News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले वीरगञ्ज-ठोरी हुलाकी सडकको अधुरो खण्ड तत्काल सञ्चालनमा ल्याउन माग गरे ।
- चितवन राष्ट्रिय निकुञ्जको अवरोध र पुल नबन्दा स्थानीयले बिरामीलाई अस्पताल लैजान भारतीय भूमि प्रयोग गर्नुपरेको सांसद शाक्यले बताए ।
- सांसद शाक्यले वीरगञ्ज पावर हाउसदेखि हरिहरपुरसम्म चार लेन सडक विस्तार गर्न र किसानलाई अनलाइनबाट रासायनिक मल उपलब्ध गराउन माग गरे ।
१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टेकबहादुर शाक्यले वीरगञ्ज-ठोरी हुलाकी सडकको अधुरो खण्ड तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद शाक्यले वीरगञ्ज-ठोरी हुलाकी सडक वर्षौंदेखि ठोरी गाउँपालिका १ र २ नम्बर वडा क्षेत्रमा अधुरो रहेको जानकारी गराउँदै उक्त खण्ड निर्माण गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।
वीरगञ्ज-ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठोरी गाउँपालिकाको वडा नम्बर १ र २ को झन्डै ५ किलोमिटर दुरी चितवन राष्ट्रिय निकुञ्जले अवरोध गर्दा कालोपत्र हुन सकेको छैन भने ढेडुखोलामा पुल बन्न सकेको छैन । उक्त खण्डमा बेस निर्माण गरी ग्राभेलको काम भए पनि कालोपत्र भने हुन बाँकी छ ।
वर्षौंदेखि खोलामा पुल नबन्दा वर्षायामको समयमा विद्यार्थी स्कुल जान बञ्चित हुँदै आएका छन् भने बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो । बिरामीहरूलाई उपचार गराउनका लागि भारतीय भूमि प्रयोग जिल्ला सदरमुकाम वीरगञ्ज लैजानुपर्छ भन्ने कुरा सुन्दा पनि अच्चम्म मान्ने पर्ने अवस्था रहेको भन्दै उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘पर्सा जिल्लाले वर्षेनि करिब २ खर्ब ५० अर्बको राजस्व ढुकुटी राज्यलाई दिन्छ, र प्रसस्त अन्न भण्डार पनि छ । तथापि पर्सा जिल्ला लेखाइमा सुगम र गराइ र भोगाइमा अति विकट बनेको छ । सिँचाइ अभाव, जल संकट, शिक्षा, स्वास्थ, गरिबी, बेरोजगारी, समाजिक विभेद, दाइजो प्रथा, छुवाछुत गम्भीर मोडमा छ ।’
वीरगञ्ज पावर हाउस चोकदेखि ड्राइपोर्ट हुँदै पोखरीया, लंगडी र हरिहरपुरसम्म चार लेन सडक विस्तार गर्न समेत उनले माग गरे । उक्त सडकखण्ड भएर दैनिक ३ लाख मानिस आउजाउ गर्ने भन्दै उनले यो सडक सिंगो पर्साको भविष्यको सेतु भएको बताए ।
सांसद शाक्यले कृषकलाई रासायनिक मल अब लाइनमा होइन सबैको पहुँच बराबरी हुनेगरी अनलाइनबाट उपलब्ध गराउन व्यवस्था मिलाउन समेत उनले सरकारसँग माग गरे ।
सांसद शाक्यले ३६ वर्ष मधेशले नेता बोकेको भन्दै अब यो सरकारले मधेश बोकोस् भन्ने माग समेत गरे ।
प्रतिक्रिया 4