५ माघ, काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।
केही दिनअघि उनले आफू सक्रिय राजनीतिमा आउनेबारे छलफल गरिरहेको पनि बताएकी थिइन् । उनले दलगतभन्दा पनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’
जेन जेड पुस्ताका युवाले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनमा सशक्त रुपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनको भनाइ थियो ।
‘यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ । म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले भनेकी थिइन् ।
युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा, भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको उनको भनाइ छ ।
चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् । फाउण्डेशन नै खोलेर सामाजिक गतिविधिमा लागेकी तामाङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई दाताहरूमार्फत सहायता गरेकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आफू प्रत्यक्षबाटै उम्मेदवार बन्ने बताएकी थिइन् ।
प्रतिक्रिया 4