News Summary
Generated by OK AI. Editorially reviewed.- रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित हात पारेको छ।
- महिला भलिबल लिगको फाइनलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
- पुरुष र महिलातर्फ शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विजेताले समान १० लाख पुरस्कार पाउनेछन्।
१६ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हेल्प नेपालले रुकुम पश्चिम भलिबल क्लबलाई सोझो सेटमा हरायो । तर विदेशी खेलाडी समावेश गर्दै फाइनल पुग्न दाबेदारी दिइरहेको दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो ।
घरेलु भलिबलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको हेल्प नेपालले आफ्नो अनुभवलाई भरपुर सदुपयोग गर्दा रुकुम पश्चिममा भने अनुभवको कमजोरी देखियो ।
तीन सेट हेल्प नेपालले लगातार जितेपनि हरेक सेट प्रतिस्पर्धात्मक बनेको थियो । हेल्प नेपालले रुकुम पश्चिमलाई २५- २३, २५-२२, २५-२३ ले हरायो ।
सुरुवाती चार खेलमा जित हात पारेको रुकम पश्चिमको अपराजित यात्रा पनि टुङ्गिएको छ । लगातार पाँच खेल जित्दै अपराजित रहेको हेल्प नेपालले १५ अंक जोडेको छ ।
अर्को अपराजित टोली नेपाल पुलिस क्लबले पनि लगातार पाँच खेल जितेर १५ अंक जोडेको छ । पहिलो हार बेहोरेको रुकुम पश्चिम ५ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै पुरुषतर्फको अन्य खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब पनि विजयी भए । आर्मीले कोशी प्रदेशलाई २५- १५, २५-१८, २५-१७ ले हरायो । पाँच खेलमा आर्मीको यो चौथो जित हो । आर्मी ११ अंक जोडेर चौथो स्थानमा छ ।
यस्तै एपीएफले बुढानिलकण्ठ भलिबल क्लबलाई २५- २३, २५-२२, २५-२१ ले हरायो । एपीएफको यो पहिलो जित हो । लगातार चार खेलमा पराजित भएको एपीएफले पहिलो जितपछि ३ अंक जोड्दै अंकको खाता खोलेको छ ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले बुधबार नेपाल एपीएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । अब महिलाको फाइनलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यही दुई टोली महिलातर्फ लिग चरणको अन्तिम खेलमा बिहीबार खेल्दैछन् । दुवैका लागि यो फाइनलअघि रिहर्सल जस्तै हुनेछ । न्यु डायमण्ड र पुलिसबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ । त्यसअघि लिगमा बिहीबार पुरुषतर्फ ४ खेल हुनेछ ।
कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबबीचको खेल बिहान ९ बजे सुरु हुनेछ भने एपीएफ र खिल्जी युवा क्लबबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै फाइनल पुग्नका लागि दुई महत्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल क्लबबीच दिउँसो १ बजे र हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । ९ दिनसम्म सञ्चालन हुने लिगमा पुरुष र महिलातर्फ गरी कूल ४५ खेल हुनेछ ।
सिंगल राउण्ड रोविन लिगपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । दुवैको विजेताले समान १० लाख पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4