News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
- सम्मेलनमा ९ जना प्रतिभाशाली महिला साहित्यकारलाई जनही २०० अमेरिकी डलर राशिको ‘अनेसास नवरत्न साहित्य सम्मान’ प्रदान गरिएको छ।
- तीन दिने सम्मेलनमा १०० भन्दा बढी पुस्तक विमोचन हुनुका साथै झन्डै १४० जना साहित्यकारले आ-आफ्नो रचना वाचन गरे।
१२ जेठ, कोलोराडो । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेस्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको बृहत् अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार कोलोराडो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
घोषणापत्रमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन लगायतका गतिविधि समेटेर वार्षिक रूपमा जर्नल प्रकाशित गर्ने, युवा लेखकलाई प्रोत्साहनका लागि अनेसास लेखवृत्ति प्रदान गर्ने, प्रकाशोन्मुख पाण्डुलिपि सम्पादनका लागि विज्ञ लेखक उपलब्ध गराउने, बालबालिकालाई लेखनमा प्रोत्साहन गर्न बाल प्रतिभा पुरस्कार घोषणा तथा पुरस्कृत गर्ने र विश्वभर रहेका नेपालीहरूलाई साहित्यमा प्रोत्साहन गर्न लेखन प्रशिक्षण सञ्चालन गर्ने लगायतका बुँदा उल्लेख छन्।
सम्मेलनमा ९ जना प्रतिभाशाली महिला साहित्यकार, लेखक तथा साहित्य अभियन्तालाई अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार पनि वितरण गरिएको छ। नवरत्न सम्मान पाउनेमा रेणुका सोल (नेपाल), रिजा प्रधान (अस्ट्रेलिया), सीतादेवी बास्तोला (डेनमार्क), सवि श्रेष्ठ (पोर्चुगल), सीता अर्याल (अमेरिका), कमला न्यौपाने (अमेरिका), लक्ष्मी श्रेष्ठ (अमेरिका), आना स्टिर (अमेरिका) र विष्णु घले (अमेरिका) छन्।
नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अध्ययन, लेखन तथा अभियानमा विशेष भूमिका निर्वाह गरेबापत हरेक दुई वर्षमा दिइने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर रहेको छ।
एनआरएनए एनसिसी अमेरिका लगायत सङ्घसंस्थाको सहयोग तथा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को सहकार्यमा आयोजित भव्य सम्मेलनको उद्घाटन वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा र अनेसासका वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रूपमा गरेका थिए।
विशेष अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, कोलोराडोको बोल्डर सहरका मेयर आरोन ब्रकेट, वेस्टमिनिस्टर सहरकी मेयर क्लेयर केरमेलिया, एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह लगायत उपस्थित थिए।
उद्घाटनलगत्तै डा. ज्याकलिनले कि नोट स्पिकरका रूपमा विश्व साहित्यको वर्तमान चुनौती, नेपाली साहित्यको सम्भावना र योगदानका विषयमा चर्चा गरेकी थिइन्। सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको थियो भने झन्डै १४० जना साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए।

वरिष्ठ साहित्यकार, पत्रकार तथा चर्चित लेखक सहभागी भएका दर्जनभन्दा बढी सत्र (सेसन) हरूमा रोचक छलफल, बहस तथा अन्तरक्रिया गरिएको थियो। जसमध्ये ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ सत्रमा अनलाइनखबरका प्रधानसम्पादक तथा लेखक बसन्त बस्नेत, साहित्यकार नीलम कार्की निहारिका र कान्तिपुरका पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा वक्ता रहेको सत्र रोचक रह्यो। बीबीसी साझा सवालका पूर्वप्रस्तोता नारायण श्रेष्ठले सहजीकरण गरेको यो सत्रले इतिहासका चर्चित घटनाहरूलाई आख्यानमार्फत आमपाठकमाझ ल्याउने लेखकको योगदान र भूमिकालाई विशेष रूपमा चर्चा गरेको थियो।
यस्तै ‘नेतृत्व र साहित्य’ सत्रमा अनेसासका पूर्वअध्यक्षहरूको अनुभव प्रस्तुत गरिएको थियो भने ‘नेपाली महिला साहित्य’ सत्रमा महिला साहित्यकारहरूको सङ्घर्षदेखि सशक्तीकरणका विषयमा विशेष छलफल भएको थियो। यस्तै काव्यिक परम्परा र समकालीन अभिव्यक्ति तथा नेपाली साहित्यको प्रवर्द्धनमा डायस्पोरामा सक्रिय पत्रकार तथा मिडियाको भूमिकाका विषयमा पनि बहस भएको थियो।
सम्मेलनमा सहभागी हुन नेपालबाट वक्ता तथा सहजकर्ताका रूपमा वरिष्ठ साहित्यकार डा. लम्सालसहित सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, टीकाराम यात्री, विपुल पोखरेल लगायत पत्रकार सहभागी भएका थिए। यस्तै देउडा गायक तथा सर्जक नन्दकृष्ण जोशी पनि नेपालबाटै सहभागी थिए। अमेरिकाबाट पत्रकार नारायण श्रेष्ठ, प्रेम बानियाँ, राजन कुइँकेल, नेजाका अध्यक्ष सुरज भण्डारीको सहभागिता थियो।

यस्तै साहित्यकारहरूमा अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल, राधेश्याम लेकाली, गोवर्धन पूजा लगायतको सहभागिता थियो। कोलोराडोमा भव्य रूपमा साहित्य सम्मेलन सम्पन्न गर्न अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा कार्यक्रम संयोजक किरण अधिकारी, अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी लगायतको विशेष भूमिका रहेको मिडिया कोर्डिनेटर दीर्घराज उपाध्यायले जानकारी दिए।
विगतका साहित्य सम्मेलनहरू साहित्यकारहरूको जमघट, भेटघाट तथा छलफलमा बढी केन्द्रित रहने गरेकोमा यसपटक साहित्यकारसँगै चर्चित लेखक, पत्रकार तथा युवाहरूको भूमिकाले विशेष ठाउँ पाएको अनेसासका महासचिव राजु सिटौलाले बताए।
‘अनेसासको यो नवौँ सम्मेलनमा पहिलोपटक व्यापक रूपमा चर्चित लेखक, वरिष्ठ साहित्यकार र पत्रकारहरूको बेजोड प्रस्तुतिमा दर्जनभन्दा बढी सत्रहरू सम्पन्न गरियो। यो नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा विशेष उपलब्धि हो,’ महासचिव सिटौलाले भने, ‘अबका दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रवर्द्धनमा युवा साहित्यकारको सहभागिता, भूमिका र सबै सङ्घसंस्थाहरूको सहयोग लिएर अगाडि बढ्नुपर्ने जिम्मेवारी आएको छ। हामीले घोषणापत्रमा पनि त्यही कुरामा जोड दिएका छौँ।’
अमेरिकामा सम्पन्न नवौँ सम्मेलनपछि अनेसासले दसौँ सम्मेलन नेपाल, जापान वा अरू कुनै देशमा गर्ने जनाएको छ। सम्मेलनमा सहभागीहरूले अमेरिकामा रहेका नेपाली सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, समाजसेवी एवं युवाहरूसँग पनि छलफल, अन्तरक्रिया तथा भेटघाट गर्दै ‘कलरफुल कोलोराडो’ का विभिन्न ठाउँहरूको भ्रमण गरेका थिए।

प्रतिक्रिया 4