+
+
Shares

मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि  

मंगलबार पदभार ग्रहणपछि अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् । 

सुरेश राय सुरेश राय
२०८३ जेठ १३ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा सुधार र साक्षरता दर वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए ।
  • जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ, जुन अन्य प्रदेशको तुलनामा कम हो ।
  • मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सिंहलाई मन्त्रालयको जिम्मेवारी सुम्पँदै मन्त्री पदमा नियुक्त गरेका हुन् ।

१३ जेठ, सिरहा । मधेश प्रदेश सरकारका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा क्षेत्र सुधार गर्दै साक्षरता दर वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

मंगलबार पदभार ग्रहणपछि अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् ।

मधेश प्रदेश शिक्षा तथा साक्षरताको क्षेत्रमा अन्य प्रदेशको तुलनामा पछाडि रहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा, विद्यार्थी पहुँच र शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइने बताए ।

‘मधेश प्रदेशलाई शिक्षाको क्षेत्रमा माथि उठाउनु अहिलेको आवश्यकता हो । साक्षरता दर वृद्धि गर्दै गुणस्तरीय शिक्षाको पहुँच गाउँ–गाउँसम्म पुर्‍याउने गरी काम अघि बढाइने छ,’ मन्त्री सिंहले भने ।

२०७८ सालको जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता दर ६३.५ प्रतिशत छ । बागमतीको सबैभन्दा धेरै ८२.१ प्रतिशत छ ।

मन्त्री सिंहले शिक्षा क्षेत्र सुधारसँगै भाषा, कला तथा सांस्कृतिक संरक्षणका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको सुनाए ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री पदमा नियुक्त गरेका हुन् । सिंह सिरहा क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले मंगलबार नै मन्त्री पदको शपथ ग्रहण गर्दै मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?