+
+
Shares

खोटाङमा बाँदर धपाउन ६ महिना हेरालु राख्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते ९:३१

१४ जेठ, खोटाङ । ‘तत्कालका लागि हरेक वडामा दुई/तीन जनादेखि पाँच/छ जना कृषक प्रहरी वा कृषक सेना राखेर बाँदर धपाउन सकिन्छ । किसानले उनीहरुलाई खेतबारीमा बाँदर आएको सूचना दिएर सहयोग गर्न सक्छन् ।’ यो भनाइ नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यको हो ।

कृषि बालीमा क्षमति पुर्‍याउने जंगली जनावर नियन्त्रण गर्ने उपायको खोजीमा जिल्ला समन्वय समिति खोटाङले जेठ १३ गते किसानसँग अन्तरक्रीया गरेको थियो । सोही कार्यक्रममा सहभागी आचार्यले बाँदर नियन्त्रण गर्ने उपाय वारे आफ्नो धारणा राखेका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा छलफलका लागि किसान, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, कृषि सम्वद्ध कार्यालय, राजनीतिक दल लगायतलाई बोलाइएको थियो । कार्यक्रममा सहभागी ध्यानबहादुर राईले बाँदर धपाउनका लागि निश्चित तलब दिएर वर्षको ६ महिना हेरालु राख्न सकिने धारणा राखे ।

बाँदर लगायतका जंगली जनावर धपाउनका लागि हेरालु राख्ने उपयमा सहमत छन् किसान झमप्रसाद आचार्य । उनले वडा-वडामा बाली संरक्षण समिति गठन गरेर त्यसकै मातहतमा स्थानीय सरकारले हेरालु व्यवस्थापन गर्न सक्ने सुझाव दिएका छन् । झमप्रसादले हेरालुमार्फत बाँदरको निगरानी गर्ने र बालीनाली नजिक आएको बेला खेदाउन सकिने विकल्प अघि सारे ।

किसान उद्धवप्रसाद आचार्यको धारणा पनि अरुभन्दा फरक छैन । बाँदर धपाउनका लागि नगरपालिका, गाउँपालिका वा वडा कार्यालयले हेरालु राख्न सके किसानले राहत पाउने उनको धारणा छ । राज्यले लगानी गर्न सके बाँदर नियन्त्रण सम्भव रहेको उद्धवप्रसाद बताउँछन् ।

अन्तरक्रियामा सहभागी किसानले बाँदर धपाउने हेरालुको व्यवस्थादेखि बाँदरले नखाने प्रजातीका अन्नबाली लगाउने, बाँदरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गर्ने, अन्यत्र स्थानान्तरण गर्ने र मार्नेसम्मका चर्चा गरेका छन् । सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष मोहन गुरुङले भने बाँदर नियन्त्रणका लागि परम्परागत ज्ञानसीपलाई अवलम्बन गर्नुपर्ने धारणा राखे । सरकारले प्रत्येक तीन वर्षको चैतमा एक पटक राष्ट्रियरुपमा बाँदर खेदाउने अभियान चलाउन सके बाँदर नियन्त्रण हुने गुरुङको सुझाव छ ।

बाँदरबाट आम किसान आजित छन् । तर बाँदर नियन्त्रण गर्ने अचुक उपाय हालसम्म भेटिएको छैन । बाँदर लगायतका जंगली जनावरको क्षति न्यूनीकरण गर्ने उपायको खोज तथा अनुसन्धान जारी छ । कृषि बालीमा क्षति पुर्‍याउने जंगली जनावर नियन्त्रण गर्ने उपायकै खोजीमा अन्तरक्रीया गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?