+
+
Shares

अभिव्यक्तिका कारण विवादमा परेका रास्वपा सांसद पोखरेलले मागे माफी

उनले प्रेस विज्ञप्तिमार्फत स्पष्टीकरण दिँदै यथार्थ भिडियो सार्वजनिक नभएको र सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै देखिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद विश्वराज पोखरेलले खिजिदेम्बा गाउँपालिका–२ स्थित विद्यालयका प्राध्यापकलाई थर्काएको विषयमा माफी मागेका छन्।
  • पोखरेलले सामाजिक सञ्जालमा भाइरल भिडियोमा सन्दर्भ काटछाँट भएको र यथार्थ नदेखिएको बताएका छन्।
  • उनले आफ्नो व्यवहार संयम हुनुपर्नेमा नभएको स्वीकार्दै विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्।

१२ वैशाख, काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् ।

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका थिए ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।

त्यसक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पनि दिएका हुन् । उनले यथार्थ भिडियो सार्वजनिक नभएको र सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै देखिएको उनले बताएका छन् ।

‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’

साथै, उनले आफ्नो व्यवहार संयम हुनुपर्नेमा नभएको कुरा स्वीकार गरेका छन् ।

‘यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो,’ उनले भने ।

के थियो घटना ?

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए ।

आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?