१४ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको गरिएको स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभलमा दर्शकको ओइरो लागेको छ । होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके च्याप्टरले संयुक्त रूपमा यो फेस्टिभलको आयोजना गरेका हुन् ।
फेस्टिभलमा दैनिक करिब १२ हजारले फेस्टिभलको अवलोकन गरेका थिए । नेपालगन्जलगायत बाँके जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसमा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन, होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेस्टिभल सञ्चालन गरिएको थियो ।
स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरी आयोजना गरेको फेस्टिभलमा स्ट्रिट फुडदेखि पाँच तारे होटलका स्वादसहितका परिकार एउटै स्थानमा राखिएका थिए ।
फेस्टिभलमा स्थानीय स्तरका परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ उपलब्ध थिए । जहाँ एउटै थलोमा सेल रोटी, चिकेन थाई मम, बिरयानी, बँदिया भाले साँधेको, पिजा, सेकुवा, छोइला, ढिक्री, घोंगी, सातु, राबडी, शुशी, नबाबी कबाबलगायत सयौं परिकार उपलब्ध थिए ।
यस्तै, स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएका थिए । फेस्टिभलमा होटल तथा अन्य व्यापारिक प्रतिष्ठानका ५५ वटा स्टल राखिएका थिए ।
तीन दिन चलेको फेस्टिभलमा करिब पाँच हजार भारतीय पर्यटकसहित कुल ३५ हजार दर्शकले अवलोकन गरेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।
नेपालगन्जको प्रचण्ड गर्मीमा साँझ ६ बजे देखि ११ बजेसम्म सञ्चालन भएको यो फेस्टिभलमा पर्यटक आनन्द महसुस गरेको होटेल संघ बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए ।
प्रतिक्रिया 4