News Summary
Generated by OK AI. Editorially reviewed.- गुरुप्रसाद मैनालीको कथा 'परालको आगो'मा आधारित फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ जसमा प्रकाश सपुत र सुहाना थापाले मुख्य भूमिका निर्वाह गरेका छन्।
- फिल्मले महिला हिंसाको विषयलाई न्याय दिएको छ र आजको समाजसँग मिल्दोजुल्दो संवेदना प्रस्तुत गरेको छ भनी कलाकारहरूले बताएका छन्।
- प्रकाश सपुतले अभिनय र संगीत करिअर अघि बढाउने योजना बनाएका छन् भने सुहाना थापाले प्रेममा सरेन्डर गर्ने पात्र गर्न चाहेको बताएकी छन्।
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित सोही नामको फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । लक्ष्मण सुनार निर्देशित फिल्ममा प्रकाश सपुतले ‘चामे’ र सुहाना थापाले ‘गौंथली’ पात्रको भूमिका निर्वाह गरेका छन् । पहिलेदेखि पढ्दै आएको कथामाथिको फिल्ममा अभिनय गर्दा यी दुई कलाकारले उत्साह समेत ब्यक्त गरे ।
अनलाइनखबरकर्मी विष्णु शर्मासँगको कुराकानीमा यी दुई जना कलाकारले पात्र, आयाम, अभिनय अनुभवसहितका पक्षमा कुराकानी गरेका छन् । सपुतले अब संगीत र अभिनय करिअरलाई अघि बढाउने बताएका छन् । सुहानाले चाहिँ, आफूलाई डिज्नीको राजकुमारीजस्तो रोमान्टिक पात्रमा देखिन मन लागेको बताएकी छन् ।
‘परालको आगो’ ले पुस्तकलाई न्याय गरेजस्तो लाग्छ ?
प्रकाश सपुत– कहिलेकाहिँ मलाई किताब असाध्यै प्रिय हो । कुनै किताबको आयतन फराकिलो हुन्छ भन्ने जस्तो लाग्छ पढ्दा पनि । कुनै कुनै चलचित्र हेर्दा किताबमा जसरी भनिएको हुन्छ, त्यो भन्दा पनि सुन्दर तरिकाले देखाइएको हुन्छ । धन ठूलो कि विद्या ठूलो भनेजस्तै, मेरो दिमागमा कहिलेकाहिँ धन ठूलो कि विद्या ठूलो भनेजस्तै त्यो द्वन्द्व चलिरहन्छ । कहिलेकाहिँ लेखिएका पुस्तक पढेको छु । सिनेमा हेरेको छु भने सिनेमा चित्त बुझ्दैन । ‘परालको आगो’को सन्दर्भमा पनि, किताबमा पनि सरल तरिकाले लेखिएको छ । विम्व छन्, घटनाक्रम छन् । साहित्यको ओजन पनि यसले बोकेको छ । दृश्यमा ढाल्न पनि सहज तरिकाले लेखिएको छ जस्तो लाग्छ । प्राविधिकरुपमा अझै सुन्दर बनेजस्तो लाग्छ ।
सुहाना थापा- मलाई लाग्छ, यो फिल्मले उहाँले लेख्नुभएका शब्दमा जुन नियत थियो महिला हिंसाको बारेमा शतप्रतिशत न्याय दिएको छ । उहाँले सोचेकै कुराभन्दा बाहिर नगइकन फिल्म बनाएका छौं ।
‘परालको आगो’को कथा अहिलेको समाजसँग कति मिल्दोजुल्दो छ ?
प्रकाश सपुत- समाज भनेको राज्य व्यवस्थासँग जोडिने कुरा हो । नेपालमा राजनीतिक परिवर्तन भएपनि, ‘मुनामदन’ आज पनि हामीलाई उत्तिकै सान्दर्भिक लाग्छ । किनभने, आज पनि धन कमाउन मान्छे परदेश गएकै छन् । आज पनि परिवार छोड्नु परेकै छ । अलिकति शैली परिवर्तन भए होला । ठाउँ परिवर्तन भए होला । तर, त्यो संवेदना उस्तै छ । घर छाडेर अरब जाने मान्छेको मनोविज्ञान र लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘मुनामदन’मा छुट्टिँदाको मनोविज्ञान त एउटै हो नि त । संवेदना र वियोग त एउटै हो नि त । आज हामीले बाँचिरहेको जीवनशैली, भोगिरहेको विभेद, आजको घरेलु हिंसा फरक पृष्ठभूमिको हुनसक्ला तर, तिनले बोकेको मर्म र संवेदना आज पनि उस्तै छ । आज पनि उत्तिकै रिलेट गर्छ । गाउँतिर जाने हो भने, ‘परालको आगो’को पृष्ठभूमि आज पनि छ ।
सुहाना थापा- अहिलेका दर्शकले पनि यस्तो कुरा हजुरबा र हजुरआमाबाट सुन्दै आउनुभएको छ । पक्कै पनि, दर्शकले यो फिल्म हेरेपछि पहिलेको पुस्ताका महिलालाई सम्झनुहुन्छ जस्तो लाग्छ ।

मानसिक र भौतिकरुपमा पात्रमा डुब्न आफूलाई कसरी तयार पार्नुभयो ?
प्रकाश सपुत- यो कथा पहिलेदेखि पढिराखेका छौं । तपाईं हामी जहाँ जन्मियौं, हुर्कियौं त्यहाँ चामेजस्ता क्यारेक्टर देखिराखेको पनि । समयको हिसाबले पनि आजभन्दा २०-३० वर्षअघिको समाजको र त्यो समयका पुरुषको जुन मनोविज्ञान छ, त्यो देख्दै आइरहेका हौं । यसले गर्दा, चामेलाई बुझ्न मलाई समस्या भएन । समस्या कहाँनेर भयो भने, त्यसलाई प्रस्तुत गर्न मलाई अलिकति समस्या भयो । किनभने, घरिघरि प्रकाशभित्रको मानवता निस्किरहन्थ्यो । चामे अलि हिंसात्मक नै छ । त्यतिसम्म प्रकाश छैन । कहिलेकाहिँ प्राविधिकरुपमा मलाई त्यो काम गर्न गाह्रो हुन्थ्यो । मैले उहाँहरूलाई हानिरहँदा कतै लाग्ने पो हो कि भन्ने डर ।
सुहाना थापा– म आफै पनि मनोविज्ञान अध्ययन गर्ने भएर होला । मसँग घरेलु हिंसा भोगेकाको पीडा कस्तो हुन्छ भन्ने एक किसिमको लेयर र ग्राफ त थियो । गौंथलीलाई बुझ्न मलाई झन्डै १ वर्ष टाइम दिनुभएको थियो । मैले उसलाई आन्तरिक बुझ्न खोजेँ । म धेरै टाढा पनि जानुपरेन । यो हाम्रो समाजमा भैरहेको र सुनिरहेको घटना पनि हो । हजुरबुवा, जिजुमुवाहरूले भोग्दै आउनुभएको कथा हो । त्यसको असर अहिले मेरो पुस्तासम्म आइपुग्दासम्म छ ।
डिजिटल संसारमा अहिले पनि शतप्रतिशत महिला सुरक्षित छन् भन्न सकेका छैनौं । मलाई गौंथलीलाई बुझ्न १ वर्ष लाग्यो तर यो सजिलो थियो । भौतिकरुपमा मलाई रमाइलै लाग्थ्यो । आफै गाग्रीको पानी बोक्ने गर्थें । म्याग्दीको धारापानीमा पनि म पहिल्यै पुगेर गाउँले परिवेशमा डुबेँ, घाँस काट्न सिकेँ । भैंसीहरूलाई चराउन सिकेँ । दूध दुहुने काम चाहिँ गर्न पाइन किनभने भैंसीले हान्छ कि भनेर सबै डराउनुभएको थियो ।
तपाईंको करिअरमा ‘परालको आगो’ को स्थान कहाँनेर हुन्छ र किन ?
प्रकाश सपुत- त्यस्तो स्थान भनेर भन्न नमिल्ला । आफूले गरेका सबै कामलाई मनैदेखि गरिएको हुन्छ । एउटा अभिनेताको रुपमा धेरै अघि लेखिएको र पढिएको पात्र चामेको भूमिका निर्वाह गर्दा मेरो लागि विशेष छ । म सिनेमामा सुरुवातमा आउँदा, चामे बन्छु भनेर आएको होइन । म चाहिँ कोट लाएर डाँडामा गएर हिरोइनसँग नाच्ने भन्ने उद्देश्यले नै सिनेमामा आएको खासमा । मैले जुन समयमा सिनेमा हेर्थेँ, सिनेमालाई त्यसरी नै बुझ्थे मैले । मलाई हिरोइज्म मनपथ्र्यो । योसम्म आइपुग्दा मेरो सिनेमाको बुझाइ नै फरक भैसकेको छ र मैले चामेजस्ता क्यारेक्टर गर्न पाएको छु । यसकारण, अनुभवको हिसाबले पनि चामे गर्न पाउनु मेरो लागि राम्रो अनुभव हो ।
ड्रिम क्यारेक्टर केही छ ?
प्रकाश सपुत- मैले अनलाइखबरसँग पहिला पनि भनेको थिएँ । मलाई राजा हुन मन छ । गतवर्ष एउटा आइडिया सेयर भएको थियो । एउटा सिनेमा चाहिँ बन्दैछ । त्यसको नाम चाहिँ नभनौं । मैले जुन किसिमको राजा बन्छु भनेको थिएँ, त्यो चाहिँ थिएन कथामा, त्यही भएर मैले त्यो गरिन । हाँँस्दै…अब आफै लेख्नु पर्लाजस्तो छ । लामो हाँसो…किनभने बाहिरबाट हेर्दा म कुनै एंगलबाट राजा देखिन्न होला ।
सुहानाको अभिनय करिअरमा ‘परालको आगो’ले के अर्थ राख्छ ?
सुहाना थापा- मलाई लाग्छ, हरेक कलाकारको एउटा ग्राफ हुन्छ । मेरो ग्राफमा चाहिँ एउटा साहित्यिक पुस्तकमा आधारित फिल्मको पात्र निर्वाह गर्न पाउनु मेरो लागि एउटा उपलब्धि नै हो । म बच्चैदेखि धेरै पश्चिमा साहित्यका पुस्तक पढ्थेँ । ती पढ्दा पनि एकदमै उत्साहित हुन्थेँ । साहित्यिक पुस्तकमा आधारित फिल्ममा काम गर्न पाउनु मेरा लागि सानैदेखिको सपना पूरा भएको पनि हो । अब अर्को चाहिँ प्रेममा सरेन्डर गर्ने खालको हुन्छ नि, त्यस्तो पात्र गर्न मन छ ।

कुन आगो समाज र देशका लागि हानीकारक हुन्छ ? परालको आगो कि भुसको आगो ?
प्रकाश सपुत– भ्रष्टाचारको आगो ! आगो-पानी संसारका लागि जति आवश्यक छन् नि, उत्तिकै खतरनाक पनि छन् । यसको सन्तुलन हुनुपर्छ जस्तो लाग्छ । मलाई लाग्छ, आगोलाई कसरी हेर्ने भन्ने हो । भुसको आगो लामो समय रहिरहन्छ । केही नराम्रो छ भने आगो चाँडै निभ्नुपर्छ । पञ्चतत्वबीच सन्तुलन हुनुपर्छ ।
सह-अभिनेत्रीको रुपमा सुहाना थापालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
प्रकाश सपुत- पहिलो कुरा त उहाँको ‘ब्लडलाइन’ मा सिनेमा छ । उहाँले पढेको पनि साइकोलोजी । त्यो भनेपछि पक्कै पनि पात्रलाई अवलोकन गर्ने, मनोविज्ञान बुझ्ने भन्ने विषय नै हो । यस्तो मान्छेलाई आफ्नो बारेमा थाहा हुँदैन, अरुको बारेमा थाहा हुन्छ । जसले अरुको बारेमा बुझ्न सक्छ, त्यो मान्छेले अरुलाई महसुस गर्न सक्छ । उहाँको रुचि भएपनि, नभएपनि उहाँ अभिनेत्री बन्न नै जन्मिनुभएको हो जस्तो लाग्छ ।
यसपछि, पात्रलाई लिएर गौंथलीसँग त उहाँको पर परसम्मको साइनो पनि थिएन । उहाँ जहाँ जन्मिनुभयो, हुर्किनुभयो । पढेका हिसाबले पात्रले भोगेका कुरा, विषय त थाहा होला तर, भौतिकरुपमा उहाँले गाउँमा गएर घाँस काट्नुभयो, गोबर सोहर्नुभयो । एउटा कलाकारको रुपमा उहाँको मिहेनत र रुचि देखिन्छ । व्यक्तिगतरुपमा, उहाँले समयलाई बुझेको मान्छे । परिपक्व र राम्रो मान्छे ।
सुहाना थापा- पहिलो चोटी प्रकाशजीले फिल्म साइन गर्दा, उहाँले तपाईंसँग काम गर्न एकदम मजा आउँछ भन्नुभएको थियो । किन भन्दा, उहाँ एकदमै क्रिएटिभ हुनुहुन्छ । त्यो त हामीले देखिरहेका छौं । सुरुमा हाम्रो कुराकानी हुँदा– गौंथली र चामे किन्न भन्ने सन्दर्भमा थियो । किन मुख्य प्रश्न थियो भने, उहाँ आफैमा सोसल एक्टिभिटी गर्दै हिँड्ने मान्छे । त्यो सुन्दा, उहाँले दायित्व बोकेको मान्छे जस्तै लाग्यो । उहाँलाई देशको पनि उत्तिकै चिन्ता लाग्छ, परिवारको पनि चिन्ता लाग्छ । उहाँ पूर्णरुपमा आर्टिस्ट प्याकेज हुनुहुन्छ ।
तपाईं यसबीचमा राजनीतिमा आउन खोज्नुभयो । परिस्थितीले त्यो साथ दिएन । अब कसरी अघि बढ्नुहुन्छ ?
प्रकाश सपुत- मेरो जीवनप्रतिको बुझाइलाई एकदमै सरल भन्ने कि कम्प्लिकेटेड भन्ने । जीवनमा रङहरू थप्नुपर्छ भन्ने चाहिँ मेरो सिम्पल फर्मुला थियो सुरुवातमा । मानिसले म कुनै कुरामा सफल भैसकेपछि, त्यो कामबाट चाँडै अघाउने वा बोर भयो भन्ने हुने । गायन गरिरहँदा पनि अब के छ त बाँकी गीत गाउनलाई भन्ने हुने । सबै ठाउँमा त पुगिसकेँ भन्ने हुने । अब चाहिँ मैले सिनेमा ट्राई गर्दा हुन्छ भनेर सिनेमा ट्राइ पनि गरियो ।
राजनीतिसम्म आइपुग्दा, त्यसमा फरक थियो । कहिँ न कहिँ आमजनतामा यो परिवर्तनको असर पुग्या थियो । यसको असर मसम्म यस्तो पुग्यो कि, मैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने थियो । त्यहाँ नभएपछि हामीले आफ्नो कामलाई राम्रोसँग गर्न सक्यौं भने, त्यो नै समाज र देशको लागि अतुलनीय योगदान हुन जस्तो लाग्छ । हामी सबैले आफ्नो क्षेत्रको कामलाई उत्कृष्ट गर्न सक्नुपर्छ । त्यो समाज र देशको लागि योगदान हुन्छ जस्तो लाग्छ । जीवनमा रङहरू थप्ने बहानामा धेरै जटिल नबनाउने भन्ने लाग्छ । परालको आगो सकियोस् अनि गीत पनि ल्याउँछु ।
प्रतिक्रिया 4