+
+
Shares
विचार :

कम्युनिष्ट आन्दोलन : विसर्जन र पुनर्जागरणको दोबाटोमा

कम्युनिष्ट दलहरूले युवाहरूलाई नेतृत्व हस्तान्तरण र रूपान्तरण पुनर्जागरणको यो अवसरको रूपमा उपयोग गर्न जरूरी छ।

श्याम रोक्का  श्याम रोक्का 
२०८२ माघ ५ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको छ।
  • कम्युनिष्ट आन्दोलनले २०४६ को जनआन्दोलनदेखि संविधान निर्माणसम्म निर्णायक भूमिका खेलेको छ।
  • कम्युनिष्ट दलहरूमा नेतृत्व हस्तान्तरण र वैचारिक पुनर्निर्माण नहुँदा आन्दोलन विसर्जनको दिशामा अघि बढिरहेको छ।

क्रान्तिकारी नेता चे ग्वेभाराले भन्नुभएको थियो- “क्रान्ति भनेको केवल सत्ता परिवर्तन मात्र होइन, समाजको हरेक तहमा न्याय र समानताको स्थापनाको संघर्ष हो।”

विश्व राजनीतिमा परिवर्तन सधैं स्वतःस्फूर्त हुँदैन; प्रायः त्यो व्यवस्थित विद्रोहबाट जन्मिन्छ। समयसँग जुध्ने साहस, आन्तरिक आत्मसमीक्षा र नेतृत्वको रूपान्तरण विना कुनै पनि राजनीतिक आन्दोलन र क्रान्ति दीर्घकालीन बन्न सक्दैन।

यही सन्दर्भमा नेपाली कांग्रेसले विश्वव्यापी उदार लोकतान्त्रिक बहस र आन्तरिक सुधार मार्फत आफूलाई समयअनुकूल रूपान्तरण गर्ने प्रयास गरेको छ। युवाको अपेक्षालाई सम्बोधन गर्ने गरी विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन भएको छ र त्यसले निर्वाचन आयोगबाट आधिकारिक मान्यता समेत पाएको छ।

सँगै अर्कोतिर नेपाली राजनीतिको अर्को लोकतान्त्रिक अभ्यास हुनुपर्ने कम्युनिष्ट धार जसमा व्यवस्थित विद्रोहको अभावले संकट पैदा भएको छ। व्यवस्थित विद्रोह र वैचारिक पुनर्निर्माण हुन नसक्दा कम्युनिष्ट आन्दोलन नै विस्तारै विसर्जनको दिशातर्फ धकेलिएको छ।

विगतको नेपाली कम्युनिष्ट आन्दोलन समीक्षा गर्ने हो भने- २००७ सालपछि राज्यसत्ताको रूपान्तरणका लागि उठेको एक शक्तिशाली वैचारिक अभियान थियो कम्युनिष्ट आन्दोलन। २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६३ को माओवादी युद्ध र २०६२/६३ को दोस्रो जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्‍यो। सामन्ती राजसंस्थाको अन्त्य, गणतन्त्रको स्थापना र संविधान निर्माण जस्ता ऐतिहासिक उपलब्धिहरू कम्युनिष्ट आन्दोलनकै सक्रिय हस्तक्षेपमा सम्भव भए। सत्ता प्राप्तिपछि आन्दोलनले आफ्नो क्रान्तिकारी विद्रोह र धार कायम राख्न नसक्दा कम्युनिष्ट दलहरूभित्र संस्थागत विद्रोह र वैचारिक अभावले विचार संकटमा र व्यक्तिहरू हावी हुनपुगे।

दलहरू भित्र असन्तुष्टहरू जन्मिए तर वैचारिक बहसमा रूपान्तरण हुन सकेन। जब व्यक्तिवादी टकराव, गुटबन्दी र सत्ता संघर्षमा सीमित हुन पुग्यो र नेतृत्व पुस्तान्तरण भएन, निर्णय प्रक्रियामा सीमित व्यक्तिको नियन्त्रण र संगठनभित्र लोकतान्त्रिक अभ्यासको क्षयले आन्दोलन निरीह बन्न पुग्यो। परिणामस्वरुप जेनजी विद्रोह पछि पनि नेकपा (एमाले) अध्यक्षमा केपी शर्मा ओली नै निर्वाचित हुनु र झण्डै एक दर्जनभन्दा बढी ठूला-साना कम्युनिष्ट दलहरू बीच एकता गरेर संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड)नै भइरहनुले पुस्तान्तरण मागलाई पूर्णविराम लगाएको छ। पछिल्लो पटक जनार्दन शर्माको बहिर्गमनले कम्युनिष्ट आन्दोलनभित्रको व्यवस्थित विद्रोहलाई अवमूल्यन गरेको छ।

नेपालमा कम्युनिष्ट आन्दोलनले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गरेको भए पनि, अब यसको क्रान्तिकारी चरित्र विस्तारै विसर्जनतर्फ अघि बढिरहेको छ।

विगतमा पनि ठूला दुई कम्युनिष्ट दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो तर आमजनताको आशा र भरोसा माथि तुषारापात गर्दै वैचारिक भन्दा सत्ता र शक्ति समीकरणमा आधारित हुँदा दीर्घकालीन बन्न सकेन। नेतृत्व बीचको शक्ति संघर्षले केही महिनामै पार्टी विघटन र कम्युनिष्ट आन्दोलन पुनः टुक्रा–टुक्रामा विभाजित हुनपुग्यो। त्यसपछिका एकता प्रयासहरू स्थायी बन्न सकेनन् परिणामतः विद्रोह सधैं फुटको रूपमा मात्र प्रकट भयो।

आन्दोलन आफ्ना क्रान्तिकारी एजेन्डाबाट क्रमशः टाढा हुँदै जादा सशस्त्र संघर्षपछि मूल धारमा आएका माओवादी लगायत कम्युनिष्ट दलहरू सरकार सञ्चालनमै केन्द्रित हुँदा वर्गसंघर्ष, श्रमिक–किसानका मुद्दा र सडक संघर्षको राजनीतिलाई निरन्तरता दिन नसक्दा आम जनताका आशाहरू चरम निराशामा परिणत भए। अर्को शक्तिशाली कम्युनिष्ट पार्टी एमाले पनि संसदीय प्रतिस्पर्धाको साँघुरो घेराभित्र सीमित हुँदा सामाजिक आधार कमजोर हुनपुग्यो।

“केपी बा आई लभ यू”- भन्ने नयाँ पुस्ता राजनीतिमा नयाँ प्रश्न सहित प्रवेश गर्‍यो। भ्रष्टाचार, बेरोजगारी, सामाजिक न्याय र अवसरको समानता जस्ता मुद्दा बोकेर पुस्ता हस्तान्तरणको नारा लगाउन थाल्यो। तर ती प्रश्नहरूको नेतृत्व कुनै पनि कम्युनिष्ट दलहरूले गर्न नसक्दा परिणामस्वरूप पुरानो नेतृत्व, अन्त्यहीन गुटबन्दी र सत्तामुखी अभ्यासप्रति युवाहरूको असन्तुष्टि बढ्दै गयो र कम्युनिष्ट आन्दोलनको वैचारिक विश्वसनीयतालाई नै चुनौती दियो।

यति हुँदा पनि नेपाली कम्युनिष्ट आन्दोलन रूपान्तरणको प्रक्रियामा छैन। त्यस कारण आगामी निर्वाचनमा कम्युनिष्ट दलहरू अस्तित्वमा त रहलान् तर संसद्मा उल्लेखनीय प्रतिनिधित्व र भूमिका भने रहने छैन। यो अवस्था कम्युनिष्ट आन्दोलनमा त्यत्तिकै रोकिने छैन। आन्तरिक लोकतन्त्र सुदृढ, वैचारिक स्पष्टता पुनर्निर्माण र नेतृत्वले आत्मालोचना गर्ने साहस देखाएन भने अहिलेको संकट क्रमशः विसर्जनमा रूपान्तरण हुनसक्ने सम्भावना अब टाढा छैन।

जेनजी विद्रोह पछि पनि एमाले अध्यक्षमा ओली नै निर्वाचित हुनु र झण्डै एक दर्जनभन्दा बढी ठूला-साना कम्युनिष्ट दलबीच एकता गरेर संयोजकमा प्रचण्ड नै भइरहनुले पुस्तान्तरणको मागलाई पूर्णविराम लगाएको छ।

नेपाली कम्युनिष्ट आन्दोलन आज ऐतिहासिक दोबाटोमा उभिएको छ। एकातिर समयअनुकूल रूपान्तरण, वैचारिक पुनर्निर्माण र जनआधार सहित व्यवस्थित विद्रोह र नेतृत्व हस्तान्तरण वा निरन्तर विभाजन, सत्तामुखी अभ्यास र संगठनात्मक जडता सहित अवसानको बाटो रोज्ने, समीक्षा गर्ने बेला आएको छ। अन्ततः यो प्रश्न कम्युनिष्ट आन्दोलनको अस्तित्वको मात्र होइन, आगामी दिशाको पनि हो। यदि कम्युनिष्ट आन्दोलनले सत्ता भन्दा पनि मुद्दालाई केन्द्रमा राख्न सकेन भने नयाँ पुस्ताले नयाँ वैकल्पिक बाटो खोज्ने छन्। त्यस अवस्थामा कम्युनिष्ट आन्दोलन विसर्जनको दिशामा धकेलिन सक्छ। त्यसैले समयमै कम्युनिष्ट दलहरूमा सुधार र रूपान्तरण जरूरी छ।

समय गतिशील छ, गतिलाई पहिल्याउने नेतृत्व र आन्दोलनकै हातमा छ, होइन भने विश्वव्यापी रूपमा परम्परागत कम्युनिष्ट आन्दोलन क्रमशः विसर्जन वा गहिरो रूपान्तरणको चरणमा प्रवेश गरिसकेको छ। यस अर्थमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट कुनै अपवाद होइन; यो विश्वव्यापी कम्युनिष्ट आन्दोलनको संरचनात्मक संकटसँग गाँसिएको यथार्थ हो। फरक यति मात्र हो— नेपालको कम्युनिष्ट आन्दोलनले अझै पनि नेतृत्वमा सुधार, वैचारिक पुनर्निर्माण गरेर व्यवस्थित विद्रोह सहित जनता बीच फर्किन सक्छ। यो ऐतिहासिक अवसर अझै गुमिसकेको छैन तर त्यो अवसर सधैं खुला रहने छैन। अन्तर्राष्ट्रिय अनुभवले देखाएको पाठ स्पष्ट छ— समयसँग जुध्न नसक्ने आन्दोलन अन्ततः इतिहासकै पानामा सीमित हुनेछ।

नेपालमा कम्युनिष्ट आन्दोलनले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गरेको भए पनि, अब यसको क्रान्तिकारी चरित्र विस्तारै विसर्जनतर्फ अघि बढिरहेको छ। त्यसैले कम्युनिष्ट दलहरूका लागि युवाहरूलाई नेतृत्व हस्तान्तरण र रूपान्तरण पुनर्जागरणको यो अवसरको रूपमा उपयोग गर्न जरूरी छ। दलहरूलाई समयानुकूल बनाउने, युवा ऊर्जा र नयाँ विचारलाई राजनीतिक निर्णयमा समेट्ने र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने संस्कारको विकास गर्नु जरूरी छ।

(रोक्का नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?