News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस वर्ष कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।
- चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घटेर २४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
- खडेरी र अधिक वर्षाका कारण यस वर्ष मुख्य बाली धानको उत्पादन ४.१६ प्रतिशतले घट्ने सर्वेक्षणमा उल्लेख छ ।
१३ जेठ, काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गैरकृषि क्षेत्रको योगदान बढ्दै गएपछि मुलुकमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा यो वर्ष केही सुस्तता आएको देखाएको हो ।
विशेषगरी धान रोप्ने समयमा परेको खडेरी र भित्र्याउने बेलाको अधिक वर्षाका कारण कृषि क्षेत्रको वृद्धिदरमा गिरावट आएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार चालु आव कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत थियो ।
यस वर्ष मुख्य बालीका रूपमा रहेको धान उत्पादन ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । तराई क्षेत्रमा धान रोप्ने समयमा परेको खडेरीले रोपाइँ क्षेत्रफल घटेको र पछि धान भित्र्याउने समयमा भएको अधिक वर्षाका कारण बाली नष्ट हुँदा समग्र कृषि क्षेत्र प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।
अन्य बालीमा भने सुधार
धान बाली उत्पादन घटे पनि गहुँ, मकै, कोदो, औद्योगिक बाली र पशुजन्य उत्पादनमा भएको वृद्धिका कारण कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक हुनबाट जोगिएको छ ।
हिउँदे बाली र फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको मूल्य अभिवृद्धिमा केही टेवा पुर्याएको सर्वेक्षणले देखाएको छ ।
जडिीपीममा कृषि क्षेत्रको योगदान क्रमश: घट्दै गएको पाइएको छ । चालु आव जीडीपीमा कृषिको योगदान २४ प्रतिशत रहने अनुमान छ, जबकि गत वर्ष यो २४.५ प्रतिशत थियो ।
पछिल्लो एक दशकको तथ्यांक हेर्दा कृषि क्षेत्रको औसत योगदान २५ प्रतिशत रहेकोमा यो वर्ष त्योभन्दा कम हुने देखिएको छ । अर्कातर्फ, गैरकृषि क्षेत्रको हिस्सा बढेर ७६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
आधुनिकीकरण र पूर्वाधारमा प्रगति
कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउन सरकारले अघि सारेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।
२०८२ फागुनसम्म देशभरि २१ वटा सुपरजोन, २ सय ६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार ३ सय ९३ पकेट क्षेत्र सञ्चालनमा छन् ।
सिँचाइतर्फ पनि सुधारको संकेत देखिएको छ । हालसम्म कुल कृषियोग्य जमिनको ५४.६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ भने सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत भूभागमा सुविधा विस्तार भएको छ ।
समग्रमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा चुनौती थपिएको भए तापनि आधुनिकीकरण र विविधीकरणका प्रयासले यो क्षेत्रलाई चलायमान बनाइराखेको सर्वेक्षणले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया 4