गुगलले मानिसहरूको दीर्घ र स्वस्थ जीवनका लागि सहयोग गर्न स्वास्थ्य प्रविधिको क्षेत्रमा नयाँ योजना घोषणा गरेको छ। कम्पनीले यसै महिना ‘गुगल हेल्थ एप’ , ‘गुगल हेल्थ कोच’ र ‘फिटबिट एइर’ बजारमा ल्याएको हो । यसको मुख्य लक्ष्य प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य सम्बन्धी डाटामाथि पूर्ण नियन्त्रण दिनु र त्यसलाई व्यवस्थित बनाउनु हो ।
यस प्रविधिका मुख्य विशेषताहरू:
सबै उपकरणका डाटा एउटै ठाउँमा
अहिले मानिसहरूले आफ्नो स्वास्थ्य ट्र्याक गर्न विभिन्न एप, स्मार्टवाच, डिजिटल स्केल वा डाक्टरका रिपोर्टहरू अलग-अलग हेर्नुपर्ने झन्झट छ । गुगल हेल्थ एपले यी सबै विवरणहरूलाई एउटै सुरक्षित स्थानमा एकीकृत गरिदिनेछ ।
प्रयोगकर्ताले दिनभर स्मार्टवाच लगाएर गरेको व्यायाम, ‘माईफिटनेसपाल’ एपमा राखेको खानाको विवरण, स्मार्ट स्केलमा जोखेको तौल र राति फिटबिट एइर लगाएर लिएको निद्राको डाटा यस एपमा जोडिनेछन् । एपले यी सबै डाटाहरूको विश्लेषण गरी स्वास्थ्यको ट्रेन्ड देखाउनेछ।
व्यक्तिगत सल्लाह दिने ‘हेल्थ कोच’
यसरी जम्मा भएको स्वास्थ्य विवरणका आधारमा ‘गुगल हेल्थ कोच’ ले प्रयोगकर्तालाई व्यक्तिगत र उपयोगी ‘रेकमन्डेशन दिनेछ । यसले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यको लक्ष्य पुरा गर्न मद्दत गर्नेछ ।
यो एपले ‘हेल्थ कनेक्ट’ वा ‘एप्पल हेल्थ’ सँग जोडिने जुनसुकै उपकरण वा एप्ससँग काम गर्न सक्छ । अमेरिकाका प्रयोगकर्ताहरूले यसमा आफ्नो मेडिकल रेकर्ड र ल्याब रिपोर्टहरू समेत सिंक गरेर राख्न सक्नेछन् । आगामी महिनाहरूमा यो सुविधा अन्य देशहरूमा पनि विस्तार गरिने गुगलले जनाएको छ ।
डाटा सेयरिङ र गोपनीयतामा जोड
गुगलले यस प्रणालीलाई खुला इकोसिस्टमको रूपमा विकास गरेको छ । प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार जुनसुकै एप वा परिवारका सदस्यसँग आफ्नो स्वास्थ्य डाटा सेयर गर्न सक्नेछन् । भविष्यमा प्रयोगकर्ताले एप्पल हेल्थ र ‘स्मार्ट हेल्थ लिङ्क्स’ मार्फत डाक्टरहरूलाई सिधै आफ्नो मेडिकल रेकर्ड पठाउन सक्ने सुविधा पनि थपिँदै छ ।
स्वास्थ्य सम्बन्धी जानकारीहरू निकै संवेदनशील हुने भएकाले गुगलले यसमा गोपनीयताको विशेष ख्याल राखेको छ । प्रयोगकर्ताले कुन डाटा राख्ने, कसलाई देखाउने वा कतिखेर डिलिट गर्ने भन्ने कुरा आफैँ तय गर्न सक्नेछन् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, गुगल हेल्थ एपमा रहेका प्रयोगकर्ताका यी व्यक्तिगत स्वास्थ्य डाटाहरूलाई गुगलले आफ्नो विज्ञापन (गुगल एड) प्रयोजनका लागि प्रयोग गर्ने छैन।
प्रतिक्रिया 4