१६ वैशाख, काठमाडौं । बलात्कारपछि हत्या अभियोगका फरार कैदी पक्राउ परेका छन् । कास्की कारागारबाट भदौ २४ गतेको घटनामा फरार भएका बागलुङ गलकोट नगरपालिका–९ घरभई नवलपरासीको गैंडाकोट नगरपालिका–१२ बस्ने ३१ वर्षीय सञ्जय बिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
काठमाडौंको चाबहिल क्षेत्रमा लुकिछिपी बसेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिकलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उनीमाथि २०८० मंसिर ५ गते तनहुँ भिमाद घर भएकी ३९ की सुकु बिकमाथि बलात्कारपछि हत्याको अभियोग पुष्टि भएको प्रहरीले जनाएको छ । उनले सुकुलाई पोखराको युनिक होटलमा लगेर जबरजस्ती करणी गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही कसुरमा उनी २०८१ साउन १ गते पक्राउ परेका थिए । २०८२ जेठ २६ गते कास्की जिल्ला अदालतले उनीमाथि जन्म कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी कास्की कारगारमा कैद सजाय काटिरहेका थिए, जहाँबाट भदौ २४ गते फरार भएका थिए ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पठाइएको एसपी कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4