+
+
Shares

जिउँदो व्यक्तिको मृत्यु दर्ता, वडाध्यक्षसहित चार जना पक्राउ

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १९:१९

१५ वैशाख, बुटवल । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको आरोपमा पश्चिम नवलपरासीमा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि खोजी कार्य तीव्र पारिएको पन्तले बताए ।

यसअघि झुटा विवरण पेस गरी मृत्यु दर्ता गराउने मुख्य आरोपित  सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अनुसन्धानका क्रममा अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ का अर्कै ६६ वर्षीय आफन्तको गतवर्ष मृत्यु दर्ता गराएको खुलेको डीएसपी पन्तले बताए । तर, अन्सारीका पिताको मृत्यु भने २०६० सालमै भइसकेको तथ्य भेटिएको छ ।

घटनाको वास्तविकता थाहा पाएपछि मृत्यु दर्तामा नाम समावेश गरिएका वृद्धका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो ।

मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्, भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?