+
+
Shares
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति :

बुढीगण्डकी बन्न ९ वर्ष लाग्ने, अन्य आयोजना कहिले ?

सरकारले ठूला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्ने मिति नै तोकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पार्दै ठूला जलविद्युत् आयोजना सक्ने मिति नै तोकेको हो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ वैशाख १३ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १८ वटा ठूला जलविद्युत् आयोजना २०९२/०९३ सम्ममा सक्ने मिति तोकेको छ जसबाट २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ।
  • बुढीगण्डकी जलाशययुक्त १२ सय मेगावाट आयोजनालाई २०९१ सम्ममा सक्ने लक्ष्य लिइएको छ र जिम्मेवारी बुढीगण्डकी जलविद्युत कम्पनीलाई दिइएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जाबाट २०८५ भित्र १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ र निजी क्षेत्रले १४ हजार मेगावाट आयोजना २०९२ भित्र सक्ने योजना बनाएको छ।

१३ वैशाख, काठमाडौं । सरकारले ठूला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्ने मिति नै तोकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पार्दै ठूला जलविद्युत् आयोजना सक्ने मिति नै तोकेको हो ।

रणनीतिमा विभिन्न १८ वटा आयोजना २०९२/०९३ (सन् २०३५) सम्ममा सक्नेगरी समयसीमा नै तोकिएको छ । ती १८ वटा आयोजनाबाट २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।

जसमा राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई आगामी ९ वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । २०९१ सम्ममा सक्ने लक्ष्य लिएको उक्त आयोजनालाई बुढीगण्डकी जलविद्युत कम्पनीलाई जिम्मेबार निकाय तोकिएको छ भने ऊर्जा, अर्थ, विद्युत् विकास विभाग र विद्युत् प्राधिकरणलाई समन्वयकारी निकाय तोकिएको छ ।

त्यस्तै ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनालाई आगामी ९ वर्षभित्र (२०९१ सम्म) मा सक्ने समय सीमा तोकिएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको उक्त आयोजना एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा अघि बढिरहेको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको उक्त आयोजनालाई चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत समावेश गरिएको छ ।

त्यस्तै एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना समेत आगामी ९ वर्ष अर्थात् २०९१ भित्रमा सक्ने समयसीमा तोकिएको छ । ८ सय २८ मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् आयोजना आगामी १० वर्षभित्रमा सक्ने लक्ष्य लिइएको छ । बाग्लुङमा निर्माण हुने उक्त आयोजना २०६१ सालदेखि चर्चामा रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगंगा जलविद्युत् कम्पनीमार्फत बन्ने उक्त आयोजनाको २०८० सालमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको थियो । ईआईए प्रतिवेदन स्वीकृत भएसँगै आगामी तीन वर्षभित्र संरचना निर्माणको काम सुरु गर्ने र ७ वर्षभित्र विद्युत उत्पादनको लक्ष्य लिइएको थियो । तर, हालसम्म अध्ययनमै सीमित रहेको उक्त आयोजना सरकारले २०९१ भित्रमा सक्नेगरी समयसीमा तोकेको हो ।

त्यस्तै ४९० मेगावाट क्षमताको अरुण–४ जलविद्युत् आयोजना समेत आगामी ८ वर्ष (२०९० भित्र) सक्ने सीमा तोकिएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमको संयुक्त लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि २०७९ सालमा नेपाल र भारतबीच द्विपक्षीय सम्झौता भएको थियो ।

४ सय १७ मेगावाट क्षमताको नलगाड आयोजना आगामी ९ वर्ष अर्थात २०९१ सम्म सक्ने लक्ष्य राखिएको छ । जाजरकोटको नलगाड नदीमा बन्ने उक्त आयोजना २०७३ सालमा डीपीआर तयार भएर दुई वर्षभित्रमा संरचना निर्माण थाल्ने लक्ष्य लिइएको थियो । तर, हालसम्म आयोजना अलपत्र अवस्थामा छ ।

त्यस्तै ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी ८ वर्षभित्रमा सक्ने समय सीमा तोकिएको छ । वेतन कर्णाली जलविद्युत् कम्पनीमार्फत बन्ने उक्त आयोजना २०९० भित्रमा सक्ने लक्ष्य तोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणबाट सौर्य ऊर्जामार्फत १ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी २ वर्ष अर्थात २०८५ भित्रमा उक्त आयोजना सक्ने लक्ष्य लिएको हो ।

त्यस्तै सरकारी कम्पनी र नेपाल विद्युत् प्राधिकरण तथा सहायक कम्पनीमार्फत प्रवद्र्धित करिब ३ हजार ५ सय मेगावाट क्षमताका आयोजनाहरू २०९२ भित्रमा सक्ने लक्ष्य लिइएको छ । निजी क्षेत्रबाट करिब १४ हजार मेगावाट क्षमताका सौय तथा अन्य आयोजनाहरू समेत २०९२ भित्रमा सक्ने लक्ष्य लिएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?