News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'एक मुठ्ठी बादल' मा कान्छा सदस्य अविरलप्रताप अधिकारीले भाइको भूमिका निभाएका छन् र १७ वर्षको उमेरमा अडिसन दिएर छनोट भएका थिए।
- निर्देशक सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यो फिल्म जेठ १ देखि प्रदर्शनमा आउँदैछ र यसमा निशा शर्मा, शेखर चापागाईं लगायत कलाकार छन्।
- अविरलले फिल्मको सुटिङमा पहिलो पटक प्लेन चढेको र भावुक भएर रोएको अनुभव सुनाएका छन् भने फिल्मको पटकथा नेपालभरिका परिवारमाथि रिसर्च गरेर लेखिएको छ।
काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’ परिवारको कान्छा सदस्य हुन् अविरलप्रताप अधिकारी । फिल्ममा मात्र होइन सुटिङ युनिटमा पनि उनी कान्छो सदस्य नै थिए । उमेरले कान्छा भएपनि अडिसन दिन कुरामा उनी पहिलो ठहरिए ।
विश्वका विभिन्न ल्याब हुँदै सुटिङमा निस्किएको फिल्मले पटकथालाई अहिलेको स्वरुपमा ढाल्न नै ६/७ वर्ष खर्चिएको थियो । यही क्रममा निर्माण टिमले भाइको चरित्रको लागि अविरलको अडिसन लिएको थियो ।
‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव’ प्रदर्शन तयारीमा रहेको फिल्मलाई लिएर उत्साहित सुनिएका उनी भन्दै थिए, ‘दुई पेजको दृश्य आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ । निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो । त्यसको ५ वर्षपछि बल्ल खबर आयो ।’
‘फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो चलचित्रमा काम गर्ने अवसर पाएँ,’ अविरलले सुनाए ।
अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रुपमा लिएका छन् । किनकि फिल्ममा अभिनय गर्ने उनको सपना मात्र यसले पूरा गरेको थिएन, जीवनको पहिलो प्लेन पनि चढाएको थियो ।
अविरल भन्छन्, ‘यो चलचित्रको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एड्भेन्चर लागेको थियो । त्योबाहेक यो चलचित्रको सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ ।’
त्यसो त, अविरलले विरासतमै कलाकारिताका गुण लिएर आएका हुन् । चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप उनका हजुरबा हुन् भने कार्यक्रम निर्देशक एवं कमेन्टेटर अमनप्रताप उनका बुबा । परिवारको यही विरासत पछ्याउँदै उनले नाटक हुँदै फिल्ममा पाइला चालेका हुन् । ‘एक मुठ्ठी बादल’ पछि उनले ‘पारी बुटोल’ मा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा उनले घरकोे एक्लो छोरो र दिदीहरूको पुलपुलिएको भाइको रुपमा अभिनय गरेका छन् । वास्तविक जीवनमा भने उनी यसविपरित छन् । घरमा उनी दिदीका भाइ हुन् तर फिल्ममा दिदी बन्ने उषा रजक र आँचल शर्माभन्दा उनको दिदीसँगको सम्बन्ध फरक छ ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर चलचित्रमा मैले बेग्लै हिसाबले बोलेको छु । घरमा दिदीसँग हुर्किएकाले चलचित्र भित्रको दिदी भाइको डायनामिक्स बुझ्न सजिलो भयो । तर त्यो भाइ अर्कै हो भने चलचित्रको भाइ अर्कै हो,’ अविरलले भने ।
आफ्नो चरित्रलाई धेरै दिदीभाइले रिलेट गर्ने उनी बताउँछन् । आफ्नो मात्र होइन, फिल्मभित्रका हरेक सदस्यले हाम्रो परिवारका भिन्न– भिन्न सदस्यको आत्मा समातेका छन् । जुन चरित्र हेरे पनि दर्शकलाई आफूले देखेको महसुस हुने अविरलको बुझाइ छ । यही अनुभवका लागि पनि ‘एक मुठ्ठी बादल’ हेर्नु पर्ने उनको जिकिर छ ।
‘यसको पटकथा नै नेपाल भरिका सम्पूर्ण परिवारमाथि रिसर्च गरेर लेखे जस्तो छ । त्यसैले यसका हरेक चरित्र वास्तविक लाग्छन् । यसमा भाइको चरित्र अझ स्पेसल छ,’ अविरल हाँस्दै सुनाउँछन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको ‘एक मुठ्ठी बादल’ जेठ १ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, गौरव बिष्ट, सहयोगराज अधिकारी, भीमा मैनाली, अस्मिता गौतम लगायतको अभिनय छ ।
प्रतिक्रिया 4