News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षौंदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्डमा टावर राख्ने कार्य अगाडि बढेको छ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा मुआब्जा विवाद टुङ्ग्याएर टावर निर्माण सुरु गरिएको हो।
- सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ र परियोजना पूरा भएपछि विद्युत् आपूर्ति विश्वसनीय हुनेछ।
१५ वैशाख, काठमाडौं । वर्षौंदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र)मा टावर राख्ने कार्य अगाडि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको हो ।
मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याएका थिए । टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
सन् २०१२ बाट निर्माण सुरु भएको सो प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौदेखि अलपत्र परेको थियो । नेपालको विद्युत प्रणालीको मेरुदण्डका रुपमा लिइने यस परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ ।
यो प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्नेछ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) तीन वर्ष अगाडि नै सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया 4