+
+
Shares

कृषिका अनुसन्धान खेतबारीसम्म पुर्‍याउन नार्कलाई मन्त्री चौधरीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले नार्कलाई अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिइन्।
  • मन्त्री चौधरीले नार्कलाई राष्ट्रिय थिंक ट्यांक र प्राविधिक सहयोगको अग्रणी संस्था बनाउने योजना सुनाइन्।
  • उनले कृषि अनुसन्धानलाई मुख्य प्राथमिकतामा राख्दै मलको सही प्रयोगदेखि उत्पादन व्यवस्थापनसम्म किसानलाई जानकारी पुर्‍याउने संयन्त्र विकास गर्न निर्देशन दिइन्।

१६ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कृषि अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन नार्कलाई निर्देशन दिएकी छन् ।

मंगलबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै उनले अबको अनुसन्धान ल्याबबाट फार्मतर्फ केन्द्रित हुनुपर्ने र किसानको खेतलाई नै प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने बताइन् ।

नार्कको केन्द्रीय कार्यालयमा आयोजित ब्रिफिङ कार्यक्रममा मन्त्री चौधरीले कृषि क्षेत्रको सुधारका लागि अनुसन्धानलाई नै मन्त्रालयले मुख्य प्राथमिकतामा राख्ने बताइन् ।

उनले नार्कलाई राष्ट्रिय ‘थिंक ट्यांक’ र प्राविधिक सहयोगको अग्रणी संस्थाका रूपमा अघि बढाउने योजना सुनाइन् । नेपालमा कृषि क्षेत्रको अवस्था अपेक्षाअनुसार सन्तोषजनक नभएको उल्लेख गर्दै उनले किसान पेशालाई सम्मानित र मर्यादित बनाउन अनुसन्धानमुखी कार्य आवश्यक रहेको औंल्याइन् ।

‘हामीमध्ये धेरै किसानका छोराछोरी हौं, तर आज किसानको सन्तान भएकोमा गर्व गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो अवस्था बदल्ने जिम्मेवारी नार्कको हो ।’

विगतमा अनुसन्धानलाई पर्याप्त प्राथमिकता नदिँदा कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ । उनले अबका नीतिहरू अनुसन्धानमा आधारित हुने स्पष्ट पारिन् ।

मन्त्री चौधरीले विश्वविद्यालयहरूसँग सहकार्य गरी मानव स्रोतको अधिकतम उपयोग गर्न र अनुसन्धानमा समन्वय बढाउन निर्देशन दिइन् । उनले कृषिमा जनचेतनाको अभाव प्रमुख समस्या रहेको भन्दै मलको सही प्रयोगदेखि उत्पादन व्यवस्थापनसम्मका जानकारी किसानलाई प्रत्यक्ष पुर्‍याउने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिइन् ।

रासायनिक मलको अभावजस्ता दीर्घकालीन समस्याको समाधान खोज्न अनुसन्धानलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।

सरकारले कृषि अनुसन्धानका लागि आवश्यक स्रोत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर नतिजामुखी काम गर्न निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?