News Summary
Generated by OK AI. Editorially reviewed.- “काठमाडौं कलिङ साहित्य महोत्सव” को चौंथो संस्करण आगामी २३ र २४ जेठमा काठमाडौंमा आयोजना हुने भएको छ ।
- यस वर्षको महोत्सव ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने थिममा आयोजना गर्न लागिएको हो ।
- महोत्सवमा नेपाल, भारत र दक्षिण एसियाली देशका लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहनेछ ।
काठमाडौं । ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौंथो संस्करण २३ र २४ जेठमा आयोजना हुने भएको छ । यसवर्षको संस्करणको थिम छ- ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य ।’
महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक, कलाकार, फिल्मकर्मी, संगीतकार, कूटनीतिज्ञ र बुद्धिजीविको सहभागिता रहने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रम पनि आयोजना हुने क्यूरेटर रश्मीरञ्जन परिडाले जानकारी दिए ।
गायिका इला अरुण, लेखक प्रतिभा राय, अभिनेता तथा लेखक पियुष मिश्र, लेखक एवं फिल्मकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत सहभागी हुनेछन् ।
विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता जनाउने छन् ।
निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिने बताए ।
उनले भने, ‘चौंथो काठमाडौं कलिंगा साहित्य महोत्सवले साहित्य, संगीत, कविता, सिनेमा, नृत्य तथा विविध कलात्मक परम्पराको उत्सव मनाउनेछ । यसले नेपाल, भारत र दक्षिण एसियाली देशबीचको पुरानो सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।’
यो महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो । महोत्सव निर्देशक रञ्जना निरौलाले भनिन्, ‘यस वर्षको विषयले पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काउँछ ।’
यसपटकको संस्करणमा ‘गीत सुन्ने कि हेर्ने ?’ शीर्षकमा बहस हुनेछ । गीतकार हर्क साउद, रमण घिमिरे र गैरे सुरेश वत्ताको रुपमा छन् । ‘नेपाली काव्य’ को वैशिक स्वर शीर्षकमा श्रवण मुकारुङ, अस्मिता बादी र नीरज भटटराईले अन्तक्रिया गर्नेछन् ।
‘समाज, सभ्यता र संस्कृति’, ‘रातो पृथ्वी/तातो पृथ्वी’, ‘नारी लेखन : समानता र स्वतन्त्रता’, ‘देशभन्दा टाढा/स्मृतिभन्दा नजिक’, ‘विद्धावारिणी आवश्यकता कि चुनौती’, ‘महोत्सवका चुनौती’, ‘नेपाल भारत सिनेमा’ लगायतका दुई दर्जन विषयमा अन्तक्र्रिया कार्यक्रम चल्नेछन् । कविता र गजल वाचन कार्यक्रम समेत राखिएको छ ।
भारतका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवमध्ये एक कलिङले सन् २०२२ देखि काठमाडौं संस्करण आयोजना गर्दै आएको हो । आयोजकका अनुसार यसको उद्देश्य नेपाल, भारत तथा दक्षिण एसियाली देशबीच साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई अझ बलियो बनाउनु हो ।
पछिल्ला वर्षमा यो महोत्सव लेखक, चिन्तक, कलाकार, विद्वान, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीबीच संवादको महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ । महोत्सवमा साहित्य, सिनेमा, संगीत, कूटनीति, अध्यात्म तथा सार्वजनिक जीवनसँग सम्बन्धित धेरै प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहनेछ ।
प्रतिक्रिया 4