News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानसँग घरेलु खेलमा पराजित भयो।
- नेपालले यूएईसँगको खेलमा टप अर्डरमा परिवर्तन गर्दै अर्जुन कुमाललाई मौका दिन सक्नेछ।
- नेपाल र यूएआई लिग २ मा क्रमशः सातौं र आठौं स्थानमा छन् र १८ वैशाखमा खेल्नेछन्।
१७ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा संकटपुर्ण अवस्थामा रहेको नेपाली क्रिकेट टोलीले घरेलु शृंखलाअन्तर्गत बुधबार भएको ओमानसँगको खेलमा कमजोर प्रदर्शन गर्दै पराजित भयो ।
पहिलो खेलमा यूएईलाई हराएको नेपाल ३ दिनको ग्यापपछि ओमानसँग खेल्दा भने पराजित भयो । पहिलो खेलमा जितका बाबजुद पनि नेपालको टप अर्डर ब्याटिङ फिक्का देखिएको छ । दुवै खेलमा नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले मध्यक्रममा संयमित ब्याटिङ गर्दै केही हदसम्म ब्याटिङ जोगाइराखेका छन् ।
यही शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार यूएईसँग खेल्दै छ । यूएई पहिलो खेलमा नेपालसँग पराजित भएपछि दोस्रो खेलमा ओमानलाई हराएर उच्च मानसिकतामा छ र नेपालविरुद्ध पनि जितको खोजीमा हुनेछ । नेपालको असमान लयको फाइदा यूएईले पनि उठाउन खोज्नेछ ।
उक्त खेलमा नेपालले जितको लक्ष्यसँगै अन्य केही निर्णयहरू पनि गर्नुपर्ने देखिएको छ । टप अर्डर चल्न नसकिरहेको अवस्थामा अब फरक कम्बिनेसनको प्रयोग गर्नैपर्ने देखिएको छ ।
पहिलो खेलमा दीपेन्द्रको संयमित ब्याटिङ अनि बलरको शानदार पुनरागमनमा यूएईलाई हराउन सकेको नेपालका लागि दोस्रो खेलमा भने ब्याटिङ र बलिङ दुवै चल्न सकेन ।

नेपालका शीर्ष चार ब्याटरहरू बारम्बर मौका पाइरहँदा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय साझेदारी बनाउन नसकेको धेरै खेल भइसकेको छ ।
कप्तान रोहितले पछिल्ला १० खेलमध्ये एक खेलमा मात्र शतक प्रहार गरेका छन् । त्यसबाहेकका ९ खेलमा उनको ब्याट शान्त छ । भीम सार्कीले पनि उत्कृष्ट लय देखाउन सकिरहेका छैनन् ।
घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका अर्जुन कुमाल अनि पुनरागमन गरेका विनोद भण्डारी हालसम्म भने बेन्चमै सीमित छन् । अब उनीहरूलाई मौका दिनुपर्ने अवस्था देखिइसकेको छ ।
तसर्थ यूएईविरुद्धको खेलमा कम्तीमा पनि एक ओपनिङ विकल्प परिवर्तन गरेर अर्जुन कुमाललाई मौका दिनुपर्ने मागहरू उठ्न थालेका छन् । भुर्तेलले पहिलो खेलमा २४ अनि दोस्रो खेलमा १ रन बनाए भने आसिफ शेखले पहिलो खेलमा ७ अनि दोस्रो खेलमा १९ रन बनाएका छन् ।
प्रशिक्षकले आगामी खेलमा यी दुईमध्ये एकलाई बाहिर राखेर अर्जुनलाई मौका दिन सक्ने सम्भावना रहन सक्छ । अर्जुन विकेटकिपर समेत भएकाले आसिफलाई रिप्लेस गर्न सक्छन् ।
ओडीआईमा लय समात्नै नसकिरहेको नेपाली टोलीका लागि ओडीआई मान्यता जोगाइराख्न अनि एकदिवसीय विश्वकपको छनोटसम्म पुग्नका लागि लिग २ का बाँकी सबै खेलमा धेरैभन्दा धेरै जित आवश्यक छ ।
ओमानसँगको हारपछि नेपाली टोलीका बलर सोमपाल कामीले पनि ब्याटिङमा चुकेको प्रतिक्रिया दिएका थिए । ‘लक्ष्य पूरा गर्न सक्नेखालको नै थियो, हामीले सुरुवात राम्रो गर्न सकेनौं’ उनले भनेका थिए, ‘अर्को खेलमा यो कमजोरी सुधार गर्नेछौं, हाम्रो लागि जित धेरै महत्त्वपूर्ण छ ।’

पछिल्लो लय अनि हेड टु हेड
नेपाल र यूएई दुवे टोली लिग २ को अंकतालिकामा पुछारका दुई टोली हुन् । ८ टोली सम्मिलित लिग २ मा नेपाल सातौं अनि यूएई आठौं स्थानमा छन् । नेपालको २२ खेलबाट १४ अंक छ भने यूएईको समान खेलबाट १२ अंक छ ।
यही शृंखलाको कुरा गर्दा दुवै टोलीले २-२ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् । नेपालले यूएईलाई नै हराएको थियो भने ओमानसँग पराजित भयो । यूएईले ओमानलाई पराजित गर्दा नेपालसँग हार बेहोरेको थियो ।
यसअघि दुवै टोलीले गत नोभेम्बरमा अमेरिका पनि सम्मिलित लिग २ शृंखलामा खेलेका थिए । त्यसबेला नेपालले सबै ४ खेलमा हार बेहोर्दा २ हार यूएईसँग बेहोरेको थियो ।
नेपाल र यूएई ओडीआई क्रिकेटमा १४ पटक आमनेसामने भएका छन् । यीमध्ये ८ खेल नेपालले जितेको छ भने ६ खेलमा यूएई विजयी भएको छ ।
पछिल्लोपटक यी दुई टोली गत शनिबार यही शृंखलाको पहिलो खेलमा खेलेका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो ।

टिम कम्बिनेशन र सम्भावित ११
नेपालले यस खेलका लागि ब्याटिङमा परिवर्तन गर्नुपर्ने देखिन्छ । विशेषगरी टप अर्डर चल्न नसकेको अवस्थामा त्यहाँ परिवर्तन देखिन सक्छ ।
बलिङमा नन्दन यादवले मौका पाउन सक्छन् । अन्य परिवर्तनको सम्भावना भने तत्कालका लागि देखिँदैन ।
यता यूएईले ओमानसँग खेलेको टोलीलाई नै निरन्तरता दिने सम्भावना छ ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, अर्जुन कुमाल, भीम सार्की, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, नन्दन यादव, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने
यूएईको सम्भावित ११ : आर्यंश शर्मा, अदीब उसमानी, हरप्रित भाटिया, अक्षदीप नाथ, मुहम्मद शाहदाद, मुहम्मद वासीम, निलंश केशवानी, खुजाइमा तनभीर, हैदर अली, अजय कुमार, जुनेद सिद्धिकी
प्लेयर्स टु वाच
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी लयमा छन् । उनले नेपालको मध्यक्रम ब्याटिङ सम्हालिरहेका छन् । सन्दीप लामिछानेले किफायती बलिङ गर्दै विकेट पनि लिइरहेका छन् । यी दुई खेलाडीमाथि नजर रहनेछ ।
यस्तै यूएईका ओपनिङ ब्याटर आर्यंश शर्माले ओमानसँग शतक प्रहार गरेका थिए । उनले यसअघि पनि नेपालसँग खेल्दा शतक प्रहार गरिसकेका छन् । बलिङमा अजय कुमारको बाँयाहाते पेस बलिङ यूएईका लागि महत्त्वपूर्ण हुनेछ ।
खेल : नेपाल भर्सेस् यूएई
मिति र समय : १८ वैशाख, विहान साढे ९ देखि
मौसम : बादल
प्रतिक्रिया 4