+
+
Shares

युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न संघको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको माग गरेको छ।
  • संघले सामाजिक सञ्जालमा चिकित्सकमाथि अपमानजनक सामग्री सार्वजनिक गरिएको र स्वास्थ्यकर्मीमाथि नकारात्मक प्रचार भएको उल्लेख गरेको छ।
  • संघले घटनामा संलग्न व्यक्तिको पहिचान गरी छानबिन र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

१० वैशाख, काठमाडौं । युवा अभियन्ताको नाममा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अनावश्यक आरोप लगाई दुर्व्यवहार र गरिएको तथा उक्त घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रचार गरिएको संघले जनाएको छ ।

चिकित्सकमाथि सामाजिक सञ्जालमार्फत दुर्व्यवहार र अपमानजनक व्यवहार भएको संघको ठहर छ ।

संघको विज्ञप्ति अनुसार जुम्लामा रहेको प्रतिष्ठान परिसरभित्र खाजा खाइरहेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए । ती व्यक्तिहरूले चिकित्सकहरूसँग अपमानजनक व्यवहार गर्नुका साथै आक्रमणको धम्की समेत दिएको संघले जनाएको छ ।  घटनाका क्रममा भिडियो खिची युट्युब, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको र त्यसबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नकारात्मक प्रचार गरिएको संघको भनाइ छ ।

‘स्वास्थ्यजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बिना आधार आरोप लगाउने, सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री सार्वजनिक गर्ने र समाजमा भ्रम फैलाउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता गतिविधिले आम नागरिक र स्वास्थ्यकर्मीबीचको विश्वास कमजोर बनाउने मात्र होइन, स्वास्थ्य सेवा प्रवाहमै नकारात्मक असर पार्ने संघले जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि विभिन्न आरोप लगाउने र सार्वजनिक रूपमा अपमानित गर्ने प्रवृत्ति बढ्दै गएको छ ।  यस्ता कार्यले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल घटाउने र सेवाप्रवाहमा समेत असर पार्ने संघका महासचिव डा. सञ्जीव तिवारीले बताए ।

संघले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि आवश्यक छानबिन र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै स्वास्थ्य संस्थाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

‘स्वास्थ्यकर्मीको सम्मान र सुरक्षालाई सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अराजक कार्यमा सलग्न व्यक्तिलाई हैदसम्म कारबाही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?