले विरोध गरे भन्दैमा महाधिवेशन नै रोक्न नसकिने तर्क अध्यक्ष आचार्यको छ । कीर्ते प्रतिनिधि बनाएर, कीर्ते भोट हालेर नेतृत्व चुनिएको सन्दर्भमा प्रतिनिधिले कार्ड लिएर गइसकेपछि बहिष्कारको कुनै अर्थ नहुने भनाइ उनको छ ।

‘अहिले पनि अदालतमा ३ वटा रिट छन् । उहाँहरू फेरि पनि न्यायालय जाने भन्नुभएकै छ,’ अध्यक्ष आचार्यले भने, ‘अब कानुनी हिसाबले नै परीक्षण होला, अवैधानिक कि अवैधानिक उसैले भन्ला नि !’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?