+
+
Shares

सडकको आवाज अब संसदमा 

सडकका बेथिति र भ्रष्टाचारविरुद्ध मोबाइल क्यामेरा तेर्स्याएर भाइरल भएकी सामाजिक अभियन्ता आशिका तामाङ ३९ हजार १२८ मतसहित धादिङ-१ बाट सङ्घीय संसद्‌मा पुगेकी छन् । जेनजी आन्दोलनमा घाइतेहरूको मलमपट्टी गर्दै, परम्परागत राजनीतिको अभेद्य किल्ला भत्काउँदै जनमतको सानदार अनुमोदन प्राप्त गरेकी हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले धादिङ-१ बाट ३९ हजार १२८ मत प्राप्त गरी सङ्घीय संसद्‌को यात्रा तय गरेकी छन्।
  • आशिका तामाङले सडक आन्दोलन र सामाजिक कार्यमार्फत जनताको दैनिक समस्यामा आवाज उठाउँदै २०७९ को भन्दा तीन गुणाभन्दा बढी मत वृद्धि गरिन्।
  • सडक आन्दोलनमा घाइते युवालाई सहयोग गरेकी आशिका पक्राउ परे पनि विद्रोही छविका साथ संसद्‌मा प्रवेश गरेकी छन्।

२४ फागुन, काठमाडौं । देशमा जेनजी आन्दोलन भयो, जनधनको अत्यधिक क्षति भयो । तर, तत्कालै  त्यसको प्रभाव न शीर्ष नेताहरूमा पर्‍यो न राजनीतिक दलहरूमा ।

अब के गर्ने ? नागरिक निराशा अन्ततः मतपेटिकामा व्यक्त भएको छ । यही लहरमा धादिङ निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले त्यही विकल्पका रूपमा यतिबेला ३७ वर्षीया आशिका तामाङलाई अनुमोदन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिकाले ३९ हजार १२८ को फराकिलो र सानदार मतसहित सङ्घीय संसद्‌को यात्रा तय गरेकी छन्। उनका अगाडि पञ्चायतकालदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डेजस्ता पुराना राजनीतिक हस्ती तेस्रो स्थानमा खुम्चिन बाध्य भए।

अघिल्लो २०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार हिमेश पन्तले ल्याएको १२ हजार २९४ मतलाई तीन गुणाभन्दा बढीले वृद्धि गर्दै आशिकाले धादिङमा अभूतपूर्व छलाङ मारेकी हुन्।

ग्ल्यामरको दुनियाँदेखि सडक सङ्घर्ष

२०४५ सालमा धादिङको मलेखुमा जन्मिएकी आशिकाको पृष्ठभूमि राजनीति थिएन। ग्रामीण परिवेशमा हुर्किएर आम नेपालीले भोग्ने आधारभूत अभावलाई नजिकबाट बुझेकी उनको सार्वजनिक जीवन भने कलाकारिताबाट सुरु भएको थियो।

सन् २०१५ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सुश्री’ मा उनी अभिनेता आर्यन सिग्देलको जोडीका रूपमा मुख्य भूमिकामा थिइन्, साथै उनी उक्त चलचित्रको निर्माता पनि थिइन्।

तर, ग्ल्यामरको दुनियाँमा उनी लामो समय रमाइनन्। केही समय जर्मनी बसेर त्यहीँका नागरिक थोमससँग विवाह गरेकी उनी जब नेपाल फर्किइन्, तब उनको जीवनले नयाँ मोड लियो।

उनी समाजका दैनिक विसङ्गतिविरुद्ध हातमा मोबाइल क्यामेरा लिएर सडकमा निस्किइन्। सुरुमा जनावर नकाट्न आग्रह गर्दै भाइरल हुँदा धेरैले उनलाई उडाउँदै ‘खसिनी दिदी’ भनेर जिस्काए। तर उनी रोकिइनन्।

‘ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसन’ स्थापना गरेर सरसफाइ र सामाजिक कार्यको अभियान छेडिन् । पानीको बोतल र खाद्यवस्तुमा हुने बढी मूल्य असुली, विमानस्थलको महँगो पार्किङ शुल्क र सार्वजनिक स्थलमा हुने अव्यवस्थाविरुद्ध उनले निडर भएर आवाज उठाइन्।

हिरासतदेखि युवा पुस्ताको रोजाइसम्म

सडकका बेथिति प्रश्न गर्दा आशिकाको शैली जति आक्रामक थियो, त्यसले उनलाई राज्यको निसानामा पनि पार्‍यो। गत वर्ष साँगाको झोलुङ्गे पुल तरेबापत २० रुपैयाँ शुल्क लिने गरेको विरोधमा उनले नगरपालिकाको रसिदै च्यातिदिएकी थिइन्।

त्यसपछि सूर्यविनायक नगरपालिकाको उजुरीमा उनलाई प्रहरीले पक्राउ गर्‍यो। उनी धरौटीमा रिहा भइन्, तर यो घटनाले उनलाई अन्यायविरुद्ध नडराउने ‘विद्रोही’ छविका रूपमा स्थापित गर्‍यो।

पछिल्लो समय देशमा चर्किएको जेनजी आन्दोलन उनका लागि राजनीतिको असली परीक्षा बन्यो। आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई अस्पताल पुगेर सहयोग गर्ने र उनीहरूको आवाजलाई बुलन्द पार्ने काममा उनी अग्रपङ्क्तिमा खटिइन्।

सडकमा रगत बगाइरहेका युवाहरूको पक्षमा निरन्तर उभिँदा उनलाई सामाजिक सञ्जालमा धेरैले माया गरेर ‘दिदी’ को उपमा दिए।

अनि मोडियो संसद्‌को बाटो

सुरुमा काठमाडौंबाट स्वतन्त्र रूपमा चुनाव लड्ने मनस्थिति बनाएकी आशिकालाई रास्वपाले धादिङ-१ बाट चुनावी मैदानमा उतार्‍यो। उनले धादिङका गाउँगाउँ पुगेर भ्रष्टाचार निवारण, सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितता अन्त्यको वाचा गरिन् । राजनीति र प्रशासनिक निकायलाई जनताप्रति उत्तरदायी बनाउने र नयाँ पुस्ताको भावनालाई संसद्‌सम्म पुर्‍याउने उनको अभियानलाई धादिङका मतदाताले पत्याए।

कुनै बेला सडकमा एक्लै मोबाइल तेर्स्याएर बेथिति खोज्दै हिँड्ने आशिका अब ३९ हजारभन्दा बढी नागरिकको अभिभारा बोकेर नीति निर्माणको सर्वोच्च थलो संसद्‌मा प्रवेश गर्दै छिन्। विद्रोही अभियन्ताबाट जननिर्वाचित सांसद बनेकी आशिकाको यो सानदार जितले आम नागरिकको दैनिक जीवनका साना तर बिझिरहने समस्याविरुद्ध बोल्नेहरू नै अबको राजनीतिको केन्द्रमा रहने स्पष्ट सन्देश दिएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?