+
+
Shares

किन आवश्यक भयो पुष्पलाल मार्क्सवादी विश्वविद्यालय ?

ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन अध्ययन अध्यापन गरी नयाँ विश्वदृष्टिकोण निर्माण गर्न सक्ने शैक्षिक जनशक्ति तयार पार्नु पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको मूल ध्येय हो ।

अशोक सुवेदी अशोक सुवेदी
२०८३ वैशाख ९ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापना गरी २०८२ साल चैत २४ गते रामेछापको भँगेरीबाट मार्क्सवादी अध्ययन आरम्भ गरिएको छ।
  • विश्वविद्यालयले मार्क्सवाद, लेनिनवाद र माओवादको वैज्ञानिक अध्ययन र क्रान्तिकारी प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।
  • पहिलो ब्याचमा ३० विद्यार्थी सहभागी थिए र दीक्षान्त समारोहमा पूर्वगभर्नर क्षेत्री, दर्शनशास्त्री सुदर्शन लगायतले दीक्षित गरेका थिए।

आरम्भ

मार्क्सवादले प्रक्षेपण गरेको वैज्ञानिक समाजवाद र साम्यवाद कुनै हवाईकल्पना हो कि यथार्थ ? मार्क्सवादको जन्म भएको पौने दुई सय वर्षसम्म पनि बहस जारी छ । यो बहसलाई तथ्य र तर्कद्वारा प्रमाणित गर्नु आज मार्क्सवादी अध्येता र प्रयोगकर्ताका सामुन्ने जिम्मेवारी बनेर आएको छ ।

जर्मन दार्शनिक एवम् विश्वसर्वहारा वर्गका गुरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा युरोपमा कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए । उनीहरूले घोषणापत्रमा भनेका थिए: कम्युनिज्म स्वयम् एउटा शक्ति हो भन्ने कुरालाई सबै युरोपेली शक्तिहरूले मानेका छन् । कम्युनिस्टहरूले सारा संसारका सामु खुलमखुला आफ्ना विचार, उद्देश्य र प्रवृत्तिहरूलाई प्रकट गर्ने र पार्टीको घोषणापत्रद्वारा कम्युनिज्मको भूतसम्बन्धी दन्त्यकथालाई खतम पार्नुपर्ने बेला अब आइसकेको छ ।

मार्क्स–एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, पृ. १

कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएको पौने दुई सय वर्षपछि नेपालबाट मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव गरिएको छ र यसको साङ्केतिक उद्घाटन नेपालमा मार्क्सवादका प्रचारकर्ता, सङ्गठक र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपालका प्रथम विद्यार्थी शहीद गङ्गालाल श्रेष्ठको जन्मस्थल रामेछापको भँगेरीबाट गरिएको छ । २० वर्षअघि मार्क्सवादी साहित्य प्रतिष्ठान, रामेछाप साहित्य प्रतिष्ठान र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको पहलमा यो अभियान आरम्भ गरिएको थियो ।

पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दीका अवसरमा २०८०–२०८१ बाट मूर्त रूपमा अघि बढेको यो अवधारणा नेपालका प्राय: सम्पूर्ण कम्युनिस्ट पार्टीको सहभागितामा कयौँ गोष्ठी, छलफल, बहस र ऐक्यबद्धतापछि २०८२ साल चैत २४ गते ३७ औँ जनआन्दोलन दिवसको दिन मूर्त रूपमा विश्वविद्यालय घोषणा र पठनपाठन आरम्भ गर्ने अवस्थासम्म पुगेको छ । यस आलेखमा मार्क्सवादको भविष्य र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका सम्बन्धमा नेपालका मार्क्सवादी बौद्धिकहरूले यसअघि विभिन्न सन्दर्भमा प्रकट गरेका विचार र धारणाहरूलाई आधार बनाएर तथ्यद्वारा सत्य प्रमाणित गर्ने प्रयास गरिएको छ ।

उठान

मार्क्सवाद सिर्जनशील समाज विज्ञान हो । समाज विकास र सामाजिक अन्तरविरोधहरूको विकासअनुसार यसको प्रयोग र विकास भइरहन्छ । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ त्सेतुङ, किम इल सुङ, हो ची मिन्ह, फिडेल क्यास्ट्रो, चे ग्वेभारा, गोन्जालो, चारु मजुमदारलगायत दार्शनिक, विचारक, योद्धा, राजनीतिककर्मीहरूले मार्क्सवादको विकास र प्रयोग गरेको पाइन्छ । लेनिनले रुसमा अक्टोबर क्रान्ति सम्पन्न गरेर त्यो व्यापक बन्दै गएपछि लेनिनवादको स्थापना, माओ त्सेतुङले चीनमा जनवादी क्रान्ति सम्पन्न गरेपछि माओवादको विकास र कोरियामा किम इल सुङले कोरियाली क्रान्तिमा विजय हासिल गरी समाजवादी सत्ता स्थापना गरेपछि आत्मनिर्भरतामा आधारित जुछे विचारधाराको विकास भएको पाइन्छ यद्यपि हाल जनगणतन्त्र कोरियाले किम इल सुङवाद र किम जोङ इलवाद प्रस्ताव गरिसकेको छ ।

मार्क्सवादको अध्ययनबेगर आम मानिसलाई यथार्थ पत्ता लगाउन मुस्किल बन्दै गएको छ । यसै रिक्ततालाई चिर्न पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अघि सारिएको हो ।

मार्क्सवादी अध्येताहरूका अनुसार मार्क्सवादी साम्यवाद कुनै कोरा पन्थवाद होइन, यो त सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शन गर्ने एउटा क्रान्तिकारी सिद्धान्त हो । यसको महत्व खालि सिद्धान्त हुनुमा मात्र छैन, व्यावहारिक प्रयोगका सन्दर्भमा नै छ । नेपालका माओवादी नेता एवम् मार्क्सवादी दर्शनशास्त्री मोहन वैद्य ‘किरण’ का अनुसार सर्वहारा क्रान्तिको विशाल प्रयोगशालाका भण्डारहरूबाट अनेकौँ सकारात्मक र नकारात्मक अनुभव एव्म शिक्षाहरू लिँदै मार्क्सवाद विकसित र समृद्ध हुँदै जान्छ अनि आफ्नो परिपक्व उमेरमा यसले यो संसारबाट समग्र प्रतिक्रियावादी वर्ग र उसको विचारधारा तथा संस्कृतिलाई समेत विनाशको दुनियाँतिर धकेलिदिन्छ ।

इतिहास

नेपालमा पुष्पलालको पहलमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । पुष्पलाललाई पार्टी स्थापना गर्न निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीले संस्थापक सदस्यका रूपमा साथ दिएका थिए । पछि मोतीदेवी श्रेष्ठ पनि संलग्न भइन् । त्यतिबेला नेपालमा राणाशासन थियो र जनतालाई बोल्ने, लेखपढ गर्ने, सभासम्मेलन गर्ने र सङ्गठन गर्ने स्वतन्त्रता थिएन । कम्युनिस्ट पार्टी स्थापना भएर पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र पर्चा जारी गरेपछि श्रमिक किसान मजदुर र सर्वहारा वर्गलाई क्रमश: आफ्ना हकअधिकारका बारेमा जानकारी भयो र उनीहरू सङ्गठित र आन्दोलित हुँदै गए ।

फलस्वरूप कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालमा धेरै सङ्घर्ष र क्रान्तिहरू भए तर ती निर्णायक अवस्थामा पुगेपछि पूर्ण रूपमा विजयी नहुँदै सम्झौतामा टुङ्ग्याइए । क्रान्ति सम्पन्न गर्न मालेमाको विकसित कार्यदिशा र श्रमजीवी सर्वहारा वर्गको इमानदार र त्यागी नेतृत्वको अभाव खड्कियो । अध्ययन, चिन्तनको स्कुलिङ समाप्त भएर पद, पैसा, शक्ति, सत्ताकेन्द्रीत राजनीतिले कम्युनिस्ट नेतृत्व र जनमत क्रमश: भ्रष्टीकरण र कमजोर हुँदै गयो । एक समय दुई तिहाइ जनमत रहेको मानिने कम्युनिस्ट सङ्ख्या यतिबेला चौथाइबाट पनि तल झर्‍यो ।

यद्यपि क्रान्तिकारी कम्युनिस्ट धाराहरू आफूलाई पुनर्सङ्गठित र ध्रुवीकृत गर्दै क्रान्ति सम्पन्न गर्ने बाटोमा लागेकै छन् तर पनि कम्युनिस्ट विरोधी शक्तिहरू भने नेपालबाट कम्युनिस्ट विचार मासिँदै गएको भाष्य निर्माण गर्ने षड्यन्त्र गरिरहेका छन् । समाजमा वर्गको ठाउँ उमेरसमूह र जातिवादले लिने खतरा बढ्दै गयो । धर्मको राजनीति फस्टाउँदै गयो । यी षड्यन्त्र र विभ्रमहरूलाई चिर्न, वर्गसमाज रहेसम्म वर्गसङ्घर्ष अनिवार्य रहेको मार्क्सवाद वा मालेमाको एक मात्र सत्यलाई स्थापित गर्न मार्क्सवादी विश्वविद्यालयको अपरिहार्यता खड्किएपछि पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महाअभियान अघि बढेको हो ।

मार्क्सवाद सिर्जनशील समाज विज्ञान हो । समाज विकास र सामाजिक अन्तरविरोधहरूको विकासअनुसार यसको प्रयोग र विकास भइरहन्छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना र कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पार्नुअघि नै संस्थापक पुष्पलालले भनेका थिए– प्रत्येक नयाँ र क्रान्तिकारी विचारधाराको उत्पत्ति त्यस समयको समाजको आर्थिक परिस्थितिबाट पैदा हुन्छ । त्यसको आधार पहिलेका सबै विचारहरू र सिद्धान्तहरूको त्यस बखतसम्मको विकास हुन्छ ।

पुष्पलाल, मार्क्स–एङ्गेल्स लिखित कम्युनिस्ट घोषणापत्रको अनुवादकीय भूमिका ।

नेपालको कम्युनिस्ट आन्दोलनका अध्येता डा. सुरेन्द्र केसीका अनुसार मार्क्सवादको जन्म कुनै अलौकिक विषय थिएन बरु यो विश्व समाज विकासको विशिष्ट उपजका रूपमा देखा परेको थियो । समाजवाद र साम्यवाद : क्रान्तिद्वारा राज्यसत्तामाथि विपन्न वर्गको आधिपत्य तथा उत्पादनका साधनहरूको सामाजिकीकरणपश्चात् स्थापित हुने समाज व्यवस्था नै समाजवाद हो र यसको विशिष्ट रूपचाहिँ समतामूलक वर्गविहीन साम्यवादी समाज हो ।

डा. सुरेन्द्र केसी, नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास, साम्यवादको सङ्क्षिप्त ऐतिहासिक पृष्ठभूमि, विद्यार्थी पुस्तक भण्डार, २०५६, पृ. १० ।

वर्गविहीन समाजको निर्माण गर्ने उच्च आदर्श बोकेर हिँडेका कम्युनिस्ट पार्टी र नेताहरू हेर्दाहेर्दै कसरी कमजोर बन्दै र ढल्दै गए ? वर्गसङ्घर्षद्वारा स्थापित समाजवादको स्वरूपमा किन परिवर्तन गरियो ? यसमा मार्क्सवाद वा मालेमाको विकासमा समस्या हो वा नेतृत्वको बुर्जुवाकरण हुनुमा, दर्शन र सिद्धान्तमा सीमा थियो ? अथवा उनीहरूको वर्गउत्थानको उद्देश्यमा ? यसको गहन संश्लेषण गर्न र यसको छिनोफानो गर्न एउटै साझा मार्क्सवाद (मालेमा) अध्ययन गरेर लागू गर्नु आवश्यक भएकाले मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव कार्यान्वयनमा आएको हो ।

मार्क्सवाद सबै किसिमका शोषण, दोहन र उत्पीडनविरुद्ध स्वतन्त्रता पक्षधर विचार हो । मालेमाको विकास स्वतन्त्रता, समानता र मुक्ति प्राप्तिका अनुभव र ती अनुभव प्राप्तिका क्रममा विकसित विचारको संश्लेषणबाट भएको हो । नेपालमा राणाशासनको चङ्गुलबाट मुक्ति प्राप्त गर्न मार्क्सवादी विचारको प्रचारका क्रममा पुष्पलालले भनेका थिए :

प्रत्येक नयाँ र क्रान्तिकारी विचारधाराको उत्पत्ति त्यस समयको समाजको आर्थिक परिस्थितिबाट पैदा हुन्छ । त्यसको आधार पहिलेका सबै विचारहरू र सिद्धान्तहरूको त्यस बखतसम्मको विकास हुन्छ ।

कम्युनिस्ट घोषणापत्रको अनुवाद र पार्टी घोषणापछि जारी पर्चाबाट ।

पुष्पलालले पार्टी स्थापना गर्दा नै यसका लक्ष्य र उद्देश्यहरू स्पष्ट पारेका थिए । शोषक वर्गका विरुद्ध उनले तीव्र घृणा प्रकट गरेका थिए भने किसान, मजदुर, महिला, न्यून वेतनभोगी कर्मचारी, देशभक्त उद्योगीप्रति ठूलो भर र विश्वास गरेका थिए । उनले कम्युनिस्ट घोषणापत्रमै भनेका थिए :

नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने र त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्छ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क वा भूmटो प्रचारले पनि विचलित पार्न सक्नेछैन । अन्य पुँजीवादी तथा निम्नपुँजीवादी पार्टीहरूले पहिले जनताप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहनेछन् ।

क्रान्तिको विज्ञानका रूपमा मार्क्सवाद विश्वक्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ । आफ्नो जन्म भएदेखि यो जति विश्वव्यापी रूपमा फैलिएको छ त्यति अरू कुनै विचारधारा फैलिएको छैन ।

तर नेपाल कम्युनिस्ट पार्टी, मजदुर वर्गको पार्टी, मार्क्सवाद–लेनिनवादको पार्टीले आँधीबेहरीमा जनताको साथ दिनेछ र यसले सच्चा स्वतन्त्रता तथा लोक जनवादका लागि सङ्घर्षको अघिल्लो पङ्क्तिमा उभिई लड्दै रहने प्रतिज्ञा गर्छ । कम्युनिस्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो ।

पुष्पलाल, नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र

तर प्राय: कम्युनिस्ट नेता र पार्टीहरू घोषणापत्रमा अडिग रहन सकेनन् । दुस्मन वर्गलाई विभिन्न प्रलोभनमा परेर विश्वास गर्नु र बारम्बार धोका खानु, जनतालाई धोका दिनु र आफ्नो वर्गउत्थान गर्नु उनीहरूको दिनचर्या बन्ने विडम्बनापूर्ण अवस्था उत्पन्न भयो । २००७ सालदेखि यताका सम्पूर्ण आन्दोलन र सङ्घर्षहरूमा कम्युनिस्ट पार्टीहरूले जुन घोषणा गरे, जनताको तहबाट जुन त्याग, शौर्य र बलिदान तथा उपलब्धि भयो त्यसलाई जोगाउन र व्यवहारमा उतार्न सकेनन् । पुष्पलाल लगायत नेताहरूले इमानदार प्रयास गरे पनि टुटफुट, विभाजन र एकापसमा लाञ्छनाका कारण त्यो सम्भव हुन सकेन । फलस्वरूप उत्कर्षमा पुगेको कम्युनिस्ट जनमत घट्दै गयो र पुनर्जगरणका लागि एउटै मार्क्सवादी विश्वविद्यालयको आवश्यकता खट्कियो ।

मार्क्सवाद र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको भविष्य

नेकपा (मसाल) का महामन्त्रीसमेत रहेका नेपालको कम्युनिस्ट आन्दोलनका पाका नेता मोहनविक्रम सिंह कार्ल मार्क्स र मार्क्सवादका योगदान एवम् महत्वका बारेमा चर्चा गर्दै भन्छन् :

मार्क्सको विश्व कम्युनिस्ट आन्दोलनमा ठूलो महत्व छ । आफ्नो जीवनकालमा उनले जे कार्य गरे तथा सिद्धान्त, दर्शन, अर्थशास्त्र वा क्रान्तिकारी आन्दोलनको क्षेत्रमा उनको जुन महान् योगदान रह्यो त्यसले उनको व्यक्तित्वलाई धेरै माथि उठाइदिएको छ । तर उनको मृत्युपछि उनको व्यक्तित्वले कैयौँ गुणा बढी ऐतिहासिक, अन्तर्राष्ट्रिय रूप लिएको छ ।

कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ : आज कम्युनिज्मको भूतले सारा युरोपलाई सताइरहेको छ । त्यो उनको जीवनकालको नै कुरा थियो । तर उनको मृत्युपछि उनको ‘भूत’ ले सारा संसारलाई नै सताइरहेको छ । उनले कम्युनिज्मका जुन सिद्धान्तको प्रतिपादन गरे, करोडौँ मानिसहरूलाई उद्वेलित वा परिचालित गर्‍यो । कम्युनिज्मको सिद्धान्तका आधारमा संसारमा महान् उथलपुथल भयो । क्रान्तिकारी परिवर्तनहरू भए । विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनको विकास भयो । विश्व समाजवादी व्यवस्थाको स्थापना भयो । आज पनि मार्क्सवाद विश्वव्यापी चर्चा, छलफल वा अध्ययन र क्रान्तिकारी आन्दोलनको विषय बनेको छ । ती सबैले मार्क्सको व्यक्तित्वलाई आफ्नो जीवनकालमा भन्दा कैयौँ गुणा माथि उठाइदिएका छन् ।

मोहनविक्रम सिंह, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, प्रकाशक : हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, २०८२, पृ. १०७ ।

ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन अध्ययन अध्यापन गरी नयाँ विश्वदृष्टिकोण निर्माण गर्न सक्ने शैक्षिक जनशक्ति तयार पार्नु पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको मूल ध्येय हो । संसारलाई हेर्ने अन्धविश्वास र रूढिमा आधारित आदर्शवादी तथा अधिभूतवादी दर्शनलाई परास्त गर्ने क्रममा द्वन्द्वात्मक भौतिकवादी दर्शन अर्थात् मार्क्सवादी दर्शनको जन्म भएको हो । नेपालमा मार्क्सवादी दर्शनका व्याख्याता मोहन वैद्य ‘किरण’ ले मार्क्सवाद लेनिनवाद माओवादको विकास कसरी भयो भन्ने विषयमा गहिरो अध्ययन गरेका छन् । उनका अनुसार मार्क्सवादका तीन सङ्घटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद छन् ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शन हो । यो सबैखाले आदर्शवाद तथा अधिभूतवादका विरुद्ध वैज्ञानिक भौतिकवादका पक्षमा रहेको छ । मार्क्सको राजनीतिक अर्थशास्त्र उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना, सामाजिक सत्ता र सामाजिक चेतना, उत्पीडक र उत्पीडित वर्गका बीचको सङ्घर्ष, मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको मोहन वैद्य बताउँछन् । उनले मार्क्सको समाजवाद वैज्ञानिक समाजवाद रहेको र यो वर्ग, वर्गसङ्घर्ष, बलप्रयोगको मान्यता, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तमा आधारित रहेको बताएका छन् । मार्क्सवाद सर्वहारा वर्गको क्रान्ति र मुक्तिको सिद्धान्त हो । यसले विश्वलाई बुझ्ने मात्र होइन, मुख्यत: बदल्ने कुरामा जोड दिने वैद्य बताउँछन् । उनी भन्छन् :

मार्क्सवादले वर्गसङ्घर्ष र सामाजिक जीवनको हरियो धर्तीमा प्रयोगको माग गर्दछ । मार्क्सवाद एउटा विज्ञान हो र विज्ञान प्रयोगसित अभिन्न रूपमा गाँसिएको छ । आफ्नो जीवनकालमा मार्क्स र एङ्गेल्सले मार्क्सवादको प्रतिपादनका साथै प्रयोगमा समेत विशेष ध्यान दिनुभयो । त्यसपछि मार्क्सवादको प्रयोग र विकासमा लेनिनको उल्लेखनीय भूमिका रह्यो । लेनिनले रुसी धर्तीमा मार्क्सवादको प्रयोग गर्नुभयो । फलत: १९१७ अक्टोबरमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसले विश्वलाई झकझक्यायो र संसारका विभिन्न देशहरूमा रुसी समाजवादी क्रान्तिको प्रभाव पर्‍यो ।

मार्क्सवादी अध्येताहरूका अनुसार मार्क्सवादी साम्यवाद कुनै कोरा पन्थवाद होइन, यो त सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शन गर्ने एउटा क्रान्तिकारी सिद्धान्त हो ।

मार्क्सवादको सफल प्रयोग र विकासका बीचबाट लेनिनवाद जन्मियो । चीनमा माओ त्सेतुङले मार्क्सवाद–लेनिनवादको सफल प्रयोग गर्दै १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । दोस्रो विश्वयुद्धको प्रक्रिया र त्यसपछि विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हँुदै गए । चीनमा माओको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति गरियो । विश्वक्रान्तिमा भारी उथलपुथल पैदा भयो । यसै क्रममा मार्क्सवाद–लेनिनवादको प्रयोग र विकासका बीचबाट मार्क्सवाद–लेनिनवाद–माओवाद जन्मिएको मोहन वैद्य ‘किरण’ ले बताएका छन् ।

मोहन वैद्य ‘किरण’, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार, पृ. १११ ।

नेपालको राजनीतिक आन्दोलनमा नेल्सन मन्डेलाका नामले परिचित झापा विद्रोहका नायक मोहनचन्द्र अधिकारी नेपालका कम्युनिस्ट पार्टीहरूले मार्क्सवादलाई छोडेकाले उनीहरूको अवस्था पतनतिर गइरहेको र यो अवस्थाबाट आन्दोलनलाई उठाएर लक्ष्यमा पुर्‍याउन मार्क्सवादी विश्वविद्यलय अत्यावश्यक भइसकेको बताउँछन् । झापा विद्रोहपछि १७ वर्षसम्म कठोर जेलजीवन व्यतित गरेका अधिकारी पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले गरेको पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव र यसको आरम्भले नेपालको मात्र नभएर विश्व–मार्क्सवादी दर्शन, विचार र राजनीतिलाई बुर्जुवाकरण, पेटी बुर्जुवाकरणबाट मुक्त गराई सर्वहारा वर्गको नेतृत्वमा ल्याउन र मार्क्सवादी आन्दोलन सफल पार्न ठूलो योगदान पुर्‍याउने बताउँछन् ।

सानै स्तरबाट आरम्भ गरिएको भए पनि यो दूरदर्शी र ऐतिहासिक कदम भएको उनको ठहर छ । मार्क्सवादमाथि चौतर्फी आक्रमण भइरहेको र पुष्पलालका योगदानहरूको भ्रष्टीकरण गरिँदै गरेको समयमा पुष्पलालकै नाममा मार्क्सवादी विश्वविद्यालय स्थापना हुनु विश्वकै मानव जातिका लागि महत्व राख्ने विषय रहेको उनको भनाइ छ । यो व्यापक, दूरदर्शी र महत्वपूर्ण विराट विषयका प्रस्तावक धन्यवादका पात्र रहेको र यस विषयलाई हृदयङ्गम गर्दै सहभागी भएर समर्थन गर्ने व्यक्तित्वहरू पनि धन्य रहेको उनी बताउँछन् ।

नेपालमा मार्क्सवादी दर्शनको प्रचारमा उल्लेखनीय योगदान दिएका वामपन्थी नेता कृष्णदास श्रेष्ठका शब्दमा १९ औँ शताब्दीको पूर्वार्द्धमा मार्क्सवादको जन्म हुनु मानवीय विचारको इतिहासमा एक युगान्तकारी घटना थियो । मार्क्सवादका रूपमा विश्व सर्वहारा वर्ग र अन्य श्रमजीवी जनताले आफ्नो मुक्तिका लागि र नयाँ विश्वको निर्माणका लागि सङ्घर्षमा सही तथा सबल बौद्धिक अस्त्र पाएका छन् । सर्वहारा विश्वदृष्टिकोणका रूपमा यसको जन्म हुनु सर्वहाराहरूको विचारधारात्मक विकासमा एक महत्वपूर्ण हात्तीपाइला रहेको र त्यसको विकासको एक ज्यादै महान् उपलब्धि थियो । यो श्रमजीवी मानवजातिको इतिहासमा एक महत्वपूर्ण मोड थियो— यस्तो मोड जहाँ सङ्घर्षमा सफलताको बाटो फराकिलो र चहकिलो बन्यो ।

आमूल परिवर्तन खोज्ने र परिवर्तनका लागि लामो समय धैर्य गर्न नसक्ने निम्नमध्यम वर्ग र श्रमिक वर्गको अत्यधिक बहुमत भएको देश हो नेपाल ।

क्रान्तिको विज्ञानका रूपमा मार्क्सवाद विश्वक्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ । आफ्नो जन्म भएदेखि यो जति विश्वव्यापी रूपमा फैलिएको छ त्यति अरू कुनै विचारधारा फैलिएको छैन । मानवजातिको बौद्धिक जीवन र सामाजिक विकासमा यसले जुन क्रान्तिकारी प्रभाव पारेको छ त्यस दृष्टिबाट हेर्ने हो भने यसका सामु अन्य कुनै पनि विचारधारा बाउन्ने साबित हुन्छन् । आज यो एक शक्तिशाली विश्वशक्ति बनिसकेको छ— यस्तो शक्ति जसलाई यसका कट्टर शत्रुहरूले पनि नकार्न सक्दैनन् ।

कृष्णदास श्रेष्ठ, मार्क्सवाद परिचयमाला

नेकपा (एमाले) का उपाध्यक्ष रहिसकेका वामपन्थी चिन्तक युवराज ज्ञवालीका शब्दमा तमामखाले विषयसहित ऐच्छिक रूपमै भए पनि मार्क्स र मार्क्सवादीहरूसँग सम्बन्धित तमाम विद्वान्हरूको योगदानका बारेमा समेत अध्ययन–अध्यापन गर्ने पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको मौलिक विशेषता हुनुपर्छ । उनका अनुसार नेपाली समाजमा वामपन्थी विचारधाराको निकै ठूलो प्रभाव छ । यसलाई कमजोर पार्नका लागि सामन्ती र पुँजीवादी शक्तिहरूले अनेक प्रयत्नहरू गर्दै आएका छन् । नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै मार्क्सवादी विचारले तमाम सामन्तवादी र पुँजीवादी दृष्टिकोणका विरुद्ध निरन्तर वैचारिक सङ्घर्ष गर्दै आएको छ । तर यतिबेला सैद्धान्तिक–वैचारिक विषयलाई राजनीतिक विषयले छायामा पार्दै आएको पाइन्छ ।

राजनीतिक विषयमा प्रमुख रूपले जुनसुकै तरिकाबाट भए पनि सत्ताको कुर्सीमा पुग्ने र यथास्थितिमा रमाउने प्रवृत्ति अत्यन्त खतरनाक रूपमा बढ्दै छ । यसले जनताको सेवाभन्दा व्यक्तिविशेषको स्वार्थ र महत्वाकाङ्क्षालाई ह्वात्तै बढाएको छ । यसरी राजनीति नै विकृत भएको छ । राजनीति भनेको जनताको सेवा गर्ने विषय बन्नुपर्नेमा नाफा कमाउने व्यापारमा परिणत हुँदैछ । स्वास्थ्य र शैक्षिक संस्थाहरूको तीव्र व्यापारीकरण त्यसको ज्वलन्त उदाहरण हो । नेपाली समाजमा वामपन्थी मार्क्सवादी नेता, विद्वान् र बुद्धिजीवीहरूले दशकौँदेखि समाजमा वैज्ञानिक चेतनाको विकास गर्ने उद्देश्यले निकै धेरै ग्रन्थहरू र अनेकौँ लेखरचनाहरू प्रकाशित गर्दै समाजको महत्वपूर्ण पङ्क्तिलाई प्रशिक्षित गर्दै आएका छन् । तर त्यो सङ्गठित र व्यवस्थित हुन सकेको छैन ।

ज्ञवालीका अनुसार मूल विषय कमजोर बन्दै गएमा केवल सत्ता प्राप्तिको विषयले मात्र देशमा समतामूलक, न्यायपूर्ण र समृद्ध समाजवादको लक्ष्य पूरा हुँदैन ।

विभिन्न वामपन्थी पार्टीहरूले पार्टीभित्र स्कुल सञ्चालन गरेको भए पनि त्यो मार्क्सवादको गहन अध्ययन, विश्लेषण, त्यसको सिर्जनशीलता र आजको परिवर्तित विश्वपरिस्थितिमा त्यसको विकास र प्रयोगजस्ता विषयमा भन्दा राजनीतिक सत्ता प्राप्तिको विषयमै केन्द्रित भएको पाइन्छ । ज्ञवालीका अनुसार मूल विषय कमजोर बन्दै गएमा केवल सत्ता प्राप्तिको विषयले मात्र देशमा समतामूलक, न्यायपूर्ण र समृद्ध समाजवादको लक्ष्य पूरा हुँदैन । यस्तोमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको स्थापनाले लाखौँ नेपाली जनता वामपन्थी विचारप्रति आकर्षित हुने छन् ।

नेपालमा मार्क्सवाद लागू गर्न स्थापना गरिएका कयौँ कम्युनिस्ट नामधारी पार्टीहरू छन् र तिनले मार्क्सवादलाई आआफ्नो पार्टीको कार्यदिशाअनुसार तोडमोड गर्दै मार्क्सवादका नाममा बेग्लाबेग्लै पाठ पढाइरहेका छन् ।

नेपालमा जनताबाट निर्वाचित कम्युनिस्ट पार्टीका विभिन्न नेता पटक–पटक प्रधानमन्त्री भइसकेका छन् । कहिले एकल त कहिले संयुक्त सरकार सञ्चालन भएका छन् । यस्तो पृष्ठभूमिका कारणले पनि यो विचारलाई नेपाली धर्तीमा युगौँयुगसम्म स्थापित गर्न यस किसिमको उच्चस्तरीय शैक्षिक संस्था स्थापना गर्नेतर्फ विशेषत: आफूलाई मार्क्सवादी र पुष्पलालका अनुयायी भएको ठान्ने व्यक्तित्वहरूले योगदान गर्नु आवश्यक छ ।

युवराज ज्ञवाली, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. १७२

वामपन्थी विश्लेषक श्याम श्रेष्ठ नेपालमा कम्युनिस्ट शक्तिहरू किन यति बलशाली छन् भन्ने विषयलाई प्रमाणित गर्दै भन्छन् : संसारमा कुनै पनि घटना अकारण घट्दैन । नेपालमा पनि बिनाकारण संयोगले यस्तो हुन गएको पक्कै होइन । नेपालमा कम्युनिस्ट पार्टी फस्टाउनुको पछाडि मूर्त र सुदीर्घ कारण छन् ।

‘कम्युनिस्ट’ यति व्यापकतामा फस्टाउनुको मुख्य कारण तिनले बहुसङ्ख्यक जनमानस र आधारभूत वर्गलाई आफूतिर तान्न सक्ने गरी बोकेको राजनीतिक एजेन्डाले नै हो । यस्तो हुनुको अर्को मुख्य कारण समाजको वर्ग र जनसाङ्ख्यिक संरचना पनि हो । जगजाहेर छ, नेपाल यथास्थिति खोज्ने उच्च मध्यमवर्ग वा सामान्य सुधारले चित्त बुझ्ने मध्यमवर्गको हालीमुहाली भएको देश होइन । यहाँ कुल जनसङ्ख्याको झन्डै १५–२० प्रतिशत मात्र उच्च मध्यम र मध्यमवर्ग छ । मूलत: आमूल परिवर्तन खोज्ने र परिवर्तनका लागि लामो समय धैर्य गर्न नसक्ने निम्नमध्यम वर्ग र श्रमिक वर्गको अत्यधिक बहुमत भएको देश हो नेपाल ।

देशको कुल जनसब्ख्याको झन्डै पाँचमा चार भाग निम्नमध्यम वर्ग र श्रमिक वर्ग छ । यी वर्गको पनि निकै ठूलो हिस्सा निम्नमध्यम किसान, गरिब किसान र जमिनबाट बेदखल गरिएका भूमिहीन किसानको छ । जो रोजगारी तथा विकासको अवसरको खोजमा बेरोजगार, श्रमिक वा शिक्षार्थी बनेर गाउँबाट सहरबजारमा वा विदेशमा लाखौँको सङ्ख्यामा हरेक साल ओर्लिरहेछन् । नेपालको मूल जनसाङ्ख्यिक प्रवृत्ति यस्तो छ कि गाउँ रित्तिँदै गइरहेछन् र देशी–विदेशी सहर–बजारमा स्वतन्त्र र फुक्काफाल नेपाली युवाको कुँडुलो लागेको छ । श्रेष्ठका अनुसार खेती–किसानी र परम्परागत सम्बन्धबाट स्वतन्त्र भएको जनसमुदायको यो विशाल हिस्सा यथास्थितिबाट वाक्क, अधैर्य र विद्रोही चरित्रको देखिन्छ ।

अत: यो समुदाय सामान्य सुधार होइन, हमेसा आमूल परिवर्तन र सशक्त सङ्घर्षको वामपन्थी एजेन्डामा सजिलै आकर्षित हुने गर्छ । एकदमै चलायमान यो विशाल जनसमुदायको मन जसले जित्छ, नेपाली राजनीतिको लगाम उसैको पोल्टामा जाने गरिरहेको छ । नेपालका कम्युनिस्टले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनजीविकाको रूपान्तरणकारी एजेन्डामार्फत समाजको गर्भबाट पैदा भएको यही नयाँ वर्ग र जनसमुदायलाई आफूतिर आकर्षित गर्न सकेको हुनाले नेपालमा कम्युनिस्ट सबैभन्दा जनव्यापी र शक्तिशाली भएका हुन् ।

श्याम श्रेष्ठ, नयाँ पत्रिका

यसैगरी नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भकर्ता १९ जनामध्येका एकनारायण शर्मा मार्क्सवाद र यसको व्यवस्थित अध्ययनको अनिवार्यताका लागि पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अत्यावश्यक रहेको बताउँछन् । कार्ल मार्क्सले अध्ययन–अनुसन्धान र विश्लेषण–संश्लेषण गरी प्रतिपादन गर्नुभएका युगान्तकारी वैज्ञानिक सिद्धान्तहरूको समष्टि नै मार्क्सवाद रहेको, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वजस्ता नितान्त नयाँ र गुणात्मक रूपले क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिको प्रतिपादन गरेर यसअनुसार समाजलाई बुझ्नु र बदल्नुपर्छ अनि विश्वबाट असमानता, अन्याय, शोषण र दमनको पूर्णरूपेण अन्त्य हुने वैज्ञानिक र वास्तविक समाजवादी– साम्यवादी व्यवस्था र अवस्थाको स्थापना गर्न सकिन्छ र सक्नुपर्छ भन्ने विचार, शिक्षा, सन्देश र प्रेरणा मार्क्सले प्रदान गर्नुभएको सन्दर्भमा नेपालमा मार्क्सवादी विश्वविद्यालयका माध्यमबाट यसलाई अघि बढाउन सकिने उनको मत छ ।

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयसम्बन्धी ग्रन्थ राष्ट्रपति रामचन्द्र पौडेलाई हस्तान्तरण गर्दै सुवेदी ।

मार्क्स–एङ्गेल्सको सहलेखनका रूपमा प्राप्त कम्युनिस्ट पार्टीको घोषणापत्रबाट मात्रै पनि एउटा विश्वकीर्तिमानी कार्यको घोषणा उनीहरूले गरेको यद्यपि मार्क्सवादी सिद्धान्त, सङ्गठन, सङ्घर्ष निर्माण र विकासको यो समग्र प्रक्रियामा मार्क्सका सहकर्मी फ्रेडरिक एङ्गेल्सको पनि अहम् र बराबरीजस्तै भूमिका र योगदान रहेको छ । मार्क्सवाद भनेको जीवन र जगत् अर्थात् मानव र प्रकृति स्वयम् तथा यिनका विभिन्न विषय, वस्तु, घटना, प्रवृत्ति र गति आदि सम्पूर्ण कामकुराहरूलाई वैज्ञानिक र वस्तुवादी दृष्टिले सही रूपमा बुझ्ने विज्ञान हो । यस्तै, सर्वाधिक क्रान्तिकारी, वैज्ञानिक र न्यायपूर्ण प्रमाणिक सिद्धान्त हो । त्यति मात्र होइन, सार्वभौम र अकाट्य वैज्ञानिक सिद्धान्तको नियमित र व्यवस्थित रूपमा अध्ययन–अध्यापन, खोज–अनुसन्धान, विश्लेषण–संश्लेषण र मूल्याङ्कन–समीक्षा गर्दै विस्तार र विकास गर्नु आफैँमा पनि अत्यावश्यक महत्वको कुरा हो ।

आज मार्क्सवादमाथि, खासगरी क्रान्तिकारी मार्क्सवादमाथि विश्वभरका साम्राज्यवादी, प्रतिगामी र यथास्थितिवादी प्रतिक्रियावादीहरूको तथा सुधारवादी–संसद्वादीलगायत सबैखाले संशोधनवादीहरूको चौतर्फी भीषण हमलाबाट यसलाई बचाउन प्रयासरत छन् । यसका लागि पनि मार्क्सवादी विश्वविद्यालय इतिहासमै सबैभन्दा बढी टड्कारो आवश्यकता बनेर उभिएको शर्मा बताउँछन् ।

नारायण शर्मा, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. १८०–१८१

कार्ल मार्क्स र फ्रेडरिक एङ््गेल्सले आजभन्दा १ सय ७८ वर्षपहिले साम्यवादी दलको घोषणापत्र प्रकाशन गर्नुभएको थियो । सो घोषणापत्र ती लाखौँ मजदुर, किसान आन्दोलन, हजारौँको बलिदान, साम्यवादी चिन्तकहरूको योगदान, न्यायप्रिय सङ्घ र कम्युनिस्ट लिगका नेता तथा कार्यकर्ताहरूको कठोर त्याग, तपस्या, यातना र बलिदानको संश्लेषण हो । यही कारणले गर्दा मार्क्स–एङ्गेल्सले श्रमजीवी तथा सर्वहारा वर्गमा भौतिक हतियार भेट्टाउनुभयो भने श्रमजीवी तथा सर्वहारा वर्गले उहाँहरूको दर्शनशास्त्रमा बौद्धिक हतियार भेट्टायो । उहाँहरूले आफ्नो समयसम्म मानव जातिले हासिल गरेको ज्ञानको समग्र विश्लेषण गरेर बौद्धिक सारतत्व निकाल्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्तासमेत रहेका मार्क्सवादी दर्शनशास्त्री हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का शब्दमा त्यसैले उहाँहरूको दर्शन सर्वशक्तिमान र सार्वभौम भएको हो । यो सार्वभौम विज्ञान र दर्शनलाई नेपालमा मार्क्सवादी विश्वविद्यालयका रूपमा स्थापना, विकास र विस्तार गर्नु अपरिहार्य छ । सुदर्शनले हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद, कान्टको अज्ञेयवादी आदर्शवाद र प्रँुधो–बाकुनिनको अराजकतावादी व्यक्तिवादविरुद्ध भीषण सङ्घर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेपछि मात्र मार्क्स–एङ्गेल्सले यसलाई जीवन–व्यवहारमा लैजान विश्व–साम्यवादी दलको घोषणापत्र जारी गरेको बताएका छन् ।

सुदर्शन, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. १९० ।

नेपालमा मार्क्सवाद लागू गर्न स्थापना गरिएका कयौँ कम्युनिस्ट नामधारी पार्टीहरू छन् र तिनले मार्क्सवादलाई आआफ्नो पार्टीको कार्यदिशाअनुसार तोडमोड गर्दै मार्क्सवादका नाममा बेग्लाबेग्लै पाठ पढाइरहेका छन् । फलस्वरूप राज्यसत्ताको परिवर्तन र नयाँ सत्ता स्थापनाका सम्बन्धमा उनीहरूका मत पनि बेग्लाबेग्लै छन् । मार्क्सवादलाई आफ्नो अनुकूलतामा सुधार वा संशोधन गरेर सजिलो बाटो खोज्नेहरूलाई सुधारवादी वा संशोधनवादी भनेर चिनिन्छ ।

एकथरी विरोधीहरू नियोजित रूपमा २०८२ सालको मत परिणामलाई आधार बनाएर मार्क्सवादीहरू कमजोर बनिरहेको निष्कर्षसहित हर्षेल्लास मनाइरहेका छन् भने मार्क्सवादको आवश्यकतामाथिको बहस झनै बढिरहेको छ ।

मालेमाको सही अध्ययन, विकास र प्रयोग गर्नेहरूलाई सक्कली मार्क्सवादी भनिन्छ यद्यपि कम्युनिस्ट नामधारी सबैले आफैँलाई सही रहेको बताउने गरेका छन् । यसको मापनको कसी के हो त ? संशोधन वा सुधार गर्नु विकास हो वा सामाजिक अन्तरविरोधहरूको सही अध्ययन गरी विकास र प्रयोग गर्नु सिर्जनशीलता हो । मार्क्सवादको अध्ययनबेगर आम मानिसलाई यथार्थ पत्ता लगाउन मुस्किल बन्दै गएको छ । यसै रिक्ततालाई चिर्न पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अघि सारिएको हो ।

नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ साम्राज्यवाद र सर्वहारा क्रान्तिको अहिलेको विश्वमा साम्राज्यवादसँग विश्वका जनताको आधारभूत अन्तर्विरोधअनुसार साम्राज्यवादी मुलुकलगायत विश्वका मुलुकहरूमा साम्राज्यवादविरोधी शक्ति, राष्ट्रिय उत्पीडनमा परेका मुलुकहरूमा राष्ट्रिय मुक्तियुद्ध लडिरहेका राष्ट्रवादी शक्तिहरू र क्रान्तिकारी आन्दोलन चलाउँदै आएका क्रान्तिकारी शक्तिहरूको उदय र विकास हुँदै गएको बताउँछन् । यस सन्दर्भमा मार्क्सवाद अर्थात् वैज्ञानिक विचार मार्क्सवाद–लेनिनवाद–माओवाद रहेकाले यी आन्दोलनहरूलाई एकीकृत गर्न, त्यसको नेतृत्व दिन सामर्थ्यवान् हुन पनि मार्क्सवादी विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ छ ।

साम्राज्यवाद जति भूमण्डलीकृत छ, साम्राज्यवादविरोधी शक्ति पनि त्यत्तिकै रूपमा भूमण्डलीकृत रहेको यथार्थ अर्थात् सर्वहारा वर्गको यो तागत र त्यो तागतको प्रयोग गर्ने दायित्वलाई कयौँ पार्टी र नेताहरूले बुझ्न नसकेको कञ्चनको ठहर छ । उनी भन्छन् : उहाँहरू साम्राज्यवादलाई कहिल्यै पराजित नहुने शक्तिका रूपमा र सर्वहारा वर्गलाई कहिल्यै जित्न नसक्ने शक्तिका रूपमा चित्रित गर्नुहुन्छ । यो गलत बुझाइ र भ्रमबाट मुक्त भएर सही विश्वदृष्टिकोण निर्माण गर्न मार्क्सवादी विश्वविद्यालय आवश्यक रहेको कञ्चन बताउँछन् ।

धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. २१०

मार्क्सवादी अर्थशास्त्री एवम् राजनीतिक विश्लेषक डा. हरि रोकाले कम्युनिस्ट घोषणापत्र र विचारका विषयमा गहिरो अध्ययन गरेका छन् । उनका शब्दमा वास्तवमा मार्क्स–एङ्गेल्सद्वारा जारी कम्युनिस्ट घोषणापत्र कोरा सिद्धान्तको प्रदर्शनी मात्र थिएन र होइन । विद्यमान वर्गसङ्घर्ष अन्त्यका लागि राजनीतिक समाधान खोज्ने प्रस्तावित दस्ताबेज थियो । यसको सैद्धान्तिक आधार ऐतिहासिक द्वन्दात्मक–भौतिकवाद हो ।

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त सामाजिक परिवर्तनको अनिवार्यता स्वीकार गरेर मानिसद्वारा गरिएका सम्पूर्ण वर्गसङ्घर्षको खासगरी आधारभूत तह (बेस) र उपरिसंरचना (सुपर स्ट्रक्चर) बीचको सङ्घर्षको इतिहासको जगमा निर्माण भएको छ । विद्यमान उत्पादन पद्धतिको आडमा समाजमा वर्ग बन्छ र समाजमा आधार र उपरिसंरचना निर्माण तय गर्ने हुन्छ । उनका अनुसार विगतमा पुँजीवादीहरू आधारभूत वर्गको उत्तराधिकारी बनेर सामन्तवादविरुद्ध लडे । त्यो पुँजीवादी क्रान्तिले समग्रमा सामन्ती र सामन्तवादी उत्पादन पद्धतिको अन्त्य गरेर पुँजीवादी उत्पादन पद्धति स्थापना गर्‍यो ।

विधि कानुन बनाएर मलजल गर्‍यो । सिद्धान्तत: त्यसैगरी श्रमजीवी वर्गले समाजवादी क्रान्ति गरेर समष्टिमा पुँजीवाद र पुँजीवादी उत्पादन पद्धति विस्थापित गर्न आवश्यक छ । रोकाका अनुसार यद्यपि कुनै रूपान्तरणकारी कार्य गुणात्मक रूपमा एकै किसिमको हुन सक्दैन । भिन्नाभिन्नै उत्पादन पद्धतिमा विकसित हुने मालिक वर्ग र स्वयम् उत्पादक श्रमशक्तिकै चरित्र पनि भिन्न सैद्धान्तिक वैचारिक परिवेशमा बेग्लाबेग्लै ढङ्गले निर्माण भएको हुन्छ ।

रोकाका अनुसार मार्क्स र एङ्गेल्सले घोषणापत्र लेख्दै गर्दाकै समयमा उनीहरू के निर्क्याेलमा पुगेको देखिन्छ भने पुँजीवाद मानवीय इतिहासको गहिराइसम्म पुग्न चाहँदैन । यद्यपि पुँजीवाद त्यो समयमा युरोपभन्दा बाहिर विस्तारित नै भएको थिएन । तर पुँजीवादी उत्पादन पद्धति जसरी अगाडि बढिरहेको थियो र श्रमजीवी वर्गलाई पुँजीजस्तै गरी जसरी वस्तु विनिमयको साधनजस्तो व्यवहार गर्दै थियो ।

दास वा रैतीका रूपमा नभए पनि व्यवहारमा जीविकोपार्जनका लागि तिनलाई अह्राए–खटाएपछि जहाँ पनि जानुपर्ने वा अघोषित रूपमा श्रम बेच्न बाध्य पारिँदै थियो, यसले पुँजीपति अभिजात्यहरूको सानो समूहबाहेक अरू सबै श्रमजीवी व्यवहारत: ‘स्वतन्त्र मानव’ थिएनन् र हुँदैनन् । त्यही भएर पुँजीवादी पद्धतिविरुद्ध क्रान्तिको ज्वारभाटा उठ्ने तर्कसङ्गत कुरा थियो र हो किनकि द्वन्द्वात्मक भौतिकवादको नियमले एकअर्को वर्गविरुद्ध सङ्घर्ष अनिवार्य हुन्छ ।

नयाँ पत्रिका दैनिक

सामाजिक विश्लेषक आहुती भन्छन् : आफ्नो समयको ज्ञान–विज्ञानका सबै निष्कर्षबाट सुसज्जित नभई क्रान्ति अगाडि बढाउन नसकिने निष्कर्षसहित ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ लगायतको शोधमार्फत मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अवधारणामा नयाँ युगअनुकूल विकास गरिएको हो । लेनिनको नेतृत्वमा द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकतालाई आफ्नो समयको भौतिक विज्ञानका निष्कर्षद्वारा पुनर्पुष्टि गरिएको थियो । मार्क्सले भनेजस्तो पुँजीवाद समाप्त भएन भनी विरोधीले गरेको प्रहारलाई जबाफ दिँदै प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादको चरणमा पुगेको, त्यो पुँजीवादी साम्राज्यवाद भएको र त्यो मरणासन्न रहेको व्याख्यासहित विश्व नयाँ युग अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रवेश गरेको नयाँ खोज अघि सारियो ।

आहुतीका अनुसार साम्राज्यवादी पुँजीवादको युगमा पुँजीपति वर्गका फरक–फरक गुट एकआपसमा युद्ध गर्ने, करोडौँ मजदुर उत्पादन थलोमा सङ्गठित हुने र त्यस्तो अवस्थालाई उपयोग गरेर समाजवादी क्रान्ति अघि बढ्न सक्ने रणनीति अघि सारियो । वैज्ञानिक समाजवादका सम्बन्धमा त्यो समाजवाद सङ्क्रमणकालीन व्यवस्था हुने, सर्वहारा वर्गको अधिनायकत्व जरुरी हुने, सम्पूर्ण सत्ता सोभियतमा लैजानुपर्ने, कम्युनिस्ट पार्टीले अग्रदस्ताका रूपमा काम गर्नुपर्ने आदि अवधारणा अगाडि सारियो।  यसरी लेनिनको नेतृत्वमा मार्क्सवादलाई नयाँ युगअनुसार विकसित गरेपछि नै नयाँ युगको क्रान्तिका हरेकजसो नयाँ प्रश्नको नयाँ उत्तर सम्भव भएको थियो ।

आहुती, नयाँ पत्रिका दैनिक

एकथरी विरोधीहरू नियोजित रूपमा २०८२ सालको मत परिणामलाई आधार बनाएर मार्क्सवादीहरू कमजोर बनिरहेको निष्कर्षसहित हर्षेल्लास मनाइरहेका छन् भने मार्क्सवादको आवश्यकतामाथिको बहस झनै बढिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी भन्छन् : जति–जति पुँजीवादी सङ्कट गहिरिँदै जान्छ ठूला पुँजीवादी देहरूमा समेत मानिसहरू सङ्घर्षको मैदानमा सडकमा उत्रिन थाल्दछन् र ती मार्क्सले लेखेका कुराहरू जान्न, बुझ्न र त्यसको खोज गर्न अझ बढी जिज्ञासु र उत्सुक देखिन्छन् ।

सुवेदीका अनुसार त्यसैले हामीले यति बेला सामाजिक क्रान्तिका अतुलनीय द्रष्टा, व्याख्याता र मार्गदर्शक मार्क्सले समाजको विकास र प्रगतिका बारेमा के भनेका थिए ती कुराहरूलाई कमरेड पुष्पलालले जस्तै गम्भीरतम रूपमा हेरौँ र बुझौँ ! अनि आजको बिश्वसमाज र यसमा चलिरहेको वर्गसङ्घर्षलाई सही किसिमले जान्न, बुझ्न मार्क्सवाद कत्तिको सामयिक र सान्दर्भिक छ, सही र गम्भीर किसिमले चिन्तन, मनन र आत्मसात गरौँ ! अनि अजेय मार्क्सवादी दर्शनको महान् झन्डाको आलोकमा सही किसिमले अगाडि बढ्न र यसको अजेयतालाई आत्मसात गर्दै देश र जनतालई युगौँदेखिका दु:खकष्टबाट मुक्त गर्न सकिन्छ । यसलाई सही दिशा र गतिका आधारमा अगाडि उन्नत स्तरतर्फ गतिमान गराउन सकिन्छ ।

विरोधीहरूले जति स्यालहुइयाँ मच्चाए पनि लेनिनले रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेपछि के स्पष्ट भनेका थिए भने यो त केवल प्रस्थानबिन्दु मात्र हो । अब समाजवादीहरूले दसै दिशामा यसको खोज, अध्ययन, अनुसन्धानका आधारमा उच्च विज्ञता हासिल गर्न सक्नु र सिक्नु पर्दछ । श्रेष्ठता अन्धानुकरण गरेर, भावनामा बगेर वा रट लगाएर कदापि हासिल हुँदैन । चरण–चरणका समाज परिवर्तनका नियमहरू पत्ता लगाएर चल्न सिक्न र सक्नु पर्दछ ।

श्रेष्ठता अन्धानुकरण गरेर, भावनामा बगेर वा रट लगाएर कदापि हासिल हुँदैन । चरण–चरणका समाज परिवर्तनका नियमहरू पत्ता लगाएर चल्न सिक्न र सक्नु पर्दछ ।

मानव आर्जित सबै ज्ञानभण्डारले सुसज्जित विश्वलाई उच्च, मानवीय, सुसंस्कृत दिशा प्रदान गर्न निरन्तर क्रियाशील र गतिमान प्रयत्न, पहल र परिमार्जन अत्याबश्यक छ । त्यसैले मार्क्सवादी ज्ञान भण्डारको आवश्यकता पर्न जाने हो र त्यसले निरन्तर अग्रगामी परिवर्तनको मूलबाटो देखाइरहने हो । ज्ञान र व्यवहारको द्वन्द्वात्मक निरन्तरता र निरन्तर अग्रगामी, उन्नत परिवर्तनका लागि । यस अर्थमा पुष्पलाल जन्मशताब्दीका अवसरमा प्रस्ताव गरी पारित गरिएको छ हालै उद्घाटन गरिएको पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापनाको प्रयत्न सार्थक र परिणामदायी हुनसक्छ ।

लोकनारायण सुवेदी, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. २५४

पुष्पलालका विचारहरूलाई व्यवहारमा उतार्न जोड दिइरहेका एक बौद्धिक अगुवा हुन् लोककृष्ण भट्टराई । उनका अनुसार नेपालका सबै वाम–लोकतान्त्रिक दल मिलेर राज्यले नै पुष्पलाल मार्क्सवादी विश्वविद्यालय स्थापना गर्नुपर्नेमा स्खलित दलले त्यसो गर्न नसके पनि पुष्पलाल जन्मशताब्दी कृष्णलाल बलिदान शताब्दीका सन्दर्भमा रामेछापमा आयोजित भव्य कार्यक्रममा नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, समाजवादी कम्युनिस्ट पार्टी नेपालसहित ११ वामपन्थी दल, पुष्पलाल अध्ययन समाज, पुष्पलाल स्मृति प्रतिष्ठान, स्वतन्त्र वामपन्थी बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसमेत सहभागी उद्घाटनमा भए । पुष्पलाल–गङ्गालाल–कृष्णलालको जन्मथलो र उहाँहरूका विचार स्थापित गर्न आरम्भ गरिएको पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अत्यन्त समसामयिक र अन्तर्राष्ट्रिय महत्वको छ ।

लोककृष्ण भट्टराई, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय पृ. २५६

प्रौढ मात्र होइन कम्युनिस्ट आन्दोलनका युवापङ्क्ति पनि पुष्पलाल मार्क्सवादी विश्वविद्यालयप्रति जागरुक र आकर्षित बन्दै गएका छन् । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंहका अनुसार पुष्पलाल मार्क्सवादी विश्वविद्यालय एउटा विशिष्ट विश्वविद्यालय हो । यो एउटा आन्दोलन, अभियान र क्रान्ति पनि हो ।

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका बारेमा बहसको प्रारम्भमा कार्ल मार्क्स र कमरेड पुष्पलालको ऐतिहासिक योगदान एवम् भूमिकालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा बुझ्न जरुरी छ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्तावना एवम् अवधारणाका बारेमा बहसको प्रारम्भ पनि कार्ल मार्क्स र कमरेड पुष्पलालको ऐतिहासिक योगदान एवम् भूमिकाबाट नै गरिनुपर्छ ।

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय, पृ. २७०

यसरी नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७६ वर्षपछि, बहस आरम्भको बीस वर्षपछि र प्रस्तावना गरिएको दुई वर्षपछि पुष्पलाल मार्क्सवादी विश्वविद्यालय आरम्भ गरिएको छ । यसलाई नेपालका झुप्राछाप्रादेखि सहरसम्म र विश्वका अन्य मुलुकहरूसम्म पनि बहस मात्र होइन, कार्यरूपमा उतार्ने उद्घोषसहित विज्ञान र द्वन्द्वात्मक भौतिकवाद स्वीकार गर्ने सबै पक्ष, सबै मार्क्सवादी घटकको साझा अध्ययन थलोका रूपमा विश्वविद्यालय आरम्भ गरिएको छ ।

कक्षा सञ्चालन र दीक्षान्त

पुष्पलाल मार्क्सवादी जनविश्वविद्यालयमा अध्ययन गर्ने पहिलो ब्याचलाई दीक्षित गरिएको छ । चैत २४ गते पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरी, रामेछाप र सिर्जनानगरमा उद्घाटित विश्वविद्यालयको २८ गतेसम्म भएको मार्क्सवादी कक्षाको पहिलो ब्याचलाई दीक्षित गरिएको हो ।

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको पहिलो ब्याचलाई नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता तथा मार्क्सवादी दर्शनशास्त्री हेमन्तप्रकाश ओली ‘सुदर्शन’, मार्क्सवादी सौन्दर्यशास्त्री प्रा. डा. गोपीन्द्र पौडेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार एवम् विश्वविद्यालयका अध्यक्ष अशोक सुवेदीले दीक्षित गरेका हुन् ।

पुष्पलाल–गङ्गलाल जन्मस्थल भँगेरीमा रहेको पुष्पलाल–गङ्गालालको सालिकमा २४ गते पूर्वगभर्नर क्षेत्री, दर्शनशास्त्री सुदर्शन, सौन्दर्यशास्त्री पौडेल, महासचिव समरजङ्ग र अध्यक्ष सुवेदीले संयुक्त रूपमा विश्वविद्यालयको ब्यानर उद्घाटन गरेका थिए भने भँगेरी, सिर्जनानगर र मन्थली नगरपालिकाको सभाकक्षमा अध्यापकहरूले शिक्षार्थीहरूलाई मार्क्सवाद अध्यापन गरेका थिए । पहिलो ब्याचमा तीसजना विद्यार्थी सहभागी रहेको विश्वविद्यालयले जनाएको छ ।

कक्षामा पूर्वगभर्नर अर्थशास्त्री क्षेत्रीले मार्क्सवादी अर्थशास्त्र, सुदर्शनले मार्क्सवादी दर्शनशास्त्र, सौन्दर्यशास्त्री पौडेलले मार्क्सवादी सौन्दर्यशास्त्र, महासचिव समरजङ्गले वैज्ञानिक समाजवाद र सुवेदीले मार्क्सवादी विश्वविद्यालय र वर्गसङ्घर्षका विषयमा अध्यापन गरेका थिए ।

दीक्षान्त समारोहमा शिक्षार्थीका तर्फबाट जनवर्गहरूबाट किसान प्रतिनिधि विजय पौडेल, महिला प्रतिनिधि सीता गौतम, सहिद परिवार तथा सञ्चार प्रतिनिधि धर्बिन्द्र विक, युवा प्रतिनिधि सरोज न्यौपाने, मजदुर प्रतिनिधि सुजाता रोका, स्रष्टा प्रतिनिधि रसुवाली कवि, विद्यार्थी प्रतिनिधि मुक्ति गैरेलगायतले मार्क्सवादी कक्षा लिएर दीक्षित हुँदा आफूहरू गौरवान्वित भएको अनुभूति राखेका थिए ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदीले प्राध्यापकहरू क्षेत्री, सुदर्शन, पौडेल र समरजङ्गलाई दोसल्ला र आभारपत्रसहित अभिनन्दित गरेका थिए ।

विश्वविद्यालय उद्घाटन तथा कक्षा आरम्भका क्रममा समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू माधव गौतम, विनोद थापा, खम्बु चन्द, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी सचिवालय सदस्य अम्बिका चन्द ‘सुदृष्टि’, नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश सदस्य दीपक प्रसाईं, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलगायतले शुभकामना प्रदान गरेका थिए भने विश्वविद्यालयका संस्थापक सदस्य विश्वम्भर लामिछानेले स्वागत गरेका थिए ।

पुष्पलाल मार्क्सवादी जनविश्वविद्यालयको आरम्भका लागि विभिन्न १९ कम्युनिस्ट पार्टीका प्रमुख र पुष्पलाल अध्ययन समाज, पुष्पलाल स्मृति प्रतिष्ठान, जुछे विचारका अनुयायी संस्था र प्रमुखहरूले शुभकामना प्रदान गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले काठमाडौँमा मार्क्सवादी अध्येताहरूको विज्ञ सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ । भँगेरीमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटनका क्रममा वैचारिक प्राज्ञिक समूह, पाठ्यक्रम विज्ञ, राजनीतिक–वैचारिक समूह, दार्शनिक–वैचारिक समूह, सल्लाहकार समूह र व्यवस्थापन समूह पनि प्रस्ताव गरिएको विश्वविद्यालयले जनाएको छ ।

विगत २० वर्षदेखि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, मार्क्सवादी साहित्य प्रतिष्ठान र रामेछाप साहित्य प्रतिष्ठानले सञ्चालन गर्दै आएको मार्क्सवादको विचारधारात्मक कामलाई यस वर्षदेखि पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले ग्रहण गरेको हो । विज्ञ सम्मेलनमार्फत परिमार्जनसहित विकसित पाठ्यक्रम पारित भएपछि विश्वविद्यालयको पाठ्यक्रमलाई देशभर सञ्चालन गरिने जनाइएको छ । मार्क्सवाद लेनिनवाद माओवादको दर्शन, सिद्धान्त र विचारलाई संसारका उत्पीडित, श्रमिक, सर्वहारा वर्गसम्म पुर्‍याई मालेमालाई नयाँ उचाइमा उठाएर प्रयोगमा नवीनता र सिर्जनशीलता ल्याउन विश्वविद्यालय स्थापना र कक्षा सञ्चालन गरिएको हो ।

लेखक
अशोक सुवेदी

(सुवेदी पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?