१६ वैशाख, सिरहा । सिरहामा बालबालिकाको पोषण अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ ।
बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले देशभर सञ्चालन गरिएको अभियानअन्तर्गत सिरहाका सबै १७ वटै पालिकामा कार्यक्रम अघि बढाइएको हो ।
दलित विकास मञ्च गोलबजारले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय पालिकाहरूको समन्वयमा सञ्चालित ‘जीवनका लागि पोषण कार्यक्रम’ अन्तर्गत अभियान सुरु गरेको हो ।
अभियानमा सुनौलो हजार दिनका आमासहित बालबालिकाको पोषण अवस्था पहिचान गरिनेछ ।
मञ्चका कार्यकारी निर्देशकका अनुसार अभियान अन्तर्गत बालबालिकाको उचाइ, तौल र पाखुराको मध्य भागको परिधि मापन गरेर पोषण अवस्था निर्धारण गरिनेछ ।
यस क्रममा ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिका तथा करिब १४ हजार आमाहरूको पोषण परीक्षण गरिने लक्ष्य राखिएको छ ।
वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानमार्फत शीघ्र कुपोषण पहिचान गरी समयमै उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
अभियानका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरघरमै पुगेर बालबालिकाको पाखुराको परिधि नापिनेछ ।
साथै, कुपोषित बालबालिकाका लागि बहिरङ्ग सेवामार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ ।
नेपाल सरकारको योजनाअनुसार अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिनेछ ।
प्रतिक्रिया 4