+
+
Shares
२५७०औं बुद्ध जयन्ती :

समृद्धिको राष्ट्रिय आधार बन्न सक्छ लुम्बिनी

जुनसुकै धर्म, भाषा वा जातीय पहिचानको भए पनि लुम्बिनी विश्व समुदायको साझा सम्पदा हो। त्यसैले विश्व शान्तिको केन्द्र बनाउँदै लुम्बिनीलाई समग्र मुलुकको आर्थिक समृद्धिको राष्ट्रिय आधार बनाउन सकिन्छ।

श्याम रोक्का श्याम रोक्का
२०८३ वैशाख १८ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज २५७०औं बुद्ध जयन्ती विश्वभर शान्तिप्रिय नागरिकले वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने गर्छन्।
  • लुम्बिनी विकास कोष वार्षिक सात करोड घाटामा छ, तर सात अर्ब आय गर्ने संस्थामा विकास गर्न सकिन्छ।
  • लुम्बिनी धार्मिक पर्यटन उद्योग र कूटनीतिक सेतु बन्न सक्ने सम्भावना छ, जसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।

आज २५७०औं बुद्ध जयन्ती। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित गौतम बुद्धसँग जोडिएको यो दिन नेपाली मात्र होइन, संसारभर रहेका सबै शान्तिप्रिय नागरिकका लागि विशेष दिन हो।

नेपालमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन एउटा बालकको जन्म भएको थियो। जसको नामकरण सिद्धार्थ गौतमका रूपमा भयो। कालान्तरमा तिनै सिद्धार्थ भगवान बुद्धका रूपमा कहलिए।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले विशेष भावपूर्ण श्रद्धा र भक्तिले मनाउने गर्छन्।

यस दिन विश्व शान्ति स्थापनाका लागि बुद्धले पुर्‍याएको योगदानको चर्चा हुनेगर्छ। पछिल्ला केही समयदेखि बुद्धको जन्मस्थल लुम्बिनी र समग्र क्षेत्रलाई नै केन्द्रमा राखेर विकास, समृद्धिका चर्चा हुन थालेका छन्।

त्यसो त; करुणा, मैत्री, अहिंसा, मानव एकता, सहिष्णुता, सद्भाव, आध्यात्मिक जागरण र मानव सभ्यताको प्रतीकसँग गौतम बुद्ध र लुम्बिनी सधैं जोडिएर आउँछन्। त्यसैले लुम्बिनीलाई अब धार्मिक पर्यटनसँगै धार्मिक कूटनीति मार्फत नेपालको ठूलो आर्थिक हिस्सा भित्र्याउने कोषको रूपमा स्थापना गर्नुपर्छ। यो गर्न सम्भव पनि छ। यो लेखमा यसबारे केही चर्चा गरौं।

लुम्बिनी विकास कोष हाल वार्षिक झन्डै सात करोड रुपैयाँ घाटामा छ। तर, यसले समग्र लुम्बिनी क्षेत्रको मात्र होइन, मुलुककै समृद्धिमा पनि योगदान गर्न सक्छ।

घाटाको होइन, स्रोत–साधनको भरपुर उपयोग गर्दै वार्षिक सात अर्ब आय–आर्जन गर्ने संस्थाको रूपमा विकास गर्न सकिने प्रशस्त आधार छन्। तिनको सही पहिचान र सदुपयोगको मात्र खाँचो छ।

गौतम बुद्धसँग सम्बन्धित रामग्राम धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। लुम्बिनी नेपालको कूटनीतिक सेतु पनि बन्न सक्छ।

यसका निम्ति पर्यटकहरूलाई पर्याप्त आधारभूत सेवा–सुविधा उपलब्ध गराएर स्वतस्फूर्त रूपमा खर्च गर्ने अवस्था बनाउनुपर्दछ। पर्यटक मैत्री वातावरण र व्यवस्थापन निर्माण गर्नुपर्छ। यसो हुँदा प्रवेश शुल्क र भू–शुल्क लिएर संस्थालाई सञ्चालन गर्ने पुरानो कार्य शैली तोड्दै धार्मिक व्यावसायिक दृष्टिकोणबाट लुम्बिनी क्षेत्रमा अर्बौं लगानी भित्र्याउन सकिन्छ।

लुम्बिनी क्षेत्रलाई धार्मिक पर्यटन उद्योगको रूपमा विकास गर्न सक्ने प्रशस्त आधार छन्।

ती आधार लुम्बिनी र भगवान गौतम बुद्धसँग जोडिएका पवित्र स्थलहरू बन्न सक्छन्। लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह जस्ता धरोहरहरूले धार्मिक पर्यटन, इतिहास र संस्कृतिको क्षेत्रमा ठूलो महत्व राख्छन्। यिनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्छन्।

लुम्बिनी: शान्तिको मुहानको रूपमा रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र उद्यान तथा गुरुयोजना अनुसार विभिन्न देशले निर्माण गरेका विहारहरूले लुम्बिनीको गरिमा र अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेका छन्। विश्व सम्पदा सूचीमा समावेश भएको लुम्बिनी लगायतमा हरेक वर्ष लाखौं स्वदेशी तथा विदेशी पर्यटक अगाध आस्थाको साथ आउने र शान्ति, आध्यात्मिकता र सांस्कृतिक विविधताको अनुभूति गर्ने गरेका छन्।

तिलौराकोट: कपिलवस्तुको तिलौराकोट प्राचीन कपिलवस्तु राज्यको राजधानी मानिन्छ। राजकुमार सिद्धार्थ गौतमले यहीं २९ वर्षसम्म आफ्नो महत्वपूर्ण समय बिताएका थिए। प्राचीन शाक्य राज्य रहेको तिलौराकोटमा पुरातात्विक अवशेष, प्राचीन किल्ला, दरबार क्षेत्र र द्वारहरूले बुद्धकालीन सभ्यताको झल्को दिने पुरातात्विक संरचनाहरू जीवित प्रमाणहरू हुन्।

रामग्राम: भगवान गौतम बुद्धसँग सम्बन्धित रामग्राम धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। भगवान बुद्धको महापरिनिर्वाणपछि चार भाग बाँडिएको अस्तु धातुमध्येको सुरक्षित एक मात्र अविभाजित स्तूप रहेको स्थान हो रामग्राम। त्यसैले रामग्राम बौद्ध धर्मावलम्बीहरूका लागि श्रद्धा र आस्थाको महत्वपूर्ण केन्द्र हो। शान्त वातावरण, हरियाली र पवित्रता पर्यटकका लागि विशेष आकर्षण बनेका छन्। रामग्रामको संरक्षण र प्रचार–प्रसार गर्न सके यो विश्वकै महत्वपूर्ण बौद्ध तीर्थस्थल लुम्बिनी बन्नेमा कुनै शंका छैन।

देवदह: बुद्धकी आमा मायादेवी तथा महाप्रजापति गौतमीको माइती क्षेत्र हो देवदह। भगवान गौतम बुद्धसँग पारिवारिक सम्बन्ध जोडिएको यस स्थलको धार्मिक तथा ऐतिहासिक महत्व विशेष छ। देवदह क्षेत्रमा रहेका तालतलैया, प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छन्। बौद्ध इतिहास अध्ययनको प्रचुर सम्भावना रहेको क्षेत्रहरूको सदुपयोग अनिवार्य छ।

यसरी, विश्व समुदायलाई लोभ्याउने लुम्बिनीसँगै बृहत् लुम्बिनी क्षेत्रको विकासको गुरुयोजना साथसाथै बनाउनुपर्छ। यससँगै, नयाँ स्थानहरूको समेत पहिचान गरी भ्रमण गराउने वातावरण बनाउन जरूरी छ। धार्मिक पुरातात्विक क्षेत्रहरूको पहिचान, अध्ययन अनुसन्धान र प्रवर्धन गर्दै सम्पदा र पुरातात्विक क्षेत्रको संरक्षण गर्नु आजको आवश्यकता हो।

धार्मिक पुरातात्विक क्षेत्रहरूको पहिचान, अध्ययन अनुसन्धान र प्रवर्धन गर्दै सम्पदा र पुरातात्विक क्षेत्रको संरक्षण गर्नुपर्दछ।

लुम्बिनीको ढुङ्गा–माटो, जल तथा  काठबाट विभिन्न बुद्ध सम्बन्धित मूर्ति  र प्रतिमाहरू निर्माण गर्ने र मायादेवी मन्दिरमा चढाइएको खादा, फूल प्रसादलाई ब्रान्डिङ गरेर आय–आर्जनको स्रोतको रूपमा विकास गर्न सके वार्षिक करोडौं राजस्व वृद्धि गर्न सकिन्छ।

लुम्बिनी गुरुयोजनाभित्र पर्यटकलाई मध्यनजर गरेर व्यावसायिक सुविधासम्पन्न विभिन्न योजना अगाडि बढाउन सके वार्षिक करोडौं राजस्व थप हुनेछ भने लुम्बिनीलाई धार्मिक पर्यटन उद्योगको रूपमा विकास गर्न सकिनेछ। 

कूटनीतिक सेतु बन्ने सम्भावना

लुम्बिनी विश्वकै धार्मिक पर्यटनको सबैभन्दा महत्वपूर्ण सम्भावना रहेको क्षेत्र हो। बुद्धिष्ट राष्ट्रका अलावा, एशिया, युरोप र अमेरिकासहित विश्वका सबै मुलुकबाट लाखौं श्रद्धालु, शोधकर्ता र पर्यटक लुम्बिनी आउने गर्छन्। सम्भावनालाई उपलब्धिमा बदल्न आधुनिक पूर्वाधार, स्वच्छता, सुरक्षित यातायात, गुणस्तरीय होटल, डिजिटल सूचना प्रणाली र अन्तर्राष्ट्रिय प्रचार लुम्बिनीको आवश्यकता हो। लुम्बिनीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय उद्यमशीलता विकासमा स्थानीयसँग सहकार्य गर्नु लुम्बिनी क्षेत्रको सामाजिक विकासको आधार निर्माण गर्नु हो।

लुम्बिनी नेपालको कूटनीतिक सेतु पनि बन्न सक्छ। बौद्ध दर्शनलाई सम्मान गर्ने श्रीलंका, थाइल्यान्ड, म्यानमार, जापान, चीन, भूटानलगायत राष्ट्रहरूसँग सांस्कृतिक, शैक्षिक र आर्थिक सहकार्य विस्तार गर्न सकिन्छ। लुम्बिनीलाई अन्तर्राष्ट्रिय सम्मेलन, शान्ति संवाद र सांस्कृतिक आदानप्रदानको केन्द्र बनाउने हो भने नेपालले नयाँ विश्वसनीयता र प्रभाव हासिल गर्न सक्ने वातावरणको उजागर हुनेछ। लुम्बिनीको विकास भौतिक संरचना निर्माणले मात्र सम्भव हुँदैन, अब धार्मिक गतिविधिलाई जोड दिनु अपरिहार्य छ।

जुनसुकै धर्म, भाषा वा जातीय पहिचानको भए पनि लुम्बिनी विश्व समुदायको साझा सम्पदा हो। स्थानीय मुस्लिम, मधेशी, थारू, पहाडी, बौद्ध, हिन्दू सबै समुदायलाई लुम्बिनीको विकास प्रक्रियामा समान सहभागिता दिलाउन सके लुम्बिनीका स्थानीयले अपनत्व ग्रहण गर्ने छन्। 

वातावरण संरक्षणको अभिभारा

लुम्बिनी क्षेत्रको वातावरण संरक्षण अर्को प्रमुख शर्त हो। धूलो, धुवाँ, फोहोर र अव्यवस्थित शहरीकरण स्वीकार्य हुन सक्दैन। नियमित सरसफाइ, हरित क्षेत्र विस्तार, प्लास्टिक नियन्त्रण, विद्युतीय सवारी प्रवर्धन र ‘प्रदूषण निषेध क्षेत्र’ घोषणा गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।

वार्षिक सात करोड घाटामा गइरहेको संस्थालाई स्रोत–साधनको भरपुर उपयोग गर्दै सात अर्ब नाफाको संस्थाको रूपमा विकास गर्न सकिने प्रशस्त आधार छन्।

पर्यटकले पहिलो दृष्टिमै शान्त, हराभरा र स्वच्छ लुम्बिनी देख्नुपर्छ। यस्तै, स्थानीय जनताको जीवनस्तर उकास्न घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिनुपर्छ। हस्तकला, बुद्ध प्रतिमा, स्थानीय कृषि उत्पादन, जैविक खाद्य सामग्री, सांस्कृतिक पोशाक, स्मृति सामग्री र पर्यटन सेवामा आधारित उद्यमले हजारौं परिवारको आय बढाउन सक्छ। लुम्बिनी आउने पर्यटकले स्थानीय उत्पादन बिक्रीवितरण गर्ने वातावरण बनेमा समृद्धि सिधै घर–घरमा पुग्नेछ। 

शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

शिक्षा क्षेत्रमा पनि लुम्बिनीलाई विशेष क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। बुद्ध अध्ययन, पुरातत्व, पर्यटन व्यवस्थापन, भाषा शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र शान्ति अध्ययनका लागि विश्वविद्यालय तथा बहुप्राविधिक शिक्षालय स्थापना गर्नुपर्छ।

लुम्बिनी नाममा अन्तर्राष्ट्रिय छात्रवृत्ति कोष स्थापना गरी लुम्बिनी क्षेत्रका विद्यार्थीलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्ने अवसर दिन सकिन्छ। यसले स्थानीयको ज्ञान, सीप र विश्वव्यापी सञ्जाल दुवै ल्याउँछ।

स्वास्थ्य सेवा पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो। सुविधासम्पन्न अस्पताल, र लुम्बिनी बर्थिङ सेन्टर निर्माण गरेर संसारभर रहेका बौद्ध धर्ममा अगाध आस्था राख्ने आमाहरूलाई लुम्बिनीमा आएर बुद्ध जस्तै महामानव जन्माउने उच्च अभिलाषालाई साकार गर्न सकिए करोडौं आयस्रोत थपिनेछ।

आकस्मिक उपचार केन्द्र, एम्बुलेन्स सेवा तथा घुम्ती चिकित्सालय सञ्चालन गरी पर्यटक र स्थानीय दुवैको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ। गर्मीयाममा तापक्रम उच्च हुने भएकाले चिस्यानयुक्त प्रतीक्षालय, हरित पार्क, विश्रामस्थल, क्याफे र हस्तकला सामग्री वितरण केन्द्र, शुद्ध खानेपानी र छायाँयुक्त आवश्यकताको आधारमा मार्ग निर्माण आवश्यक छ। 

सीमा नाकाबाट सहज अध्यागमन

तेस्रो मुलुकबाट भारतहुँदै लुम्बिनी आउने धार्मिक पर्यटकहरूलाई सीमापार प्रवेशद्वार व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ। सुनौली र ककरहवा नाकाबाट आउने पर्यटकका लागि सहज अध्यागमन, स्वच्छ बसपार्क, बहुभाषिक सूचना केन्द्र, सुरक्षा, मुद्रा सटही र यातायात समन्वयको व्यवस्था गरिनुपर्छ। पर्यटकले सीमा नाकाबाटै व्यवस्थित नेपालको सन्देश विश्व बौद्ध समुदायलाई दिन आवश्यक छ।

बौद्ध दर्शनलाई सम्मान गर्ने श्रीलंका, थाइल्यान्ड, म्यानमार, जापान, चीन, भूटान लगायत राष्ट्रहरूसँग सांस्कृतिक, शैक्षिक र आर्थिक सहकार्य विस्तार गर्न सकिन्छ।

लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रहरू कपिलवस्तु, रामग्राम, देवदह धार्मिक सम्पदा र पुरातात्विक क्षेत्रहरू मात्र होइनन्, धार्मिक पर्यटकको गन्तव्य र नेपालको भविष्यसँग जोडिएको राष्ट्रिय आर्थिक समृद्धिको आधार हुन्।

त्यसैले आर्थिक रूपमा सम्पन्न समाज, हरित वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, आधुनिक पूर्वाधार र लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच निर्माण गर्न सकियो भने लुम्बिनी राष्ट्र समृद्धिको आधार बन्न सक्छ। भगवान बुद्ध जन्मेको पवित्र भूमिलाई विश्वकै उत्कृष्ट शान्ति शहर बनाउने साहस नेपालले गर्नुपर्छ।

(रोक्का, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य हुन्।)

लेखक
श्याम रोक्का

(रोक्का, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?