News Summary
Generated by OK AI. Editorially reviewed.- छब्बीस सय वर्षअघि कपिलवस्तुको राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा सत्यको खोजीमा दरबार छोडे।
- सिद्धार्थले गयाको वृक्षमुनि ध्यान गरेर बुद्धत्व प्राप्त गरी दु:खको जरो र मुक्तिको मार्ग प्रत्यक्ष देखे।
- बुद्धले चारवटा सत्य र अष्टाङ्गिक मार्गद्वारा शान्ति र निर्वाण प्राप्तिको मार्गदर्शन गर्नुभयो।
समयको एउटा अनौठो नियम छ—यसले इतिहासका पानाहरूमा बिस्तारै किंवदन्ती र चमत्कारका रङ्गहरू पोतिदिन्छ । हामी मानिस पनि कस्ता छौँ भने, आफूले श्रद्धा गर्ने नायकलाई यस्तै अलौकिक जादुको पर्दाभित्र हेर्न रुचाउँछौँ । चाहे ती अतीतका महामानव होऊन् या आजका सेलिब्रेटी, हामीलाई देवत्वकरणमा निकै आनन्द आउँछ । समयक्रममा जनबोलीमा ‘रे’ थपिँदै आएका जनश्रुतिहरू हाम्रा लागि इतिहास बनिदिन्छन् र हामी त्यसैमा अभ्यस्त हुँदै जान्छौँ । महामानव बुद्धको सन्दर्भमा पनि यस्तै भयो । उनको जीवनमा कतिपय साहित्यिक अलङ्कार र किंवदन्तीहरू मिसिन पुगे । तथापि, यी चम्किला आवरणहरूलाई हटाएर हेर्ने हो भने एउटा यस्तो इतिहास भेटिन्छ, जो ज्यादै सरल, स्पष्ट र उत्तिकै मर्मस्पर्शी छ ।
आजभन्दा झन्डै छब्बीस सय वर्ष पहिले, हिमालको शितल फेदीमा एउटा सानो तर सम्पन्न राज्य थियो— कपिलवस्तु । त्यहीँका राजकुमार थिए—सिद्धार्थ । यस धरामा उनको पाइला पर्नेबित्तिकै संसारका सारा सुख–सुविधाहरू उनको सेवामा हाजिर थिए । पिता चाहन्थे, छोरो चक्रवर्ती राजा बनोस्, तर समयको गर्भमा अर्कै योजना थियो । आफ्नो २९औँ वर्षको एक रात उनले दरबारको मोह र आफ्ना प्याराहरूलाई सुतिरहेकै छोडेर सत्यको खोजीमा घना जङ्गलको बाटो तताए ।
सिद्धार्थको राजदरबार त्याग्ने निर्णय कुनै एक रातको भावुकता वा क्षणिक वैराग्य थिएन । त्यो त उनको हृदयभित्र वर्षौंदेखि चलिरहेको एउटा मौन आँधीको परिणाम थियो । युवा सिद्धार्थको जीवन भोगविलासको एउटा सुन्दर बगैँचाजस्तै थियो । तर, त्यो सुगन्धित बगैँचाभित्र पनि उनको मनमा एउटा कल्पवृक्ष मौलाइरहेको थियो— जिज्ञासाको वृक्ष । दरबारका कोमल शड्ढयाहरूमा पल्टिँदा पनि उनको मन शान्त थिएन । उनले देखिसकेका थिए—यो सुन्दर शरीर एकदिन चाउरिनेछ, रोगले थलिनेछ र अन्तत: सासको आवागमन बन्द हुनेछ ।
‘के यो दु:खको चक्रबाट उम्किने कुनै बाटो छैन?’ यही एउटा प्रश्नले उनलाई रातभरि पिरोल्थ्यो । अन्तत:, जब उनको चेतनाले संसारको यो क्षणभङ्गुरतालाई पूर्ण रूपमा स्वीकार गर्यो, तब सारा संसार निदाइरहेका बेला, उनी सत्यको खोजीमा दरबारको सुनौलो पिँजडाबाट बाहिर निस्किए ।
बोधिवृक्षको छहारी र ‘धम्म’को सुवास
सत्यको खोजी सजिलो कहाँ थियो र ! छ वर्षसम्म सिद्धार्थले अनेकौँ कठिन साधनाहरू गरे । ध्यानका अनेकौँ पद्धतिहरू अपनाए । शरीर भोक र तिर्खाले थिलथिलो भयो । तर, सत्य अझै टाढा थियो । उनले बुझ्दै गए कि शरीरलाई मात्र गालेर सत्य भेटिँदैन । अन्तत:, पैंतीस वर्षको उमेरमा उनी गयाको एउटा विशाल वृक्षमुनि शान्त भएर बसे । बाहिर संसार शान्त थियो, तर उनको भित्र एउटा महामन्थन चलिरहेको थियो । त्यही रातको गहन ध्यानमा उनको हृदयमा ज्ञानको एउटा दिव्य ज्योति बल्यो । उनले दु:खको जरो र त्यसबाट मुक्त हुने मार्गलाई प्रत्यक्ष देखे । उनी ‘सिद्धार्थ’ बाट बुद्ध अर्थात् ‘पूर्ण रूपमा जागृत पुरुष’ बने ।
बुद्ध हामी जस्तो रगत र मासु भएको शरीर लिएर जन्मेका एक यस्ता मानव थिए, जसले आफ्नै अथक प्रयास र विवेकद्वारा मानिसले प्राप्त गर्न सक्ने उच्चतम शिखर—पूर्ण प्रज्ञा र मनको शुद्धता हासिल गरे । त्यसपछिका पैँतालीस वर्ष उनी रोकिएनन् । उनले गाउँ–बस्ती, सहर–बजार चहार्दै आफूले पाएको सत्यको सुगन्ध बाँडिरहे । आफ्नो सन्देशलाई जीवित राख्न भिक्षु र भिक्षुणीहरूको एउटा पवित्र सङ्घ बनाए । उनको यही उपदेशलाई ‘धम्म’ भनियो— सुन्दर जीवन जिउन यो एउटा वैज्ञानिक र कलात्मक पद्धति थियो । असी वर्षको उमेरमा कुशीनगरको एउटा सानो बगैँचामा आफ्ना प्रिय शिष्यहरूको माझमा उनले अन्तिम सास फेर्दै महापरिनिर्वाण प्राप्त गरे ।
धम्म र ‘धम्मपद’को धुन
पछि, उनका शिष्यहरूले उनका मीठा र मर्मस्पर्शी वाणीहरूलाई एउटा मालामा गाँसे, जसलाई ‘धम्मपद’ भनियो । यसका २६ वटा अध्यायहरूले मानिसलाई सही बाटो देखाउने मियोको काम गर्छन् । बुद्धको सिकाउने शैली पनि गज्जबको थियो । जसरी पानीलाई जस्तो भाँडोमा हाल्यो, त्यसले उस्तै आकार लिन्छ, बुद्धका उपदेशहरू पनि मानिसको दु:ख, परिस्थिति र बुझ्ने क्षमता अनुसार फरक–फरक स्वरूपमा प्रकट हुन्थे । कहिलेकाहीँ त सतही रूपमा हेर्नेलाई उहाँका कुराहरू बाझिए जस्ता पनि लाग्छन् ! कतै उनी भन्छन्— “राम्रो कर्म गर र स्वर्ग जाऊ ।” कतै फेरि भन्छन्— “स्वर्गको चाहना पनि एउटा बन्धन हो, यसलाई त्याग ।” कतै उनी पुण्य कमाउन हौसला दिन्छन् भने कतै पुण्य र पाप दुवैभन्दा माथि उठ्न सिकाउँछन् । तर, यो कुनै विरोधाभास थिएन । यो त एउटा कुशल वैद्यले बिरामीको अवस्था हेरेर फरक–फरक औषधि दिएजस्तै थियो ।
यही गहिरो रहस्यलाई बुझ्न प्राचीन व्याख्याताहरूले बुद्धका शिक्षाहरूलाई मानिसको अवस्था अनुसार चारवटा सुन्दर तहहरूमा बाँडेका छन्— जसले मानिसलाई वर्तमान जीवनको सुख, मृत्युपछिको सुन्दर गति र अन्तत: यो संसारको दु:खको जञ्जालबाट सधैँका लागि मुक्त हुने ‘निर्वाण’ को परम आनन्दसम्मको एउटा अविस्मरणीय यात्रा गराउँछ ।
वर्तमानको आँगनमा शान्तिको गीत
धम्मपदको पहिलो तहले हामीलाई परलौकिक कुरा होइन, बरु ‘आज र अहिल्यै’ कसरी एउटा सुन्दर मानिस बनेर बाँच्ने भन्ने सिकाउँछ ।
हामी प्राय: शान्तिको खोजीमा हिमाल चढ्न खोज्छौँ, तर बुद्ध भन्नुहुन्छ— शान्ति त तिम्रो आफ्नै छिमेकीसँगको सम्बन्धमा, तिम्रो परिवारको न्यानोपनमा र तिम्रो आफ्नै ऐना जस्तो सफा मनमा लुकेको छ । बुद्धका यी प्रारम्भिक शिक्षा हिंसाको आगोमा पिल्सिइरहेको आजको युगलाई प्रेमपूर्ण सुझाव हो, जसका दुईवटा बलिया खाँबाहरू छन् :
१. आफ्नै आत्मसम्मान: ‘यदि मैले गलत गरेँ भने, म आफैँसँग कसरी आँखा जुधाउन सक्छु र?’ भन्ने बोध । र,
२. संवेदनशीलता: ‘जसरी मलाई चोट लाग्दा दुख्छ, अरूलाई पनि त त्यस्तै दुख्छ होला’ भन्ने करुणा ।
बुद्धले एउटा सानो गाथामा जीवनको सारा दर्शन अटाउनुभएको छ– “सबै पापबाट जोगिनु, सत्कर्मको बाटो रोज्नु र आफ्नो मनलाई सधैँ सफा राख्नु ।” यो सुन्दा जति सरल छ, अभ्यासमा उति नै गहन । यसका लागि उहाँले केही सुनौला सूत्रहरू दिनुभएको छ । आफ्ना शब्दहरूलाई मह जस्तै बनाउनु र क्रोधको आगोलाई मनभित्रै शान्त पार्नु । कसैको प्राण नहर्नु, कसैको अधिकार नखोस्नु, सम्बन्धहरूमा इमानदार रहनु, झुटको सहारा नलिनु र होस गुमाउने नशालु वस्तुबाट टाढै रहनु । आफ्ना आमाबुबाको सेवा गर्नु, परिवारलाई मायाको छहारी दिनु र हरेक प्राणीप्रति दयालु हुनु । यही नै वास्तविक पूजा हो । बुद्ध भन्नुहुन्छ– “जसले यी नियमहरू तोड्छ, उसले आफ्नो जीवनको जरा आफैँले उखेलिरहेको हुन्छ ।”
यस जीवन–काव्यको सबैभन्दा मर्मस्पर्शी पक्ष द्वन्द्वको समाधान हो । हामी प्राय: ‘ईटाको जवाफ पत्थरले’ दिन खोज्छौँ, तर बुद्ध भन्नुहुन्छ– “यो संसारमा कहिल्यै पनि शत्रुताले शत्रुता शान्त हुँदैन; वैरलाई त केवल अवैर (प्रेम र मैत्री) ले मात्र जित्न सकिन्छ । यही शाश्वत सत्य हो ।”
जसरी एउटा कुशल सुनारले चाँदीको अशुद्धि बिस्तारै हटाउँदै जान्छ, बुद्ध हामीलाई पनि त्यसरी नै आफ्ना कमजोरीहरू केलाउन र मनलाई माझ्न प्रेरित गर्नुहुन्छ । अरूको गल्तीको सूची बनाउनुभन्दा आफ्नै मनको बगैँचामा उम्रिएका झारपात उखेल्नु धेरै हितकारी हुन्छ ।
उहाँ भन्नुहुन्छ– “एउटा असल मानिसको परिचय उसको धन वा पदले होइन, उसको ‘शील’ वा सदाचारले दिन्छ । फूलको बास्ना त हावा बहावकै दिशातिर मात्र जान्छ, तर एउटा असल व्यक्तिको सदाचारको सुगन्ध हावाको विपरीत दिशामा पनि चारैतिर फैलिन्छ ।”
बुद्ध एउटा सुन्दर बिम्ब दिनुहुन्छ– “जसरी सडकको किनारमा फालिएको फोहोरको थुप्रोमा पनि एउटा कमलको फूल आफ्नो पूर्ण सौन्दर्य र सुगन्धका साथ फक्रन सक्छ, त्यसरी नै यो अज्ञानी र स्वार्थी संसारको भीडमा बुद्धका सच्चा अनुयायीहरू आफ्नो प्रज्ञा र चरित्रले धपधपी चम्किन्छन् ।”
यसरी, बुद्धको शिक्षाको यो पहिलो तहले हामीलाई वर्तमानको धरातलमा उभिएर एउटा सुसंस्कृत र शान्त जीवन जिउन सिकाउँछ । तर, कथा यतिमा मात्र टुङ्गिँदैन । नैतिकताको यो जगले हाम्रो भविष्यको कस्तो भव्य महल निर्माण गर्ला त? अबको यात्रा त्यसतर्फ मोडिन्छ ।
कर्मको बीज र अनन्त यात्राको गोरेटो
जीवनका भोगाइहरूमा कहिलेकाहीँ ठूलो असन्तुलन देखिन्छ । तर बुद्ध भन्नुहुन्छ, यो त केवल एउटा ठूलो चलचित्रको सानो अंश मात्र हो । पर्दा पछाडि एउटा निष्पक्ष र सार्वभौमिक नियमले काम गरिरहेको हुन्छ, जसलाई भनिन्छ– ‘कम्म’ (कर्म)। यो कुनै संयोग होइन, न त यो दैवले लेखिदिएको निधारको अक्षर नै हो ।
हामी प्राय: ‘कर्म’ लाई ‘भाग्य’ ठानेर झुक्किन्छौँ । तर बुद्धका अनुसार कर्म त हामीले बोक्ने ‘विचारको बीउ’ हो । हामीले सोच्ने हरेक विचार, बोल्ने हरेक शब्द र गर्ने हरेक कार्य एउटा बीज जस्तै हो । लोभ, क्रोध र अज्ञानताको धमिलो पानीले सिञ्चित गरिएका बीउहरू, जसले भविष्यमा दु:खको काँडा उमार्छन्, ती अकुशल कर्म हुन् ।
करुणा, उदारता र विवेकको उज्यालोमा रोपिएका बीउहरू, जसले सुखको सुगन्धित फूल फुलाउँछन्, ती कुशल कर्म हुन् । हामीले आज गरेको काम भोलि बिर्सिन सक्छौँ, तर त्यो कर्मको छाप हाम्रो चित्तको गहिराइमा सुरक्षित रहन्छ । समय आउनासाथ त्यो बीज अङ्कुराउँछ र हामीले त्यसको फल भोग्नै पर्छ ।
बुद्धले जीवनलाई एउटा सानो बिन्दुमा मात्र सीमित देख्नुभएन । उहाँका लागि जीवन एउटा यस्तो शृङ्खला हो, जसको सुरुवात कहाँ भयो कसैलाई थाहा छैन । यसैलाई संसार भनिन्छ । मृत्यु त केवल एउटा पुरानो लुगा फेरेजस्तै हो; भित्रको त्यो प्यासी चेतनाले आफ्ना कर्मका पोकाहरू बोकेर नयाँ यात्रा तय गर्छ । हाम्रा कर्महरू नै हाम्रा यात्राका वास्तविक ‘नक्सा’ हुन् । कसैको जीवनमा देखिने सुख, सुस्वास्थ्य र ऐश्वर्य उनीहरूले विगतमा रोपेका ‘कुशल बीज’ का फल हुन् । कसैले भोग्नुपरेको गरिबी र रोग उनीहरूले नै अन्जानमा छरेका ‘अकुशल कर्म’ का प्रतिफल हुन् । यसरी हेर्दा, हामी प्रत्येक व्यक्ति आफ्नै भाग्यका शिल्पकार हौँ । धम्मपदमा बुद्ध भन्नुहुन्छ– “जसरी गाडाको पाङ्ग्राले गोरुको पाइलालाई पछ्याउँछ, त्यसरी नै दु:खले नराम्रो विचार र कर्म गर्नेलाई पछ्याउँछ । अनि जसरी हाम्रो छायाले हामीलाई कहिल्यै छोड्दैन, त्यसरी नै सुखले असल कर्म गर्नेलाई पछ्याइरहन्छ ।”
धम्मपदको यो तहले हामीलाई एउटा ठूलो जिम्मेवारी बोध गराउँछ । नैतिकता अरूलाई देखाउनका लागि होइन, बरु आफ्नै भविष्यको सुरक्षाका लागि हो । जसले यो नियम बुझ्छ, उसले कसैलाई धोका दिन सक्दैन, किनकि उसलाई थाहा छ— उसले अरूलाई खाल्डो खन्दा वास्तवमा आफ्नै भविष्यको बाटो खनिरहेको हुन्छ ।
कथा यहाँ रोचक बन्छ । धेरै मानिसहरू असल कर्म गरेर ‘स्वर्ग’ जान चाहन्छन् । तर बुद्धको प्रज्ञाले अझ परको कुरा देख्छ । उहाँ भन्नुहुन्छ— स्वर्गको सुख पनि त सधैँ रहँदैन ! त्यो पनि एउटा ‘सुनौलो पिँजडा’ मात्र हो । जब पुण्यको भण्डार रित्तिन्छ, फेरि त्यही जन्म–मरणको चक्रमा फर्किनुपर्छ ।
जसको चेतना अझ परिपक्व हुन्छ, उसले बुझ्छ कि यो संसारका सबै सुखहरू अनित्य छन्– अस्ताउँदो घामका किरणहरूजस्तै । त्यसैले, अब शिष्यहरूको मनमा एउटा नयाँ र अन्तिम चाहना जाग्छ: पूर्ण मुक्ति । उनीहरू अब देवता बन्न पनि चाहँदैनन् । उनीहरू त यो अनन्त यात्राबाट थकित भएर एउटा यस्तो शान्तिको खोजीमा लाग्छन्, जहाँ न जन्मको पीडा छ, न मृत्युको भय । बुद्धले यसैलाई भन्नुभएको छ– ‘निर्वाण’।
महामार्गको नक्सा र बुद्धको दर्शन
बुद्धको सम्पूर्ण दर्शन एउटा सानो तर गहिरो शब्दको वरिपरि घुम्छ— ‘दु:ख’। यहाँ दु:खको अर्थ केवल आँखाबाट झर्ने आँसु मात्र होइन । यो एउटा सूक्ष्म ‘अतृप्ति’ हो, जुन सारा संसार मुठ्ठीमा हुँदा पनि मनको कुनै कुनामा बिझिरहेको हुन्छ । बुद्धले यो संसारको रोगलाई चारवटा बुँदामा ठम्याउनुभएको छ :
१. दु:ख छ : जन्मिनु, वृद्ध हुनु, बिरामी पर्नु र अन्तत: मृत्युको काखमा पुग्नु—यो अस्तित्वको स्वभाव हो ।
२. दु:खको कारण ‘तृष्णा’ हो : हामी जे छैन त्यसलाई समात्न खोज्छौँ र जे छ त्यसलाई छोड्न डराउँछौँ । यही अतृप्त चाहना नै हाम्रो दु:खको जरो हो ।
३. दु:खको अन्त्य सम्भव छ : जब यो चाहनाको आगो निभ्छ, तब दु:ख पनि स्वत: समाप्त हुन्छ ।
४. मुक्तिको बाटो ‘अष्टाङ्गिक मार्ग’ हो : बुद्धले आठवटा यस्ता पाइलाहरू देखाउनुभएको छ (सही दृष्टि देखि सही ध्यानसम्म), जसले मानिसलाई शान्तिको शिखरमा पुर्याउँछन् ।
यी आठ मार्गलाई तीनवटा बलिया खाँबाहरूले धानेका छन् : शील (सदाचार), समाधि (एकाग्रता) र प्रज्ञा (विवेक)। शीलले बाहिरको आँधीलाई रोक्छ, समाधिले भित्रको जललाई स्थिर बनाउँछ र त्यही स्थिर जलमा प्रज्ञाको कमल फक्रिन्छ ।
धम्मपदको पाना–पानामा एउटा गहिरो वैराग्यको धुन पनि सुनिन्छ । बुद्ध भन्नुहुन्छ– “जसरी राजहंसहरूले आफ्नो पुरानो सरोवरलाई बिना कुनै मोह त्यागेर आकाशमा पखेटा फिँजाउँछन्, त्यसरी नै विवेकशील साधकहरूले आफ्नो घर र संसारको आशक्तिलाई त्यागेर मुक्तिको अनन्त आकाशमा उड्न सिक्छन् ।”
साधनाले जब साधकको दृष्टि तीखो हुन्छ, उसले संसारलाई तीनवटा नयाँ दृष्टिकोणबाट देख्न थाल्छ :
अनित्य: यहाँ केही पनि स्थिर छैन । सबै कुरा नदीको पानीजस्तै बगिरहेका छन् ।
दु:ख : जे कुरा परिवर्तनशील छ, त्यसमा सुख खोज्नु नै दु:खको कारण हो ।
अनात्म : यहाँ ‘म’ वा ‘मेरो’ भन्न मिल्ने कुनै स्थायी कुरा छैन । सबै कुरा कारण र प्रभावको खेल मात्र हुन् ।
जब साधकले यो सत्यलाई केवल बुद्धिले होइन, आफ्नो अनुभवले देख्छ, तब उसका सारा बन्धनहरू घाम झुल्केपछि शीतका थोपाहरू हराएझैँ हराउँछन् ।
निर्वाणको आरोहण, अर्हत्को मुस्कान
निर्वाणको यात्रा कुनै जादुमयी छलाङ होइन । यो त एउटा सुस्तरी बहने नदीजस्तै हो, जो विभिन्न घुम्तीहरू पार गर्दै अन्तत: महासागरमा विलीन हुन्छ । बुद्धले यो यात्राका चारवटा विशेष खुड्किलाहरू देखाउनुभएको छ, जसलाई पार गर्दै साधक आफ्नो अन्तिम गन्तव्यमा पुग्छ :
१. स्रोतापन्न : यो त्यो क्षण हो, जब साधकले पहिलोपटक ‘अमृत’ (मृत्युहीन अवस्था) को स्वाद पाउँछ । ऊ अब मुक्तिको महासागरतर्फ बग्ने नदीमा मिसिइसकेका छन् । धम्मपद भन्छ— यो उपलब्धि संसारको सम्राट हुनुभन्दा पनि कयौँ गुणा महान् छ । अब ऊ कहिल्यै गलत बाटोमा अलमलिने छैनन्, बढीमा सात जन्मभित्र उनले पूर्ण शान्ति पाउनेछ ।
२. सकृदागामी : यहाँ पुग्दा मनका राग र द्वेषका गाँठोहरू निकै खुकुला भइसकेका हुन्छन् । ऊ अब यो मानिसको संसारमा केवल एकपटक मात्र अतिथिका रूपमा फर्कन्छ र आफ्नो बाँकी यात्रा पूरा गर्छन् ।
३. अनागामी : यो अवस्थामा पुगेको साधक अब यो धर्तीको मोहजालमा कहिल्यै बाँधिँदैन । उनको चेतना यति उच्च भइसकेको हुन्छ कि उनी दिव्य लोकहरूबाटै निर्वाणको महासागरमा समाहित हुन्छ ।
४. अर्हत् : यो साधनाको त्यो अन्तिम विन्दु हो, जहाँ पुगेपछि यात्रा समाप्त हुन्छ । अर्हत् ती हुन्, जसले आफ्नो मनभित्रका सबै अशुद्धिहरूलाई जरैदेखि उखेलिदिएका छन् । उनीहरूले ‘हुनु’ र ‘नहुनु’ को सारा रहस्य बुझिसकेका छन् । धम्मपदको कथामा अर्हत् नै त्यस्ता ‘महानायक’ हुन्, जसले जन्म–मरणको यो अनन्त नाटकको पर्दा सधैँका लागि झारिदिएका छन् ।
अर्हत् कस्ता हुन्छन्? उनीहरूलाई कसरी चिन्ने? बुद्ध भन्नुहुन्छ, उनीहरूलाई चिन्नु भनेको आकाशमा उडिरहेका चराहरूको पदचाप खोज्नुजस्तै असम्भव छ । “जसरी चराहरूले निलो आकाशमा आफ्नो कुनै निसानी छोड्दैनन्, त्यसरी नै अर्हत्को आध्यात्मिक मार्ग पनि अदृश्य र अबुझ हुन्छ ।”
उनीहरू अब कुनै पनि आवेगको ज्वरोले पिरोलिँदैनन् । उनीहरूले सांसारिक बन्धनहरूलाई त्यसरी नै चुँडाएका छन्, जसरी हात्तीले कमजोर डोरीलाई चुँडाउँछ । अर्हत्को मन चन्द्रमा झैँ शीतल, निष्कलङ्क र सफा हुन्छ । ती ब्राह्मणहरू शत्रुहरूका माझ पनि मैत्रीपूर्ण रहन्छन् र अशान्तहरूको भिडमा पनि शान्त रहन्छन् । उनीहरू फलको आशा नगरी कर्म गर्छन्, त्यसैले उनीहरूलाई कर्मको बन्धनले बाँध्दैन । उनीहरूका लागि अब पुण्य र पाप, सुख र दु:ख सबै अर्थहीन भइसकेका छन् ।
यो अर्हत्वको आदर्शलाई संसारकै अगाडि चरितार्थ गर्ने महामानव स्वयं बुद्ध हुनुहुन्छ । बुद्ध ती ‘सर्वोच्च अर्हत्’ हुनुहुन्छ, जसले कसैको सहाराविना, आफ्नै विवेकको उज्यालोमा यो लुकेको प्राचीन मार्ग पत्ता लगाउनुभयो । उहाँ मानव शरीरमा हुनुहुन्थ्यो, तर उहाँको चेतना अनन्त आकाशजस्तै विशाल थियो । उहाँलाई कुनै पनि परिभाषाको घेरामा थुन्न सकिँदैन । उहाँ यस्तो ‘सर्वविजेता’ हुनुहुन्थ्यो, जसले हतियारले होइन, बरु आफ्नै प्रज्ञाको तेजले संसारलाई जित्नुभयो । बुद्ध यो संसारको हिलोमा रहेर पनि हिलोले नछोएको एउटा सुन्दर ‘कमल’ हुनुहुन्छ । हामी सबै सिद्धार्थ हौँ— मानव जन्मको अर्थ सिद्ध गर्न आएका । बुद्धत्व हामी सबैका लागि सम्भावना हो । हामीलाई बुद्धको जीवन र सन्देशले यही मौन निमन्त्रणा दिन्छ— जाग र आफ्नो प्रकाश आफैँ बन !
“अप्प दीपो भव !”
(नेपाल संवाद केन्द्रका प्रमुख कार्यकारी अधिकृत रहेका मिश्र सामाजिक–सांस्कृतिक विषयका अध्येता हुन् ।)
प्रतिक्रिया 4