News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको कोल्टी आधारभूत अस्पतालमा भौतिक संरचना विस्तार, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मी उपलब्धताले सेवा प्रभावकारी बन्दै गएको छ।
- अस्पतालमा ओपीडी, नेत्र रोग, थाइरोइड, डेन्टल, प्रयोगशाला, डिजिटल एक्सरे, आकस्मिक र प्रसूति सेवा सञ्चालन भइरहेको छ।
- कोल्टी अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् र छिमेकी जिल्लाका बिरामीसमेत सेवा लिन आउने गरेका छन्।
११ वैशाख, बाजुरा । प्रभावकारी स्वास्थ्य सेवा र भौतिक संरचना सुधारले बाजुराको कोल्टी आधारभूत अस्पतालको मुहार फेरिँदै गएको छ ।
बुढीनन्दा नगरपालिका–२ मा रहेको यो अस्पतालमा भौतिक संरचना विस्तार, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मीको उपलब्धतामा सुधार आएपछि सेवा प्रवाह प्रभावकारी बन्दै गएको स्थानीय महेश कार्कीले बताए ।
कुनै समय अहेबको भरमा चलेको अस्पताल अहिले चिकित्सकको नेतृत्वमा सञ्चालनमा छ । पहिला सामान्य स्वास्थ्य चेकजाँचका लागिसमेत बाहिर जानुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका नागरिक अब कोल्टीमै प्रभावकारी सेवा पाउन थालेका छन् ।
यसअघि यो क्षेत्रका बिरामीले उपचारका लागि जिल्ला अस्पताल मार्तडी, धनगढी, नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो । कोल्टी अस्पतालमा उपयुक्त भौतिक संरचना, जनशक्ति र औषधि उपकरणको उपलब्धता थिएन ।

अहिले भने कोल्टी अस्पतालले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ । हाल अस्पतालले आवश्यक सेवा विस्तार र व्यवस्थापन सुधार हुँदै जाँदा धेरै बिरामीले घर आगँनमै सहज र सुलभ स्वास्थ्य उपचार पाउन थालेका छन् ।
कोल्टी अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार अस्पतालमा ओपीडी सेवा, नेत्र रोगसम्बन्धी सेवा, थाइरोइड, डेन्टल सेवा, प्रयोगशाला सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा तथा प्रसूति सेवा लगायतका सेवा प्रवाह भइरहेको छ । अस्पतालमा आइतबार र शुक्रबार १०० बढी र अन्य दिन ५०–६० जना बिरामी आउने गरेको सूचना अधिकारी नेपालीले बताए ।
प्रदेश सरकारले यसअघि नै नीति तथा कार्यक्रममार्फत कोल्टीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने घोषणसमेत गरिसकेको छ । हाल १५ शय्या क्षमता राखेर स्तरउन्नति भए पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा नगरपालिकाले नै बेहोर्ने गरेको नगर प्रमुख जनक बोहोराले बताए ।
बुढीनन्दा नगरपालिकाले स्वास्थ्य संस्था स्तरोन्नति/सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गरेर कोल्टी आधारभूत अस्पताल सञ्चालन गरिरहेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष पनि बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहरा नै छन् ।

उनले कोल्टी अस्पताल त्यस क्षेत्रका चार वटा पालिकासहित छिमेकी जिल्लाका जनताको प्रमुख केन्द्रबिन्दु बनेको भन्दै अस्पतालमा थप विशेषज्ञ सेवासहित स्तरोन्नतिका लागि पहल भइरहेको बताए ।
अस्पतालमा विशेषज्ञ डाक्टर रञ्जित शाहसहित ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोल्टी अस्पतालमा बाजुरासहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बिरामीसमेत आउने गरेको अस्पतालले जनाएको छ ।
सेवाको गुणस्तर र स्वास्थ्य संस्थाप्रतिको विश्वासकै कारण अहिले बिरामीको रोजाइमा परेको अस्पताल प्रमुख एमडीजीपी डा. शाहले बताए ।
नगरपालिकाले पछिल्लो समय अस्पतालको सुविधा विस्तार, भौतिक संरचना विकास र सेवाको गुणस्तरमा विशेष ध्यान दिइरहेको छ । त्यही कुरालाई ध्यानमा राखेर आफूले समय बढी दिने गरेको डा. शाहको भनाइ छ ।
प्रतिक्रिया 4