News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले बुधबार ओमानसँग खेल्दैछ ।
- नेपालले ओमानसँग ओडीआई फर्म्याटमा डेढ वर्षपछि र कीर्तिपुरमा तीन वर्षपछि खेल्दैछ ।
- ओमानले २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ भने नेपाल २१ खेलमा १४ अंकसहित सातौं स्थानमा छ ।
१५ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको शृंखलाको दोस्रो खेलमा नेपालले बुधबार ओमानसँग खेल्दै छ ।
ओमानसँग नेपालले ओडीआई फर्म्याटमा डेढ वर्षपछि खेल्दा घरेलु मैदान कीर्तिपुरमा तीन वर्षपछि खेल्दैछ । पछिल्लोपटक सन् २०२३ अप्रिलमा भएको एसीसी प्रिमियर कपमा नेपालले ओमानसँग कीर्तिपुरमा खेलेको थियो ।
उक्त खेलमा नेपालले खराब सुरुवात गर्दा कुशल मल्लले शानदार शतक प्रहार गर्दै नेपालको इनिङ उकासेका थिए भने उक्त खेल नेपालले जितेको थियो । यद्यपी मल्ल हाल नेपालको ओडीआई टोलीमा छैनन् ।
त्यसपछि नेपालले २०२४ को सेप्टेम्बरमा ओमानसँग अमेरिकामा खेलेको थियो जहाँ भने पराजित भएको थियो । त्यही शृंखलाको अर्को खेल भने रद्द भएको थियो ।
यस्तै यी दुई टोलीबीच लिग २ कै खेल कीर्तिपुरमा हुन लागेको भने ७ वर्षपछि हो । सन् २०२० मा ओमानले नेपाल आएर लिग २ खेलेको थियो ।
ती सबै खेलहरूमा ओमानको टोलीमा अधिकांश एउटै खेलाडीहरू थिए । यद्यपी २०२३ यता भने तीनजना खेलाडी मात्र अहिलेको टोलीमा छन् । यस अर्थमा नेपालले फेरिएको ओमानी टोलीसँग ओडीआई फर्म्याटमा पहिलोपटक खेल्दैछ ।
कप्तान रोहित पौडेलले ओमानविरुद्धको खेलमा पनि आफ्नो बेस्ट दिने बताएका छन् । ‘ओमान एकदम राम्रो टिम हो र हामी ओमानसँग पनि राम्रो खेल खेल्नेछौं’ रोहितले भनेका छन् ।

हालको लय अनि हेड टु हेड
लिग २ को अंकतालिकामा नेपाल र ओमान ठिक विपरित अवस्थामा छन् । ओमान तालिकाको शीर्ष ४ मा छ भने नेपाल बटम ४ मा अवस्थित छ ।
ओमानले २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ भने नेपालले २१ खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २२ खेलमा १२ अंक छ ।
यस शृंखलाअघि ओमानले नेपालको ए टोलीसँग पनि दुई खेलको शृंखला खेलेको थियो । पहिलो खेल ओमानले जित्दा दोस्रो खेलमा पराजित भयो । उक्त जितलाई नेपाल ए का ब्याटर इशान पान्डेले स्टेटमेन्ट विन भनेका थिए ।
इशानले लिग २ अघि ओमानको कन्फिडेन्स डाउन गर्न सक्नु सिनियर टिमका लागि पनि राम्रो फाइदा भएको उल्लेख गरेका थिए । ‘उनीहरूको लागि अभ्यास खेल थियो, यो खेलमा उनीहरूको कन्फिडेन्स डाउन गराएर लिग २ मा पठाउनु भनेको हाम्रो टिमका लागि पनि बूस्ट हो जस्तो लाग्छ’ इशानले भनेका थिए ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले ए टोलीले हराउँदैमा आफुहरूले हल्का रूपमा लिन नहुने बताएका छन् । ‘ए टोलीले हराउनु राम्रो कुरा हो, हामीले हल्का रूपमा चाहिँ लिन हुँदैन । ए टिमले हराइसकेको भएर हराउन सक्छौं भन्ने आत्मविश्वास राखेका छौं’ उनले भने ।
यही लिग २ को शृंखलामा भने नेपालले पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो भने ओमान यूएईसँग पराजित भएको थियो । यो नतिजाले नेपाललाई भने फाइदा पुगेको छ ।
नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ८ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा चारमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।
कीर्तिपुरमा भने यी दुई टोली ३ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले २ खेल जितेको छ ।

टिम कम्बिनेशन र सम्भावित ११
नेपालले पछिल्लोपटक खेलेको ओाानी टोलीभन्दा यो टोली फरक छ । यद्यपी नयाँ खेलाडीहरू सम्मिलित ओमानको टोलीले लिग २ का खेलहरू यसअघि पनि खेलिसकेका छन् ।
ओमानी टोलीको कप्तानमा जतिन्दर सिंह छन् । उनीसँगै बाँयाहाते स्पीनर शकील अहमद र जय ओडेरा पुरानै सेटअपका खेलाडीहरू हुन् । अन्य खेलाडीहरू नयाँ छन् ।
यता नेपालको टोलीमा पनि यो शृंखलाअघि केही परिवर्तन भएका थिए । अर्जुन कुमाललाई पहिलोपटक समेट्दा विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका थिए । यद्यपी दुवैले मौका भने पाउन बाँकी छ ।
ओमानसँग यो शृंखलाअघि नेपाल ए ले खेलेको थियो जहाँ अर्जुनले पनि खेलेका थिए । उनलाई त्यही आधारमा प्रशिक्षकले मौका दिन सक्ने सम्भावना भने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ ।
यता ओमानले यूएईसँगको खेलमा राम्रो सुरुवात गरेपनि अन्त्य गर्न चुक्दा खेल गुमाएको थियो । ओमान त्यही टोलीका साथ मैदानमा उत्रिने सम्भावना छ ।
नेपालको सम्भावित ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख/अर्जुन कुमाल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी
ओमानको सम्भावित ११ : जतिन्दर सिंह (कप्तान), आशिष ओडेरा, जितेन रामानन्दी, विनायक शुक्ला, मुजिबुर अली, हम्माद मिर्जा, शकील अहमद, वासिम अली, शाह फैसल, हस्नैन शाह, सिद्धार्थ बुकापटनम
प्लेयर्स टु वाच

नेपालका लागि ब्याटिङमा भीम सार्की र दीपेन्द्रसिंह ऐरीको मध्यक्रम ब्याटिङ सबैभन्दा महत्त्वपूर्ण हुनेछ । दीपेन्द्रले यूएईविरुद्धको खेलमा संयमित ब्याटिङ गर्दै टिमलाई संकटबाट पार लगाएका थिए । भीम ओडीआईमा भरपर्दा ब्याटर हुन् ।
यस्तै बलिङमा सन्दीप लामिछाने र करण केसी मुख्य हतियार हुनेछन् । सन्दीप ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् भने घरेलु मैदानमा उनको रेकर्ड पनि राम्रो छ । यस्तै करण केसी दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् भने २०० विकेटबाट केवल ५ विकेट मात्र टाढा छन् ।
यता ओमानका लागि कप्तान जतिन्दर सिंहको पावरप्ले ब्याटिङमा नजर रहनेछ । पहिलो खेलमा पनि उनले अर्धशतक बनाइसकेका छन् । यस्तै बलिङमा शकील अहमदको स्पेल सबैभन्दा महत्त्वपूर्ढ हुनेछ । नेपाली ब्याटर बाँयाहाते स्पीनमा संघर्ष गर्ने भएकाले उनी चम्कन सक्छन् ।
खेल : नेपाल भर्सेस् ओमान
मिति र समय : १६ वैशाख, विहान ९:३०
मौसम : बादल, वर्षाको सम्भावना
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमद, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी
प्रतिक्रिया 4