News Summary
Generated by OK AI. Editorially reviewed.- शहरी विकास मन्त्रालयका सचिव नेतृत्वको सिफारिस समितिले वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
- सिफारिस समितिले १५ जना सर्टलिस्टबाट शैक्षिक योग्यता, कार्ययोजना, अनुभव र अन्तर्वार्ताको आधारमा तीन जनाको नाम सिफारिस गरेको हो ।
- वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीलाई स्वच्छ राख्ने, नदी किनाराका सांस्कृतिक धरोहर जगेर्ना गर्ने र नदी प्रदूषण नियन्त्रण गर्ने काम गर्छ।
१५ वैशाख, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा तीन जनाको नाम सिफारिस भएको छ ।
कास्कीकोट कास्कीका डा. विकास अधिकारी पहिलो नम्बरमा सिफारिस भएका छन् । बैतडीका डा. आनन्द सिंह भाट र सिरहाका संगीता यादव क्रमश: दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् ।
मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल नेतृत्वको सिफारिस समिति सचिवालय बैठकले यही वैशाख १४ गते अधिकारी, भाट र यादवको नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदमा शहरी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गर्ने व्यवस्था छ ।
ओली सरकारको पालामा अघि बढेको थियो प्रक्रिया
शहरी विकास मन्त्रालयले २०८२ कात्तिक २७ गते नै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो । १७ जनाले आवदेन दिएका थिए । आवेदन दिएकाहरुमध्येबाट १५ जना सर्टलिस्टमा परेका थिए ।
ती १५ जना उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, व्यवसायीक कार्ययोजनाको मूल्यांकन, व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतको मूल्यांकनबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

त्यसअघि केपी ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंह शहरी विकास मन्त्री हुँदा कांग्रेसका दीपक कुइँकेललाई समितिको अध्यक्ष नियुक्त गर्ने भनेर सिफारिस गरेर मन्त्रिपरिषदमा पुगिसकेको थियो । त्यही बीचमा जेनजी आन्दोलन भएर सरकार ढल्यो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि अघिल्लो सरकारको पालामा भएका सबै सिफारिस सम्बन्धित मन्त्रालयमा फिर्ता पठाइएको थियो ।
त्यसपछि अन्तरिम सरकारका शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कुलमान घिसिङको पालामा पुन: विज्ञापन आह्वान गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको थियो ।
के गर्छ वाग्मती सभ्यता एकीकृत विकास समितिले ?
काठमाडौं उपत्यका भित्र वाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्नु अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको मुख्य उद्देश्य हो ।
वाग्मती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई स्वच्छ र सफा राख्ने कार्यजिम्मेवारी समितिको छ । यसैगरी वाग्मती नदीमा कुनै प्रकारको दूषित (ठोस वा तरल) पदार्थ मिसाउन नपाउने र कुनै तरल पदार्थ मिसाउनै परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन पाउने व्यवस्था गर्नको निमित्त नदी किनारामा ढल निर्माण गर्ने लगायतका काम पनि यसकै कार्यक्षेत्रमा पर्दछ ।
साथै फोहर पानी प्रशोधन केन्द्रहरुको निर्माण, सञ्चालन तथा सम्भार गर्ने, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकता अनुसार सडक निर्माण र वृक्षारोपण गर्ने तथा काठमाडौं उपत्यकाका अन्य नदीहरुको वहावक्षेत्र र हरितक्षेत्र अतिक्रमण नियन्त्रण गर्ने उद्देश्य तथा कार्यक्रम यही समिति मातहत पर्दछ ।
प्रतिक्रिया 4