+
+
Shares

ठोरीमा सधैँ पिउने पानीको समस्या  

‘वर्षौँअघि एउटा संस्थाले खोलाबाट पाइपलाइन जोडेर तीनवटा धारा निर्माण गरेको थियो, तर अहिले ती सबै सुकिसकेका छन् ।’

सफल खतिवडा सफल खतिवडा
२०८३ वैशाख २१ गते १५:०५

२१ वैशाख, वीरगञ्ज । प्राकृतिक सुन्दरता र जैविक विविधता भरिपूर्ण पर्यटकीय स्थल हो– ठोरी ।

पर्साको पश्चिमी क्षेत्रमा रहेको ठोरी तीनतर्फबाट वन क्षेत्रले घेरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ । जसले ठोरीलाई एक अद्वितीय प्राकृतिक संगमको रूपमा स्थापित गरेको छ ।

ठोरी केवल एउटा साधारण घुम्ने ठाउँ मात्र होइन, यो वन्यजन्तु अवलोकनका लागि उत्कृष्ट स्थल पनि हो । यहाँ बाघ, हात्ती, हरिण, बाँदरजस्ता दुर्लभ र आकर्षक वन्यजन्तुहरू बेलाबखत देखिन्छन् ।

ठोरीको अर्को महत्त्वपूर्ण पक्ष यसको प्राकृतिक सौन्दर्य हो । हरियाली जंगल, शान्त वातावरण र खोलानालाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

उचित प्रचार–प्रसार र व्यवस्थापन गर्न सकिए ठोरी नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने प्रबल सम्भावना छ ।

तर, यहाँ पर्यटकीय सम्भावना हुँदाहुँदै पनि ठोरीवासी पिउने पानीको समस्याले वर्षौदेखि प्रताडित छन् । ठोरीका विभिन्न बस्तीमा खानेपानी समस्या कहिल्यै समाधान हुन सकेको छैन ।

मिल र विशाल चोक टोलका करिब ४५ घरधुरीका स्थानीयसँग न धारा छ, न त कुनै स्थायी पानीको स्रोत । ठोरी–४ का रामबहादुर पाख्रिनका अनुसार त्यहाँका बासिन्दा सधैँ खोलाकै पानी पिउन बाध्य छन् ।

‘धारा नहुँदा हामीले सधैँ खोलाको पानी प्रयोग पिउनुपर्ने अवस्था छ,’ उनले भने, ‘वर्षौँअघि एउटा संस्थाले खोलाबाट पाइपलाइन जोडेर तीनवटा धारा निर्माण गरेको थियो, तर अहिले ती सबै सुकिसकेका छन् ।’

महिलाहरू दिनहुँ पानीका लागि घण्टौँ खोलामा बिताउन बाध्य छन्, जसले उनीहरूको समय र श्रम दुवै खपत गरिरहेको छ ।

यो समस्या केवल केही घरधुरीमा सीमित छैन । ठोरी गाउँपालिकाभरि करिब एक हजार घरधुरीका दुई हजार १६५ बासिन्दा यही समस्याबाट गुज्रिरहेका छन् ।

स्थानीय सिर्जना श्रेष्ठका अनुसार गर्मी र वर्षा सुरु भएपछि पानीको समस्या झन् असहज बन्छ । ‘हिउँदमा  खोलाबाट पानी तानेर ल्याएको एउटै धारामा पालो कुर्दा पानी सुकिसक्छ,’ उनले भनिन्, ‘अहिले त धारो नै सुकिसक्यो । त्यसैले पानी ल्याउन घोरदौरा पुग्नुपर्ने बाध्यता छ ।’

पिउने पानी मात्र नभई सिँचाइको समस्या पनि ठोरीमा उस्तै छ । पानीको अभावका कारण खेतीपाती प्रभावित भएको छ, जसले स्थानीयको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।

पानी जस्तो न्यूनतम अत्यावश्यक सुविधा नपुग्दा ठोरीको पर्यटन र अन्य विकास हुनेमा स्थानीयवासीमा खास्सै आशा छैन ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?