News Summary
Generated by OK AI. Editorially reviewed.- पुरानो साडीलाई रिसाइकल गरेर छोरीका लागि लहेंगा, फ्रक, कुर्ता सुरुवाल र स्कर्ट टपजस्ता आकर्षक कपडा बनाउन सकिन्छ।
साडी यस्तो पहिरन हो जुन हरेक नेपाली महिलासँग प्रायः हुन्छ । विशेष गरी विवाह, ब्रतबन्ध, दशैं–तिहार जस्ता विशेष अवसरमा लगाइएका सिल्क, बनारसी, पट्टु वा जर्जेटका साडीहरू धेरै महिलाहरूले वर्षौंसम्म सुरक्षित राखेका हुन्छन् ।
यी साडीको कपडा उच्च गुणस्तरको हुने भएकाले राम्रोसँग राखेमा दशकौंसम्म पनि टिक्छन् । तर एउटै साडी बारम्बार लगाउँदा दिक्क लाग्न सक्छ र कहिलेकाहीँ फेसन पनि पुरानो हुन्छ । यस्तो अवस्थामा पुराना साडीलाई फाल्ने वा थन्क्याउने होइन, बरु नयाँ तरिकाले रिसाइकल गरेर प्रयोग गर्न सकिन्छ ।
विशेष गरी छोरी वा घरका साना बच्चीहरूका लागि विभिन्न आकर्षक कपडा तयार पार्न सकिन्छ । यसले पुरानो साडीलाई नयाँ जीवन दिन्छ, पैसा बचाउँछ, पर्यावरण संरक्षण गर्छ र सबैभन्दा महत्वपूर्ण कुरा बच्चीलाई आमाको माया र स्नेहको स्पर्श दिन्छ ।
पुरानो साडीबाट बच्चाको कपडा बनाउँदा हुने फाइदा
साडीमा आमाको विवाह, विशेष समारोह वा यादगार क्षणहरू जोडिएका हुन्छन् । त्यही कपडाबाट बनेको लहेंगा वा फ्रक लगाउँदा छोरीलाई आमासँग जोडिएको अनुभूति हुन्छ ।
पुरानो साडीबाट नयाँ ड्रेस बनाउँदा आर्थिक बचत हुन्छ । नयाँ कपडा किन्नुपर्दैन । एउटै साडीबाट २–३ वटा बच्चाका आउटफिट बन्न सक्छन् ।
यो पर्यावरणमैत्री पनि हुन्छ । किनकी कपडा फाल्दा हुने प्रदूषण घट्छ । टेक्सटाइल वेस्ट कम हुन्छ । छोरीको उमेर, रङ रुचि र शरीर अनुसार डिजाइन गर्न सकिन्छ । जरी, बोर्डर वा पल्लुको सुन्दर भाग प्रयोग गरेर प्रिमियम लुक दिन सकिन्छ ।
सिल्क वा गुणस्तरीय कपडा भएकाले बच्चाको कपडा पनि लामो समय टिक्छ र धुँदा पनि राम्रो रहन्छ । पुरानो साडीबाट बनाउन सकिने केही लोकप्रिय र आकर्षक डिजाइनहरू
१. लहेंगा चोली
साडीको पल्लुको भागलाई मुख्य स्कर्ट (लहेंगा) को रूपमा प्रयोग गर्नुपर्छ । पल्लुमा रहेको जरी वा बोर्डरले लहेंगालाई स्वाभाविक रूपमा सुन्दर बनाउँछ । तल्लो भाग फ्लेयर दिनका लागि अतिरिक्त कपडा जोड्न सकिन्छ । माथि सानो चोली बनाउन साडीको बाँकी भाग प्रयोग गर्नुपर्छ ।
यदि साडीमा हेभी वर्क छ भने चोलीमा त्यही काम प्रयोग गर्न सकिन्छ । कम्मरमा इलास्टिक राखेर कपडालाई आरामदायी बनाउनुपर्छ । यसरी साडीबाट बनाएको लेहेंगाले ३–१० वर्षका बालिकाहरूका लागि निकै प्यारो र फेस्टिभ लुक दिन्छ ।
२. फ्रक
साडीको विभिन्न भागलाई जोडेर फुल फ्रक वा अनारकली गाउन बनाउन सकिन्छ । साडीको पल्लु वा बोर्डरलाई फ्रकको तल्लो भागका लागि प्रयोग गर्नुपर्छ । माथिल्लो भागका लागि साडीको अन्य भाग काट्नुपर्छ ।
फ्रकको डिजाइनका लागि अब्रेला कट फ्रक, मिडियम लेन्थ फ्रक र लङ गाउन फ्रक बनाउन सकिन्छ । सिल्क साडीबाट बनेको फ्रकले छोरीलाई राजकुमारी लुक प्रदान गर्न सक्छ ।
फ्रकमा भित्री राखेर बनाइयो भने पारर्दशी हुँदैन । सानो बच्चीका लागि फ्रक बनाउँदा बटन प्रयोग गर्नुपर्छ जसले गर्दा लाउन फुकाल्न सजिलो हुन्छ । साडीको टुक्राबाट खल्ती पनि बनाउन सकिन्छ ।
३. कुर्ता सुरुवाल
साडीको पल्लु वा जिउको भागबाट छोरीका लागि लामो कुर्ता बनाउन सकिन्छ । नेकलाइन, स्लिभमा साडीको बोर्डर प्रयोग गरेर सुन्दर बनाउन सकिन्छ । बाँकी कपडाबाट सुरुवाल÷प्लाजो बनाउनुपर्छ । कुर्तामा साइड स्लिप वा लेस वर्कले कुर्तालाई अझ अकर्षक लुक दिन्छ । यो दैनिक वा विशेष समारहोमा लगाउन सकिन्छ ।
४. स्कर्ट टप
यो सबैभन्दा सजिलो र भर्सटाइल डिजाइन हो । साडीको पल्लु वा जिउको भागलाई ए लाइन र सर्कुलर स्र्कट बनाउन सकिन्छ । टपका लागि साडीको हेभी वर्क गरेको भाग प्रयोग गर्न सकिन्छ । स्कर्टमा इलास्टिक ब्यान्ड राखेर लगाउन सजिलो बनाउनुपर्छ । यो स्कर्ट टपलाई कुनै विशेष चाडबाड वा कतै विशेष ठाउँमा जाँदा लगाउन सकिन्छ ।
प्रतिक्रिया 4