News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परालको आगो' को गीत 'उडि जाऊँ भने म पंक्षी होइन' युट्युबमा ६ दिनमा ११ लाखभन्दा बढी भ्यूज पाएको छ।
- गीतमा प्रकाश सपुत र सुहाना थापाले अभिनय गरेका छन् र यसले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ।
- पुरानो कालजयी गीतलाई पुनः एरेन्ज गरी सार्वजनिक गरिएको यस गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन्।
काठमाडौं । फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । रिल्स र टिकटकमा पनि यसमाथि सयौं भिडियो बनिरहेका छन् ।
अरुणा लामाको कालजयी गीतलाई पुनः एरेन्ज गर्दै यसैसाता सार्वजनिक गरिएको थियो । ६ दिनअघि सोमबार सार्वजनिक गीतलाई अहिलेसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ ।
गीतले दैनिक २ लाख भ्यूज पाइरहेको यसका निर्माताले जनाएका छन् । यसले प्रतिक्रिया पनि सकारात्मक पाइरहेको देखिन्छ । गीतमा प्रकाश सपुत र सुहाना थापाले अभिनय गरेका छन् ।
एक कमेन्टकर्ताले अभिनेत्री थापाको प्रशंसा गरेकी छन् । सुहानाले लगाएको पहिरनको उनले प्रशंसा गरेकी छन् । अर्का कमेन्टकर्ताले यसमा अभिनय गरेका दुवैजना कलाकारको प्रशंसा गरेका छन् ।
उनले त सुहाना र प्रकाशको आफू प्रशंसक भएको उल्लेख गरेका छन् । लेख्छन्, ‘सुहाना थापा र प्रकाश सपुतका फ्यान यता आउनुहोला ।’
अर्की एक कमेन्टकर्ताले अभिनेत्री थापाको प्रशंसा गरेकी छन् । उनले यो गीत जति सुनेपछि सुनिरहूँ त्यति सुनिरहूँ लाग्ने यो कस्तो सङ होला भनेर प्रश्न गरेकी छन्। । लेख्छिन्, ‘जति सुने पनि सुनिरहनु मन लाग्ने यो कस्तो सङ होला ?’
४५ वर्षअघि निर्माण भएको फिल्म ‘परालको आगो’को रिलिजका समयमा पनि यो गीत उत्तिकै चर्चामा थियो । यो गीतको मिठास र सन्दर्भलाई अहिले पनि दर्शक र श्रोताले रुचाइरहेको देखिन्छ ।
निर्माता सुशील पोखरेल गीतको चर्चा र प्रशंसाले उत्साहित देखिए । गीतलाई एघार लाखभन्दा बढि पटक हेरिएको भन्दै उनले सामाजिक सञ्जालमा खुसी साटेका छन् ।
पुरानो कालजयी गीतलाई पुनः रेकर्डमार्फत दर्शकमाझ ल्याएकोमा संगीतकार शान्ती ठटाल पनि उत्साहित छिन् । गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । यसमा निशु शर्माको स्वर छ । एरेन्ज विनोद भुजेलको छ ।
गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँको अभिनय छ ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित फिल्मको पटकथा र संवाद सुशील देवकोटाले लेखेका हुन् । निर्देशक लक्ष्मण सुनार हुन् ।
प्रतिक्रिया 4