+
+
Shares

दाङका अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी, विश्वविद्यालयदेखि प्रहरीकै जग्गा कब्जा

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसँग छलफल गरी सार्वजनिक जग्गामा भएको अवैध कब्जा तत्काल हटाउने प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८३ वैशाख १६ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङमा सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने प्रक्रिया संघ सरकारको निर्देशनअनुसार अघि बढाइएको छ।
  • नेपाल संस्कृत विश्वविद्यालयको १३२६ बिघा जग्गा र स्वर्गद्वारी आश्रमको ९५८ बिघा जग्गा लामो समयदेखि अतिक्रमणमा छ।
  • प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अतिक्रमण नियन्त्रणका लागि डिजिटल अभिलेख तयार गर्ने र विशेष अभियान सञ्चालन गर्ने बताए।

१६ वैशाख, काठमाडौं । दाङमा सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने तयारी गरिएको छ । देशका अन्य ठाउँमा जस्तै दाङमा पनि सरकारी जग्गामा भएको अतिक्रमण हटाउन लागिएको हो ।

दाङमा लामो समयदेखि विभिन्न सरकारी तथा सार्वजिनक जग्गाहरूमा भूमिहीन तथा सुकुमवासी र अव्यवस्थित बसोबास रहँदै आएको छ । अहिले तिनै जग्गाहरूको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसँग छलफल गरी सार्वजनिक जग्गामा भएको अवैध कब्जा तत्काल हटाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

अर्यालका अनुसार संघ सरकारको निर्देशनअनुसार अतिक्रमण हटाउने तयारी थालिएको हो । जसअनुसार जग्गा अतिक्रमणमा परेका धेरैजसो निकायको लागि लगत संकलन भइसकेको छ ।

कब्जामा रहेको प्रशासनको जग्गा ।

‘कहाँ, कति जग्गा अतिक्रमित छ, कसको कति बसोबास छ भनेर केहीको लगत संकलन भइसकेको छ,’ उनले भने, ‘केहीको हुन बाँकी छ । लगत संकलन भइसकेका ठाउँमा अतिक्रमण छिट्टै हटाइने छ ।’ त्यसका लागि सम्बन्धित निकाय र स्थानीय तहलाई जिम्मा दिइएको अर्यालले बताए ।

दाङमा नेपाल संस्कृत विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, जिल्ला प्रशासन कार्यालय, नेपाल पुलिस स्कुल, इलाका प्रहरी कार्यालय तुलसीपुर, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र विभिन्न क्याम्पस तथा विद्यालयका गरी हजारौं बिघा जग्गा अतिक्रिमत छन् । ती जग्गाहरूमा भूमिहीन तथा सुकुमवासी र अव्यवस्थित बसोबास रहँदै आएको छ । ती जग्गामा घर-टहरा निर्माण गरी वस्ती बसाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्न लागिएको बताए । त्यस्तै, निगरानी प्रणाली सुदृढ गर्ने र साथै नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउँदै विशेष अभियान सञ्चालन गरिने बताए ।

दाङमा हजारौं बिघा जग्गा अतिक्रमण

दाङमा लामो समयदेखि जग्गा अतिक्रमण हुँदै आएको छ । स्थानीय तह, गुठी, विश्वविद्यालय, क्याम्पस, विद्यालय, अस्पताल, प्रशासन कार्यालय, प्रहरी लगायतका सरकारी तथा सर्वाजिनक संस्थाहरूका जग्गा लामो समयदेखि अतिक्रमणमा परेका छन् । जिल्लामा हजारौं बिघा जग्गा अतिक्रमण भएको अनुमान छ ।

सबैभन्दा धेरै दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविध्यालयको जग्गा अतिक्रमित छ । विश्वविद्यालयका अनुसार देउखुरीमा रहेको १ हजार ३२६ बिघा जग्गा २१ वर्षदेखि अतिक्रमणमा छ ।

त्यस्तै, धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको ९५८ बिघा जग्गामा अतिक्रमणमा परेको छ । २४ वर्षदेखि विभिन्न व्यक्तिले घर बनाएर बसोबास गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङको २५ बिघा जग्गा पनि अतिक्रमणमा परेको छ । घोराही-तुल्सीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-१६ सानी अम्बापुरको मुक्त कमैया बस्तीमा ५३ बढी परिवारको बसोबास रहेको छ । २०६१ सालदेखि मुक्त कमैयाहरूले बस्ती बसाएर उपभोग गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यलयकाे २५ बिघा जमिनमा बसेकाे मुत्त कमैया बस्ती ।

त्यस्तै, इलाका प्रहरी कार्यालय तुल्सीपुरको नाममा अढाइ कठ्टा अतिक्रमणमा छ । तुलसीपुरकै तत्कालीन अञ्चल प्रहरी कार्यालयको जग्गामा १० जनाले पक्की घर बनाएका छन् ।

दाङकै नेपाल पुलिस स्कुलको २१ बिघा जग्गामा पनि सुकुमवासीले अतिक्रमण गरी बसेका छन् । लमहीको देउखुरीमा तत्कालीन दीपेन्द्र प्रहरी माविको नाममा रहेको २१ बिघा जग्गामा सुकुमवासी र भूमिहीनले टहरा बनाएर बसेका छन् ।

दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा पनि अतिक्रमणमा परेको छ । त्यस्तै अर्को शैक्षिक संस्था महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको ९२ बिघा जग्गा कब्जामा छ ।

खास गरी माओवादी सशस्त्र द्वन्द्वका क्रममा दाङमा विभिन्न संघ, संस्था, विद्यालय र सकारी निकायका जग्गा हजारौं बिद्या जग्गा अतिक्रमण भएका थिए ।

‘विद्रोही माओवादीले अतिक्रमण गरेका केही जग्गा फिर्ता गर्ने भने पनि धेरैजसो जग्गा फुकुवा हुन सकेनन्,’ नागरिक समाज दाङका पूर्वअध्यक्ष चन्द्रराज पन्त भन्छन् , ‘त्यसको लाभ उठाएर विभिन्न समयमा व्यक्ति र समूहहरूले जग्गा अतिक्रमण गरेर बसे । जुन् अहिले पनि जारी छ ।’

उनका अनुसार त्यतिबेला अतिक्रमण गरिएका व्यक्तिका जग्गा फिर्ता भए पनि सरकारी जग्गा, संघ-संस्था र स्कुलका जग्गामा भने किसान, भूमिहीन, सुकुमवासी र गैरसुकुमवासीले समेत बसोबास र उपभोग गर्दै आएका छन् ।

लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?