News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एसोसिएसनले रास्वपा सांसद समीक्षा बास्कोटा र यणमणि न्यौपानेको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।
- बारको आकस्मिक बैठकले सांसदद्वयको अभिव्यक्ति हटाउन र पुनः यस्ता घटनाहरु नदोहोरिन स्पष्ट आदेश हुन सभामुखज्यूसमक्ष अनुरोध गरेको छ।
- सांसद बास्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कोट खोलेर राजनीति गर्न चुनौती दिएकी छन् र न्यायिक कार्यमा विषयान्तर नगर्न आग्रह गरेकी छन्।
४ जेठ, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायाधीशबारे रास्वपा सांसदद्वय समीक्षा बास्कोटा र यणमणि न्यौपानेको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ ।
सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले सांसदद्वय बास्कोटा र न्यौपानेको अभिव्यक्ति हटाउन माग गर्ने निर्णय गरेको महासचिव केदार प्रसाद कोइरालाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गर्ने प्रावधान संविधानको धारा १०५ मा लेखिएको विषयलाई नजरअन्दाज गरी खुलेआम आजको संसदको बैठकमा छलफल गरिएको विषय अत्यन्त दु:खद् रहेको विज्ञप्तिमा उल्लेख छ ।
अगाडि भनिएको छ, ‘आवेश प्रेरित एवम् दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसियसन स्पष्ट छ । यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन एवम् पुन: यस्ता घटनाहरु दोहोरिन नदिन स्पष्ट आदेश हुन सम्माननीय सभामुखज्यूसमक्ष नेपाल बार एसोसिएसन अनुरोध गर्दछ ।’
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदद्धय बास्कोटा र न्यौपानेले न्यायाधीशको विषयलाई लिएर आलोचना गरेका थिए ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार संवैधानिक परिषद्को निर्णयविरुद्ध रिटलाई दर्ता गर्न आदेश दिएकी थिइन् ।
उक्त आदेशको विरोधमा रास्वपा सांसदहरू बाँस्कोटा र न्यौपानेले प्रतिनिधिसभा बैठकमै आपत्ति जनाएका हुन् ।
संविधानको धारा १०५ मा बहसमा बन्देज सम्बन्धी व्यवस्था छ । ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन‘ भन्ने उल्लेख छ ।
तर यो प्रावधान विपरीत बोल्दै सांसद बास्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कोट खोलेर राजनीति गर्न चुनौती दिइन् ।
उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको प्रमुख दायित्व न्याय सम्पादन रहेको बताइन् र अन्य विषयमा विषयान्तर नगर्न आग्रह गरेकी छन् ।
प्रतिक्रिया 4