News Summary
Generated by OK AI. Editorially reviewed.- रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को पाँचौं दिन नेपाल पुलिस क्लबका दुवै टोली विजयी भएका छन्।
- पुरुषतर्फ नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई ३२-३०, २५-२३, २५-१२ ले हराउँदै लगातार चौथो जित हात पारेको छ।
- महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै लगातार तेस्रो जित हात पारेको छ।
१४ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को पाँचौं दिन विभागीय टोली नेपाल पुलिस क्लबको दुवै टोली विजयी भएका छन् ।
पुलिसले पुरुषतर्फ लगातार चौथो जित हात पार्दा महिलातर्फ लगातार तेस्रो जित हात पारेको हो । दुवैतर्फ नेपाल पुलिस क्लब अपराजित छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भइरहेको एनभीए लिगमा सोमबार पुरुषतर्फ नेपाल पुलिस क्लबले खिल्जी युवा क्लबलाई सोझो सेटमा हरायो । पुलिसले खिल्जीलाई ३२-३०, २५-२३, २५-१२ ले पराजित गरेको हो । पुलिसले लगातार चार खेलबाट १२ अंक जोडेको छ ।
यस्तै पुरुषतर्फ नै विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबमाथि ३-२ को पुनरागमन जित हात पारेको छ । एपीएफले सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेपनि लय कायम राख्न नसक्दा पराजित भयो ।
एपीएफले सुरुवाती दुई सेट २५-१८, २५-२० ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि आर्मीले पुनरागमन गर्दै लगातार तीन सेट २५-२१, २५-१६, १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।आर्मीको यो लगातार तेस्रो जित हो । आर्मीले ३ खेलबाट ८ अंक जोडेको छ ।
यस्तै अर्को खेलमा रुकुम पश्चिम भलिबल क्ललबे बुढानिलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा हरायो । रुकुम पश्चिमले बुढानिलकण्ठलाई २५-१७, २५-२०, १६-२५, २५-११ ले हरायो । रुकुम पश्चिमले लगातार चार खेल जितेर १२ अंक जोडेको छ ।

महिलातर्फ पुलिस र एभरेस्ट विजयी
यस्तै एनभीए भलिबल लिगको महिलातर्फ सोमबार नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब वियजी भएका छन् । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।
पहिलो सेट आर्मीले २५-२१ ले जितेपनि त्यो लय कायम राख्न सकेन । पुलिसले पहिलो सेटपछि पुनरागमन गर्दै लगातार तीन सेट २५-१५,२५-१५,२५-१५ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । लगातार तीन खेल जितेको पुलिसले ९ अंक जोडेको छ ।
त्यसअघि अर्को खेलमा एभरेस्ट भलिबल क्लबले सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गरेको छ । एभरेस्टले सुदूरपश्चिमलाई २५-११,२५-१०,२५-१४ ले पराजित गरेको हो । एभरेष्ट ४ खेलमा यो दोस्रो जित हो ।
एनभीए लिगमा मंगलबार पनि पुरुषतर्फ ३ र महिलातर्फ २ खेल हुनेछ । महिलातर्फ बिहान ९ बजे त्रिभुवन आर्मी र सुदूरपश्चिम तथा बिहान ११ बजे न्यु डायमण्ड र एपीएफ क्लबीच खेल हुनेछ ।
यस्तै पुरुषतर्फ कोशी प्रदेश र खिल्जी युवा क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने हेल्प नेपाल स्पोर्ट्स र एपीएफ क्लबबीचको खेल ३ बजे तथा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र पुलिस क्लबबीच साँझ ५ बजे खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । ९ दिनसम्म सञ्चालन हुने लिगमा पुरुष र महिलातर्फ गरी कूल ४५ खेल हुनेछ ।
सिंगल राउण्ड रोविन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । दुवैको विजेताले समान १० लाख पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4