News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र रास्वपा सांसद आशिका तामाङबीच जंगली बँदेल मार्न पाउनुपर्ने विषयमा विवाद भयो।
- पोखरेलले बँदेल मार्न दिनुपर्ने र तामाङले मार्न नहुने भन्दै बहस गर्दा समिति सभापति अशोक कुमार चौधरीले विवाद रोके ।
- रास्वपा सांसद सागर ढकालले बँदेल नियन्त्रणका लागि अध्ययन गरी समाधान खोज्नुपर्ने सुझाव दिए ।
२३ वैशाख, काठमाडौं । जंगली बँदेल मार्न पाउनुपर्ने र मार्न नहुने विषयमा सांसदहरूबीच भनाभन भएको छ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदले मार्नुपर्ने प्रस्ताव राखेपछि रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरेकी हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा एमाले सांसद पोखरेलले बँदेल नियन्त्रण गर्न मार्न दिनुपर्ने बताएका थिए ।
त्यसपछि केहीबेर तामाङ र पोखरेलबीच सवाल जवाफ नै भयो ।
पोखरेल : जंगली बदेल मार्न दिनुपर्छ ।
आशिका : मार्ने कुरा नगर्नुहोस् ।
पोखरेल : तपाईंको कुरा आफ्नो समयमा राख्नुहोस् ।
आशिका : माननीय भएर मार्ने कुरा नगर्नुहोस् ।
पोखरेल : बँदेलका कारण मान्छे नै मर्ने अवस्था छ ।
आशिका : मार्ने कुरा नगर्नुहोस् ।
पोखरेल : ल ठीक छ नमार्ने भने कसरी नियन्त्रण गर्ने त ?
आशिका : बाँच्न पाउने उसको पनि अधिकार हो ।
पोखरेल : मान्छे सबै विस्थापित भए उसले पनि खान पाउँदैन । किनभने उसले आँफै उत्पादन गर्न सक्दैन ।
आशिका : म १५ बर्ष जर्मन बसेर आएको हुँ । त्यहाँ मार्दैनन । इलेक्ट्रोनिक तारबार लगाइन्छ ।
सांसदहरूबीच सवाल जवाफ लम्बिएपछि समिति सभापति अशोक कुमार चौधरीले रोके । त्यसपछि बोलेका रास्वपा सांसद सागर ढकालले कुनै पनि विषयमा बोल्दा त्यसको अध्ययन हुनुपर्ने बताए ।
सांसद ढकालले भने, ‘समस्या मात्रै नउठाउ । समाधान पनि दिउ । अध्ययन गरेर बोलौँ । बादर र बँदेल नियन्त्रणको उपाय के हुन सक्छ अध्ययन गरौ । कार्यान्वयनमा जाऔं ।’
प्रतिक्रिया 4