News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा ओमानसँग डीएलएस मेथर्डका आधारमा १०२ रनले पराजित भयो।
- नेपालले ३०६ रनको लक्ष्य पछ्याउँदा ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर मात्र १५५ रन बनायो।
- नेपालले २२ खेलमा ६ जितसहित १४ अंक जोडेर सातौं स्थानमा रहँदा शीर्ष ४ मा पुग्न कठिनाइ बढेको छ।
१६ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालको खराब प्रदर्शन कायमै छ । घरेलु मैदानमा जारी सिरिजमा नेपाल बुधबार ओमानसँग डीएलएस मेथर्डका आधारमा १०२ रनले पराजित हुन पुग्यो ।
हारको मुख्य कारण बन्यो –ब्याटिङ । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलको खेल सकिँदा ७ विकेट गुमाएर मात्र १५५ रन बनाएको थियो ।
लगातार अवसर पाइरहेका कप्तान रोहित पौडेलसहित ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेल फेरि एकपटक चल्न सकेनन् । रोहित १०, आसिफ १९ र कुशल एक रनमा आउट भए । ओपनरसहित टप अर्डर चल्न नसक्दा नेपालको ब्याटिङ धरासायी बन्न पुग्यो ।
यो समस्या नेपालका लागि नयाँ होइन । नेपालका पछिल्लो १० ओडिआई खेल हेर्ने हो भने यी तीन खेलाडी अधिकांश खेलमा फ्लप भएका छन् । कप्तान रोहितले पछिल्ला १० खेलमध्ये एक खेलमा मात्र शतक प्रहार गरेका छन् ।
त्यसबाहेकका ९ खेलमा उनले ४० कटाउन सकेका छैनन् । सन् २०२५ को अक्टोबरमा यूएईविरुद्ध १०९ रनको शतकीय पारी खेलेका थिए । त्यसबाहेक रोहित चल्न सकेका छैनन् । ४ खेलमा उनले ३ रन कटाउन सकेका छैनन् ।
ओपनर कुशल र आसिफको हालत पनि उस्तै छ । पछिल्ला १० ओडीआईमा कुशलले एकमात्र अर्धशतक बनाएका छन् । त्यसबाहेकका खेलमा उनको प्रदर्शन सम्झनालायक छैन ।
गत चैत–वैशाखमा भएको प्रधानमन्त्री(पीएम) कपमा दोहोरो शतक बनाएका आसिफको ओडीआईमा पछिल्लो समय राम्रो प्रदर्शन छैन । आसिफले पछिल्लो १० ओडीआईमा कुनै खेलमा अर्धशतक बनाउन सकेका छैनन् ।
ओडीआईमा अवसर पाएका भीम सार्कीले पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । केही समय क्रिजमा रहेपनि उनले ठूलो स्कोर बनाउन सकेको देखिँदैन । टपअर्डर जम्न नसक्दा नेपाली ब्याटिङ पछिल्लो समय संकटमा पर्न थालेको छ ।
लगातार ओपनर र टपअर्डर नचल्दा प्रशिक्षकले नयाँलाई अवसर पनि दिन सकेका छैन । टप अर्डरमा संयमित ब्याटिङ गर्ने अर्जुन कुमाल र विनोद भण्डारी बेन्चमै बसेर चित्त बुझाइरहेका छन् ।
लिग–२ को यसअघिको संस्करण अन्तर्गत घरेलु मैदानमा भएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, यसपटक घरेलु मैदानमै राम्रो नतिजा नआउँदा लिग २ को शीर्ष ४ मा रहने सम्भावना निकै कठिन बन्दै गएको छ ।
२२ खेल खेलिसकेको नेपालले ६ खेलमा मात्रै जित निकालेको छ । १४ अंक जोडेको नेपाल सातौं स्थानमा छ । लिग २ अन्तर्गत नेपालले घरेलु मैदानमा थप ६ खेल खेल्नेछ भने बाँकी ८ खेल विदेशमा खेल्नेछ ।
प्रतिक्रिया 4