१५ वैशाख, काठमाडौं । सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति ललितपुरमार्फत महानगरपालिका तथा सबै नगरपालिका र गाउँपालिकालाई उक्त ज्ञापनपत्र पठाइएको हो ।
मंगलबार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा समन्वय समितिमार्फत ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका, साथै महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा पत्राचार गर्न अनुरोध गरिएको छ ।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयका आधारमा २०८२ चैत १८ गते जारी गरिएको परिपत्रप्रति गम्भीर असन्तुष्टि जनाएको छ । उक्त परिपत्रमार्फत संघीय, प्रदेश र स्थानीय तहका निकायलाई सरकारी सञ्चारमाध्यममै मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।
ज्ञापनपत्रमा नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई थप कमजोर बनाउने तर्क गरिएको छ ।
महासंघले सरोकारवाला पक्षसँग पर्याप्त परामर्श नगरी लिइएको उक्त निर्णयलाई आपत्तिजनक ठहर गरेको छ । सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने नीति बहुसंख्यक निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद र अन्याय भएको महासंघको निष्कर्ष छ ।
प्रतिक्रिया 4