+
+
WC Series
Nepal
76/4 (12.5)
VS
UAE
0/0
Shares

सरकारसँग ट्रक व्यवसायीको प्रश्नः अब हाम्रा ट्रक कवाडीमा बेच्ने ? 

सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर उनीहरूले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै आफ्ना गाडीहरू ग्यारेजमै थन्किने र व्यवसाय नै धरापमा पर्ने अवस्था आएको गुनासो गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका ढुवानी व्यवसायीहरूले डिजेलको मूल्यमा भारतसँग ठूलो अन्तर हुँदा प्रतिस्पर्धा गर्न नसकेको भन्दै सरकारसँग सहयोग मागेका छन्।
  • व्यवसायीहरूले नेपालमा डिजेलको मूल्य भारतीय बजारसँग प्रतिस्पर्धात्मक बनाउन र भारतीय सवारीसाधनहरूको अनियन्त्रित आवागमन नियन्त्रण गर्न आग्रह गरेका छन्।
  • ओभरलोड नियन्त्रण कडाइका साथ कार्यान्वयन र स्वदेशी ढुवानी व्यवसायको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न व्यवसायीहरूले माग गरेका छन्।

७ वैशाख, रुपन्देही । नेपाल र भारतबीच डिजेलको मूल्यमा ठूलो अन्तर हुँदा भारतीय मालवाहक गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै रुपन्देहीका ढुवानी (ट्रक) व्यवसायीहरूले सरकारसँग गुहार मागेका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर उनीहरूले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै आफ्ना गाडीहरू ग्यारेजमै थन्किने र व्यवसाय नै धरापमा पर्ने अवस्था आएको गुनासो गरेका हुन्। ट्रक व्यवसायी पंकज राईको नेतृत्वमा प्रशासन पुगेका व्यवसायीहरूले भारतमा उपलब्ध सस्तो इन्धन प्रयोग गरेर भारतीय गाडीहरूले नेपालका कुनाकाप्चासम्म निर्वाध ढुवानी गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिलिटर ९५ रुपैयाँको अन्तर

व्यवसायी राईका अनुसार हाल नेपालमा डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ छ भने भारतमा ८८.८२ भारू (अर्थात् नेपाली १४२.११ रुपैयाँ) मात्र पर्छ। प्रतिलिटर झन्डै ९५ रुपैयाँको भारी अन्तरका कारण नेपाली गाडीले भारतीय गाडीसँग ढुवानी भाडामा प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आएको उनले बताए।

‘यही सस्तो इन्धन हालेर भारतीय गाडीले नेपालको हरेक भूभागमा लोड बोकेर गइरहेका छन्। ९५ रुपैयाँ फरक परेपछि हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन, त्यसमाथि उनीहरूले मापदण्डविपरीत ओभरलोड बोकेर हिँडिरहेका छन्,’ राईले आक्रोश पोख्दै भने, ‘भारतीय गाडी नरोक्ने र डिजेलको मूल्य समायोजन नगर्ने हो भने नेपाली गाडी अहिले नै कवाडीमा लगेर बेचे हुन्छ।’

सस्तो इन्धनको फाइदा उठाउँदै भारतीय गाडीहरूले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको र ओभरलोडका कारण देशको सडक संरचनामा समेत गम्भीर क्षति पुगेको ज्ञापनपत्रमा उल्लेख छ। भन्सार नाकाको रेकर्ड बुक हेर्ने हो भने पनि नेपालभित्र कति धेरै भारतीय गाडीहरू आवागमन गरिरहेका छन् भन्ने छर्लङ्ग हुने दाबी व्यवसायीहरूको छ।

व्यवसायीका ४ बुँदे माग

व्यवसायीहरूले स्वदेशी ढुवानी व्यवसायको संरक्षणका लागि तत्काल कदम चाल्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ४ बुँदे सर्त राखेका छन् । विज्ञप्तिका अनुसार, नेपालमा डिजेलको मूल्यलाई भारतीय बजारसँग प्रतिस्पर्धात्मक बनाउने गरी यथाशीघ्र समायोजन गर्न र भारतीय सवारीसाधनहरूको अनियन्त्रित आवागमन तथा नेपालभित्रको ढुवानी गतिविधिमा प्रभावकारी नियमन गर्न व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।

भारतीय गाडीले गर्ने ओभरलोड नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न र स्वदेशी ढुवानी व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि व्यवसायीहरूले माग गरेका छन् ।

अहिलेकै अवस्था लम्बिएमा निकट भविष्यमै व्यवसाय परित्याग गर्नुपर्ने अवस्था आउने चेतावनी दिँदै उनीहरूले यस विषयमा शीघ्र र प्रभावकारी पहल गरिदिन प्रशासनसँग अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?