News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ले प्रदर्शनको सातामा २ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ।
- फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ र प्रदर्शनको पहिलो दिनको शो संख्या बराबर कायम छ।
- निर्देशक र कलाकारले दर्शक प्रतिक्रिया बुझ्न नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेका थिए।
काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ । बुधबार अपरान्हसम्म यो फिल्मको कलेक्सन चलचित्र विकास बोर्डको बक्सअफिसमा २ करोड रुपैयाँ ग्रस नाघेको छ ।
बिहीबार दिउँसोसम्म बक्सअफिसमा फिल्मको कुल कमाइ २ करोड १० लाख रुपैयाँ ग्रस नाघेको छ । निर्माताले फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा पनि २ करोड ११ लाख ग्रस कमाएको उल्लेख छ ।
शुक्रबार, शनिबार र आइतबार पनि सार्वजनिक बिदा भएकाले कमाइमा बढोत्तरी हुनसक्ने देखिन्छ । प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनित फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ ।
प्रदर्शनको साता पुग्न लाग्दा पनि यसको शोमा गिरावट छैन । बिहीबार मात्र फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ, जुन प्रदर्शनको पहिलो दिनको शो संख्या बराबर नै हो ।
फिल्मले सुखद व्यापार गरेपछि निर्देशकदेखि कलाकारसम्म दर्शक प्रतिक्रिया बुझ्न नेपालगन्ज पुगेका थिए । प्रकाश र सिर्जनाले बुधबार नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेर दर्शकसँग भेट गरे ।
यो फिल्मको लगानी ३ करोड रुपैयाँ बताइएको छ । लगानी उठाउन फिल्मले ७ करोड हाराहारीमा कमाउनुपर्छ ।
प्रतिक्रिया 4